म्याग्दीमा पुराना दललाई महावीर पुन भारी !
सारांश
- म्याग्दीमा आसन्न निर्वाचनका कारण राजनीतिक माहोल तातेको छ, जसमा विभिन्न दलका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।
- पूर्वमन्त्री महावीर पुनको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा रोचक बनेको छ, जसले गर्दा एमाले र कांग्रेसलाई जित्न कठिन हुने अनुमान छ।
- विगतका निर्वाचनमा एमाले बलियो देखिए पनि, यसपटक मतदाताको 'भोट चेन्ज'को चाहनाले प्रतिस्पर्धा रोचक हुने संकेत देखिएको छ।
बागलुङ । प्रतिनिधि सभाको आसन्न निर्वाचनका कारण गण्डकीको हिमाली जिल्ला म्याग्दीको राजनीतिक वातावरण तातेको छ । उम्मेदवार गाउँ केन्द्रित हुँदा जिल्ला सदरमुकाम बेनी बजारमा भने खासै चहलपहल छैन । यद्यपि चुनावी चर्चा भने चलिरहेको छ ।
उम्मेदवारहरू मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । एउटामात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १२ जना उम्मेदवार छन् । यस पटक नेपाली कांग्रेसबाट कर्ण बहादुर भण्डारी, नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्जुन बहादुर थापा, स्वतन्त्र उम्मेदवार महावीर पुनसहितका उम्मेदवार चुनावी मैदानमा छन् । पूर्वमन्त्री महावीर पुनसमेत मैदानमा आएपछि यसपालि चुनावी माहोल रोचक बन्ने देखिन्छ ।
- एमाले–कांग्रेसलाई महावीर भारी !
दोस्रो संविधान सभा निर्वाचनदेखि हालसम्म दुई पटक नेकपा एमाले र एक पटक नेपाली कांग्रेसले जितेको म्याग्दीमा यसपालि जित निकाल्न सहज छैन । पूर्वमन्त्री महावीर पुन दुर दराजका गाउँ–बस्तीमा पुगेर मतदाता भेट्न थालेपछि उनको पक्षमा माहोल राम्रो बन्दै गएको देखिन्छ । उनको उम्मेदवारीपछि नै म्याग्दीको राजनीति तरङ्गित छ ।
हुन त पुराना दलको गाउँ–बस्तीसम्मै संगठन छन् । ०७४ मा वाम गठबन्धन र ०७९ मा पाँच दलीय गठबन्धन गरी चुनाव लडेका दलहरू यसपालि एक्लाएक्लै मैदानमा उत्रिएका छन् । त्योसँगै यसपालि धेरै मतदाता ‘भोट चेन्ज’को पक्षमा देखिन्छन्, जसले एमाले, कांग्रेस र नेकपाका उम्मेदवारलाई महावीर भारी पर्ने निश्चित छ ।

आदवासी जनजातिको बलियो आधार रहेको म्याग्दीमा महावीरले धेरै ठाउँबाट मत तान्न सक्ने आकलन छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै राम्रो छवि बनाएका महावीर उम्मेदवार बनेपछि युवा पुस्तादेखि पाका पुस्ताका मतदातासमेत नयाँको पक्षमा उभिएका छन् । यद्यपि मतदान गर्न अझै दुई साताभन्दा बढी समय बाँकी रहेको हुँदा मतदाताको ‘मुड’ परिवर्तन हुन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन ।
कांग्रेसका भण्डारी, एमालेका श्रेष्ठ, स्वतन्त्र उम्मेदवार पुनसहित यसपालि म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट युवराज रोका, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्जुन बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्भर बहादुर सुवेदी, राष्ट्रिय जनमोर्चाबाट छेम बहादुर वि.क, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भीम बहादुर लामा, नेशनल रिपब्लिक नेपालबाट तुल प्रसाद गर्बुजा, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट क्षेत्रबहादुर घिमिरे चुनावी मैदानमा छन् ।
अन्य उम्मेदवारले पनि पुरानै पार्टीकै मत काट्ने सम्भावना बढी छ, जसले यसपालि म्याग्दीमा कांग्रेस, एमाले र स्वतन्त्र उम्मेदवारबिच तीव्र प्रतिस्पर्धा हुने पक्कापक्की छ । तर जित निकाल्न भने ठुलै कसरत गर्नु पर्ने देखिन्छ ।
- विगतमा यस्तो थियो हारजितको शृङ्खला
दोस्रो संविधान सभा सदस्य निर्वाचन र ०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचन नेकपा एमालेले जितेको म्याग्दीमा ०७९ को संसदीय निर्वाचन नेपाली कांग्रेसले जितेको थियो । २०७० सालको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा यहाँबाट नेकपा एमालेका नवराज शर्मा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका खमवीर गर्बुजालाई पराजित गरेका थिए ।
शर्माले १५ हजार ९५५ मत प्राप्त गर्दा कांग्रेसा गर्बुजाले १२ हजार ९०५ मत पाएका थिए । तेस्रो स्थानमा रहेको तत्कालीन एकीकृत नेकपा माओवादीका लोकेन्द्र विष्ट मगरले ६ हजार ४५० मत पाएका थिए । राप्रपाका भीमप्रसाद गौचनले तीन हजार ३३४ मत पाएका थिए । त्यसबेला कुल ४१ हजार १९६ मत खसेको थियो ।

संघीयता स्थापनापछि २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट नेकपा एमालेका भुपेन्द्र बहादुर थापा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका खमविरलाई नै पराजित गरेका थिए । थापाले २३ हजार ३०८ मत प्राप्त गर्दा गर्बुजाले २० हजार ९८० मत प्राप्त गरेका थिए ।
०७० र ०७४ मा लगातार हार व्यहोरेका कांग्रेस खमवीरले २०७९ मा निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट गर्बुजाले जित हासिल गरेका हुन् । उनले नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गरेका थिए । गर्बुजाले २४ हजार २१ मत प्राप्त गर्दा श्रेष्ठले २० हजार १८० मत पाएका थिए । अहिले पनि एमालेबाट उनै श्रेष्ठ चुनावी मैदानमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिबहादुर खत्री क्षेत्रीले एक हजार ४२४ मत पाएका थिए । यस पटक (रास्वपा)बाट युवराज रोकाले उम्मेदवारी दिएका थिए । तर रास्वपाले स्वतन्त्र उम्मेदवार महावीर पुनलाई सघाउने निर्णय गरेको छ ।
- यस्तो छ अघिल्ला निर्वाचनको मरिणाम
पछिल्लो डेढ दशकको निर्वाचन परिणामलाई हेर्दा म्याग्दीमा नेकपा एमाले बलियो शक्तिका रूपमा देखिन्छ । २०७० को दोस्रो संविधान सभा र ०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा जित हासिल गरेको एमाले २०७९ मा भने पराजित भयो । त्यसबेला पाँच दलीय गठबन्धनको सामना गर्नु परेको थियो । तर एक्लाएक्लै प्रतिस्पर्धा गर्दा पहिलो पार्टी नै हो ।
दोस्रो स्थानमा कांग्रेस देखिन्छ । २०७४ र २०७९ को समानुपातिक मत परिणाम अनुसार एमाले अगाडि छ । ०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेले १८ हजार २६६ नेपाली कांग्रेसले १७ हजार ३४८, तत्कालीन नेकपा माओवादीले चार हजार ३०३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक हजार १५१ मत पाएको थियो ।
२०७९ मा एमालेको मत यथावत जस्तो देखिन्छ भने कांग्रेसको मत घटेको छ । एमालेले १८ हजार २७३ पाउँदा नेपाली कांग्रेसले १३ हजार ६९३ मत पाएको थियो । तर प्रत्यक्षतर्फ कांग्रेसले २४ हजार २१ मत पाएको थियो । माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको नौ हजार ७० मत थियो । संगठनविनै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन हजार ५७९ मत पाएको थियो ।
- २०७९ को स्थानीय तह निर्वाचनको परिणाम
एउटामात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक नरगरपालिकासहित पाँच वटा गाउँपालिका छन् । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले धवलागिरी र रघुगंगा गाउँपालिका जितेको छ । बेनी नगरपालिका, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिका नेकपा एमालेले जितेको छ ।
- १० वडा रहेको बेनी नगरपालिकामा वडा नम्बर २, ७ र ९ नेपाली कांग्रेस, वडा नम्बर १, ५, ६, ८ र १० नेकपा एमाले र वडा नम्बर ३ र ४ तत्काली नेकपा माओवादी केन्द्रले जितेको छ ।
- ८ वडा रहेको अन्नपूर्ण गाउँपालिकामा वडा नम्बर ४, ५, ६ नेपाली कांग्रेस र वडा नम्बर १, २, ३, ७ र ८ नेकपा एमालेले जितेको छ ।
- ७ वडा रहेको धवलागिरी गाउँपालिकामा वडा नम्बर ३ र ५ नेपाली कांग्रेस, वडा नम्बर २, ४ र ६ नेकपा एमाले र वडा नम्बर १ र ७ माओवादी केन्द्रले जितेको छ ।
- ५ वडा रहेको मंगला गाउँपालिकामा वडा नम्बर ४ नेपाली कांग्रेस वडा नम्बर १, २ र ५ नेकपा एमाले र वडा नम्बर ३ माओवादी केन्द्रले जितेको छ ।
- ७ वडा रहेको मालिका गाउँपालिकामा वडा नम्बर १, ४ र ५ नेपाली कांग्रेस, वडा नम्बर २, ६ र ७ नेकपा एमाले र वडा नम्बर ३ माओवादी केन्द्रले जितेको छ ।
- ८ वडा रहेको रघुगंगा गाउँपालिकामा वडा नम्बर १, ४, ५, ६ र ८ नेपाली कांग्रेस, वडा नम्बर २, ३ र ७ नेकपा एमालेले जितेको छ ।
यस पटकको निर्वाचनमा म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता छन् । ४४ हजार ०६४ महिला, ४२ हजार ३३२ पुरुष र एक जना अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण