मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

चुनावकै मुखमा मधेसवादी दलका नेताहरू ‘इधर–उधर’, अवसरवाद कि डर ?

आइतबार, ०३ फागुन २०८२, १८ : १०
आइतबार, ०३ फागुन २०८२

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा मधेस केन्द्रित दलका नेताहरूले पार्टी छाड्ने क्रम बढेको छ।
  • रास्वपा र कांग्रेसमा नेताहरू प्रवेश गरेका छन् भने कतिपयले पार्टीको विचार र सिद्धान्त हराएको आरोप लगाएका छन्।
  • पार्टी छाड्नुको कारण व्यक्तिगत स्वार्थ, गुटबन्दी, र अवसरवाद रहेको नेताहरूको भनाइ छ।

काठमाडौँ । जतिजति चुनाव नजिकिँदै छ, मधेसकेन्द्रित दलमा तनाव बढ्दै छ ।

चुनावी अभियान तीव्र रूपमा चलिरहेको बेला मधेसकेन्द्रित दलका शीर्षस्थ तहमै रहेका नेताहरू पार्टी छाड्दै अन्य दलहरूमा प्रवेश गर्न थालेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी पर्नुअघि राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका केही नेताले पार्टी छाडेका थिए ।

यतिसम्म कि, उम्मेदवारी दर्ता गराइसकेका नेताहरूसमेत पार्टी छाडेर अन्यत्र गइरहेका छन् ।

राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका उपाध्यक्षसमेत रहेका डा.राजीव झाले धनुषा–३ मा उम्मेदवारी दर्ता गराएका थिए, उनले आफ्नो चुनावी प्रचार पनि सुरु गरिसकेका थिए । तर अचानक उनले पार्टी छाडे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेर सोही क्षेत्रका रास्वपाका उम्मेदवार मनीष झालाई समर्थन गर्न पुगे । उनको तर्क छ– मधेसको छोरा बालेन शाह देशको प्रधानमन्त्री बन्दैछन्, उसलाई साथ सहयोग दिन आवश्यक छ ।

रामुपा नेपालबाट टिकट लिन भने उनले निकै कसरत गर्नुपरेको थियो, टिकट नै नपाइने हो कि भन्ने चिन्तामा रहेका उनले पाएपछि भने छाडेर रास्वपातिर लागे । चुनाव आउन केही दिन मात्र बाँकी हुँदा उनले राजेन्द्र महतोको साथ छाडेका हुन् । झा भन्छन्, ‘मधेसको मुद्दा रामुपाबाट सम्भव हुने देखिएन, मिसन र भिजन पनि क्लियर छैन, त्यही भएर बालेन शाहलाई प्रधानमन्त्री बनाउन मैले त्याग देखाएको हुँ ।’

उम्मेदवारी दर्ता गराउनुअघि रामुपा नेपालका सचिव सञ्जय चौधरी, अनुशासन विभागनका प्रमुख सञ्जय सिंहलगायत १३ जनाले पार्टी छाडेका थिए । उनीहरू उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए । उनीहरू रामुपा नेपाल यथास्थिति पार्टी रहेको आरोप लगाउँदै निस्किएका थिए ।

रामुपा नेपालका अर्का उपाध्यक्ष सुमन सायमि पनि नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरे । उनको पनि तर्क उस्तै छ– रामुपा नेपालको सांगठनिक शक्तिले मुक्ति सम्भव छैन ।

यति मात्र कहाँ हो र ?

हिजै (शनिबार) मात्रै जसपा नेपालका शीर्ष नेतामध्ये मनिष मिश्रसहित नेताहरू पार्टी छाडेर कांगेस प्रवेश गरिसकेका छन् । नेता मनिष मिश्रसहित उक्त पार्टीका नेता केदारनन्दन चौधरी, अरविन्द सिंह, रामहरि तिवारी, विणा सिन्हा, मनोज वर्मा, विजय ठाकुरलगायत नेताहरूलाई सर्लाहीमा सभापति गगन थापाले पार्टीमा भित्र्याएका थिए ।

उम्मेदवारी दर्ता गराउनु एक दिनअघि जसपा नेपालका नेता प्रदीप यादवले पनि पार्टी छाडे । एमाले प्रवेश गरी उनले हाल पर्सा–१ बाट उम्मेदवार बनेका छन् । पूर्वमन्त्रीसमेत रहेका यादव भन्छन्, ‘जसपा नेपालमा चरम गुटबन्दी छ, समयमै पार्टी छाडेर एमालेमा आएँ, नत्र मलाई त्यहाँ राजनीतिक रूपमा सिध्याउने योजना बनिसकेको थियो ।’

चुनावी चहल–पहल तीव्र भइरहेको बेला सीके राउत नेतृत्वको जनमत पार्टीबाट पनि नेताहरू धमाधम निस्किरहेका छन् । जनमतका केन्द्रीय पदाधिकारीसहित चार नेताले पार्टी परित्याग गरिसकेका छन् । केन्द्रीय कार्यकारिणी सदस्य रानीकुमारी पासवान तथा केन्द्रीय सदस्यहरू रामेश्वर यादव, जागेश्वर यादव र जिल्ला समिति सदस्य हरिकिशोर पासवानले पार्टी छाडेका हुन् ।

जनमत विचार र सिद्धान्त हराएको पार्टी रहेको उनीहरूको आरोप छ । पार्टीमा जातिवाद हाबी भएको र गैरराजनीतिक व्यक्तिहरूको हालीमुहाली तथा वर्चस्व बढेकाले आफूहरूले छाडेको उनीहरूले आरोप लगाएका छन् ।

यस्तै आजै आइतबार जसपाका पूर्वमन्त्री, पूर्वसांसद, केन्द्रीय सदस्य, वर्तमान समानुपातिक उम्मेदवार तथा पूर्व जिल्ला विकास समिति सभापति रहेका राजलाल यादव आफ्ना समर्थकसहित रास्वपा प्रवेश गरेका छन् । सिरहामा एक कार्यक्रमबिच उनी रास्वपा प्रवेश गरेका पार्टीका नेता पुरुषोत्तम यादवले जानकारी दिए ।

चुनावकै मुखमा किन छाड्छन् पार्टी ?

जसपा नेपालका केन्द्रीय समितिका सदस्य डा.सुरेन्द्रकुमार झा व्यक्तिगत महत्त्वकांक्षाका कारण चुनावको समयमा नेताहरूले पार्टी छाड्ने बताउँछन् । ‘अरू बेला पार्टी छाड्नु बेग्लै कुरा हो, तर चुनावको समयमा कुनै नेताले पार्टी छाड्छन् भने त्यो व्यक्तिगत स्वार्थ र लाभका कारण मात्र हो,’ उनको भनाइ छ ।

निर्वाचन नजिकिँदै गर्दा राजनीतिक घटनाक्रम बढ्ने गर्छन् । मत र नेता तान्न विभिन्न प्रलोभन तथा लालसा विभिन्न दल तथा तिनका नेताहरूले दिइरहेका हुन्छन्, कोही फस्छन् भने कोही जोगिन्छन् । झा पनि मधेसको राजनीतिमा सिद्धान्त र विचारको अभाव देखिएकाले यस्तै हुने तर्क गर्छन् । ‘केही दलबाहेक तराई–मधेसकेन्द्रित दलको महाधिवेशन भएको छैन, त्यहाँ कुनै एजेन्डा तथा विचार छैन, नेतृत्व विकास हुन दिइएको छैन,’ झा थप्छन्, ‘त्यसैले पार्टी छाड्ने, प्रवेश गर्ने क्रम चलिरहन्छ ।’

रामुपा नेपालका महासचिव अनिल महासेठको बुझाइ भने अलि फरक छन् । भन्छन्, ‘मधेसवादी दलमा नेताहरूले आफूलाई सुरक्षित महसुस गरेनन्, पार्टीबाट उम्मेदवार भइसकेका, चुनाव प्रचारमा पनि लागिसकेका नेताले पार्टी छाड्नु भनेको नै असुरक्षित महसुस गर्नु हो ।’ नेताहरूमा चुनाव जित्न नसक्ने देखेरै यो कदम चालेको हुन सक्ने उनले बताए ।

साथै नेताहरूले राजनीतिलाई करिअरका रूपमा बुझेकाले त्यो समाप्त हुने अवस्था आएपछि पार्टी छाडेर गएको उनले टिप्पणी गरे । ‘राजनीति विचार, सिद्धान्त, एजेन्डा र सेवा भावले चल्नुपर्छ, तर अहिलेको राजनीति त्यस्तो देखिएन,’ महासेठ बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप