माग सामान्य, बाचा ठूला : बागलुङका मतदाताको सधैँको व्यथा
बागलुङ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मिति नजिकिएसँगै बागलुङ–२ मा पनि चुनावी माहौल गर्माएको छ । सहरका चोकचोक र गल्लीगल्लीदेखि गाउँ बस्तीसम्म उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । तर, मतदाता सचेत बन्दै गएपछि उम्मेदवारलाई पहिलेको जस्तो सहज छैन ।
विगतदेखि नै विकासका हिसाबले पछाडि परेको यस क्षेत्रको कतिपय स्थानमा राज्यले सामान्य सेवासमेत पुर्याउन सकेको छैन । यस क्षेत्रका मतदाताको माग सामान्य छन् । तर ती सामान्य माग पूरा गर्ने नेतृत्व अहिलेसम्म नपाएको उनीहरूले गुनासो गर्दै आएका छन् ।
यसपालि यस क्षेत्रमा १२ जना उम्मेदवार छन् । यी उम्मेदवारले पनि अघिल्लो चुनावमा जस्तै झूटा वाचा दिँदै हिँडेको कतिपय सुनाउँछन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको बागलुङ–२ मा खानेपानी, शिक्षा, स्वास्थ्य र यातायात नै प्रमुख एजेण्डा बन्नुपर्ने देखिन्छ । तर नेताहरूले महत्त्वाकाङ्क्षी एजेण्डा लिएर मत मागिरहेको मतदाता सुनाउँछन् ।

ताराखोला गाउँपालिका–३ बराहखोलाका ६३ वर्षीय नरबहादुर बस्नेतले विकास नहुँदा बसाइँसराइले गाउँ रित्तिएर सुनसान बनेको बताए । चुनावका बेला भोट माग्न आउने नेताले अनेक वाचा गरे पनि चुनाव जितेर एक पटक पनि गाउँ फर्किएर नआएको उनको गुनासो छ ।
उनले भने, ‘नेताहरूसँग हाम्रो ठुलो अपेक्षा छैन । यति राम्रो गाउँ सुनसान भयो । मान्छे सबै बजार झरे । गाउँमै बस्ने वातावरण बनाइदिए हुन्थ्यो । चुनावमा भोट माग्दा खुट्टै ढोग्न आउँछन् । यो गर्छौँ र त्यो गर्छौँ भन्छन् । चुनाव जितेपछि नाक मुख देखाउँदैनन् ।’
बस्नेतले गाउँमै कृषि, उद्यम गर्न चाहने किसान र युवालाई प्रोत्साहन नहुँदा विदेश पलायन र बसाइसराइ हुने गरेको बताए । जनताले झूटा वाचा दिने नभई परिणाम दिने नेता खोजेको बस्नेतले बताए ।
उनले भने, ‘गाउँमा केही अवसर छैन । नेताबाट ठुलो अपेक्षा छैन । हामीहरूलाई गाउँमै बस्ने र उद्यम गर्ने वातावरण मिलाइदिए हुन्छ । अघिल्लो चुनावहरूमा नेताका चिल्ला कुरा धेरै सुनियो । अब हामीहरूलाई प्रतिबद्धता चाहिन्छ, हामी गाउँमै बस्न चाहन्छौँ । त्यो वातावरण तयार बनाइदिने नेताको खाँचो छ ।’

गलकोट नगरपालिका–७ की ४७ वर्षीया सीता खड्काले युवालाई गाउँमै रोजगार दिन सक्ने नीति ल्याउने उम्मेदवारलाई जिताउनुपर्ने बताइन् । विगतमा सत्तामा पुगेको नेतृत्वले गाउँस्तरका जनताको आवश्यकता र मागलाई ध्यान नदिएको उनले गुनासो पोखिन् । गाउँमा साना तथा मझौला उद्यम गर्ने उद्यमीलाई प्रोत्साहन गर्न सके मात्रै बसाइसराइ र विदेश पलायन रोकिने उनी बताउँछिन् ।
‘बेरोजगारीका कारण घर परिवारबाट टाढिएर विदेश पलायन हुनुपर्ने बाध्यता छ । घरमा बाआमा नभएपछि बालबालिकाको भविष्य कस्तो होला ?’ उनले प्रश्न गरिन्, ‘गलकोट क्षेत्रबाट धेरै युवायुवती विदेशमा छन् । उनीहरूको लालाबाला (छोराछोरी) को यहाँ बिचल्ली हुने गरेको छ । यहीँ नै रोजगार दिए विदेश पस्न कसलाई रहर हुन्थ्यो र ?’

निसीखोला गाउँपालिका–५ का ६७ वर्षीय थमबहादुर पुनले किसानको उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाउन सक्ने नेतालाई भोट दिने बताए । धेरै किसानले हरेक वर्ष दशौँ लाखको तरकारी र फलफूल उत्पादन गर्ने भए पनि बजारको अभावमा उचित मूल्य पाउन नसकेको उनको भनाइ छ । आफू दुई दशकदेखि निरन्तर मतदानमा सहभागी हुँदै आएको सुनाउँदै अहिलेसम्म किसानका माग पूरा गर्ने नेता पाउन नसकेको पुनले बताए ।
उनले भने, ‘अहिले त चुनाव आउँदा पनि दिक्क लाग्छ । भोट दिएर पठाएका नेताले हाम्रो समस्या बुझ्दैनन् । उनीहरुलाई जिताएर पठाउने मात्रै भयौँ, पहिले–पहिले घरको काम छोडेर पनि नेतालाई जिताउनुपर्छ भनेर हिँडियो, उनीहरूले चुनाव जितेर सांसद मन्त्री भए, हाम्रो समस्या जहाँको त्यहीँ रह्यो, अहिले त किसानका काम गर्नेलाई मात्रै मत दिने हो ।’
- मुखिया र प्रधानपञ्चदेखि आश्वासन मात्रै पाएका मतदाता

घुसमेली गाउँकी ८१ वर्षीया गौमती कार्कीले मतदान गर्दै आएको दशकौँ भयो । उनले आसन्न निर्वाचनमा पनि मतदान गर्दै छिन् । मतदानमार्फत मुखिया, जिम्माल र प्रधानपञ्च चुनेर आएकी कार्कीले अहिलेसम्म जनताको पक्षमा इमानदार भएर काम गर्ने नेतृत्व पाउन नसकेको गुनासो गरिन् ।
‘पहिलेको तुलनामा अहिले चुनावको पद्धति फेरियो । त्यसबेला भोट गर्ने तरिका पनि फरक हुन्थ्यो । मुखिया जिम्माल थिए । त्यसपछि प्रधानपञ्च भए । अचेल दलहरु आए । काम सबैले गर्छौँ भने । तर कसैले काम गर्न सकेनन्,’ उनले भनिन् ।
चार दशक अगाडिका एजेण्डा गोरेटोबाटो फराकिलो बनाउने, गरिबलाई अन्नदान गर्ने, खानेपानीको कुवा, धारालाई व्यवस्थित गर्ने एजेण्डा लिएर आउने गरेको कार्कीले स्मरण गरिन् । समयसँगै चुनावी एजेण्डा पनि फेरिएको उनको भनाइ छ ।
उनले भनिन्, ‘पहिले र अहिलेका नेताको बानी उस्तै । मत माग्ने बेला आए, त्यसपछि हराए । उतिबेलाको तुलनामा केही सुविधा त भयो । बाटाघाटा बने तर जनता गाउँमा नबस्ने भए । हाम्रो त उमेर पुगिसक्यो । हाम्रो छोरा नातिलाई राम्रो गरिदिए हुन्थ्यो । गाउँमा कोही बस्दैनन्, गाउँ रित्तै भयो ।’

गलकोट मल्मकी ८५ वर्षीया टुल्की थापाले पञ्चायतकालमा पनि चुनावका बेला धेरै नै ढाँटछल हुने गरेको स्मरण गरिन् । मत माग्नका लागि अनेक बहाना गर्ने प्रचलन पहिलेदेखि नै चल्दै आएको उनको भनाइ छ । उनले विगतको तुलनामा विकास भएको बताइन् । गाउँघरमा मोटरबाटो, खानेपानी र विद्युत् आए पनि स्वास्थ्य र शिक्षा भने राम्रो हुन नसकेको गुनासो गरिन् । नजिकमा पढ्ने विद्यालय र अस्पताल राम्रो हुनुपर्ने उनको भनाइ छ ।
उनले भनिन्, ‘हाम्रो पालामा त पढ्ने लेख्ने चलन थिएन । मान्छे बिरामी पर्दा अस्पताल पनि जाने थिएनन् । अहिले त त्यो जमाना फेरियो । राम्रो पढाइ चाहियो, राम्रो उपचार गर्नुपर्ने अवस्था आयो । जुग जमाना अनुसार विकास हुनुपर्छ । २०/३० वर्ष अगाडिभन्दा अहिले धेरै विकास भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
-
दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण