सुदूरपश्चिममा ३० वर्षसम्मका १७ जना उम्मेदवार चुनावी मैदानमा
सारांश
- सुदूरपश्चिममा प्रतिनिधिसभा निर्वाचनको माहोल तातेको छ, जसमा युवा पुस्ताको उत्साहजनक सहभागिता रहेको छ।
- २०७ जना उम्मेदवारमध्ये ६६ जना ४० वर्षमुनिका युवा छन्, र कतिपयले ठूला दलबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
- युवा उम्मेदवारहरूले नयाँ शैलीमा प्रचार गरिरहेका छन् र मतदाताहरूले यसलाई सकारात्मक परिवर्तनको संकेतका रूपमा लिएका छन्।
धनगढी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहौल सुदूरपश्चिममा पनि तातेको छ। ठाउँ –ठाउँमा चुनावी लक्षित बहस कार्यक्रम भइरहेका छन्। प्रदेशका १६ वटा निर्वाचन क्षेत्रबाट संघीय संसद्मा पुग्न यस पटक यहाँ २०७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
सुरुमा २१० जनाले उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा आएर केही हेरफेर भयो । दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिए भने एक जनाले अर्का उम्मेदवारलाई समर्थन गरे।
अछाम क्षेत्र नम्बर २ बाट उज्यालो नेपाल पार्टीका २७ वर्षीय उम्मेदवार राजेश रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् ।
यस पटकको सुदूरपश्चिमको चुनावी तथ्यांकलाई केलाउने हो भने एउटा फरक माहौल छ। त्यो हो, चुनाव लड्ने युवापुस्ताको जबरजस्त सहभागिता। कुल २०७ उम्मेदवारमध्ये ६६ जना करिब ३२ प्रतिशत) ४० वर्षमुनिका युवा छन् । यीमध्ये १७ जना त ३० वर्षसम्म उमेर समूहका कलिला युवा छन् । महिला उम्मेदवारको उपस्थिति भने तुलनात्मक रूपमा कमजोर देखिन्छ। १६ सिटका लागि जम्मा १८ जना महिला प्रतिस्पर्धामा छन् ।
देशमा सधैँ युवा नेतृत्वको चर्को नारा लाग्ने गरे पनि सुदूरपश्चिमको उम्मेदवारीमा ठुला र परम्परागत दलहरूको पुरानै अनुहार दोहोर्याएको देखिन्छ । देशकै ठूलो पार्टी नेपाली कांग्रेसले सुदूरपश्चिमका १६ सिटमा ४० वर्षमुनिका एक जना पनि युवालाई उम्मेदवार बनाएको छैन । नेकपा एमालेले जम्मा एक जनालाई पत्याएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना मात्र युवा उम्मेदवार छन् ।
ठुला दलले टिकट नदिएपछि युवाहरू नयाँ चर्चामा आएका दल, साना दल र स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिएका छन् । विशेषगरी रास्वपा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), मितेरी पार्टी, संयुक्त नागरिक पार्टी र स्वतन्त्र अभियानबाट युवाहरूले आफ्नो उम्मेदवारी दिएका हुन् ।
३० वर्षसम्मको उमेर समूहका युवा उम्मेदवारहरू प्राय राजनीतिमा भर्खरै पाइला टेक्दै गरेका भए पनि उनीहरूको चर्चा भने चुलिएको छ ।
कैलाली क्षेत्र नम्बर २ बाट रास्वपाका २६ वर्षका उम्मेदवार केपी खनाल यतिबेला चर्चामा छन् । लामो समयदेखि सरसफाइ अभियान चलाएर सामाजिक सञ्जाल र जनमानसमा राम्रो छवि बनाएका उनी चुनावी मैदानमा होमिएका हुन् ।
त्यस्तै, अछाम क्षेत्र नम्बर २ मा रास्वपाकै ३० वर्षीय भूपदेव शाह पनि उम्मेदवारीका कारण चर्चामा छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको स्वकीय सचिव भएर काम गरिसकेका शाहले बालेन मोडलको विकासको एजेन्डा बोकेर गाउँ पसेका छन् । उता, अछाम क्षेत्र नम्बर १ मा पनि रास्वपाकै २७ वर्षीय ओमप्रकाश रावलले बलियो उपस्थिति जनाइरहेका छन् ।
३० वर्षसम्मका युवा उम्मेदवारहरूको लहर तराईका जिल्लामा झनै बाक्लो छ । कञ्चनपुर–१ मा संयुक्त नागरिक पार्टीबाट २७ वर्षीय दानियल विक, मितेरी पार्टी नेपालबाट २७ वर्षीय सियाराम राना र स्वतन्त्र रूपमा २७ वर्षीय अनिल राना तथा २७ वर्षीय यादव सिंहले प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरु चारै जना जेनजी समुह भित्र पर्छन्।
कैलालीका विभिन्न क्षेत्रमा पनि युवा अनुहारको बाहुल्यता छ । कैलाली–१ मा नेमकिपाबाट सबैभन्दा कान्छी उम्मेदवारका रूपमा २५ वर्षीया सुनिता भण्डारा मैदानमा छिन् भने सोही क्षेत्रमा २८ वर्षीय तपेन्द्र शाह स्वतन्त्र उठेका छन् ।
कैलाली–२ मा मितेरी पार्टीकी २७ वर्षीया सम्झना विष्ट थापा, कैलाली–३ मा नेमकिपाकी ३० वर्षीया जुनु महतरा शाही र कैलाली–५ मा नेमकिपाकै २८ वर्षीया तृष्णा पुन मगरले महिला र युवा दुवैको प्रतिनिधित्व गर्दै भोट मागिरहेका छन् ।
पहाडी जिल्लाहरूमा पनि युवाको उत्साह कम छैन । डडेल्धुरामा २८ वर्षीय गोरखबहादुर ऐरले स्वतन्त्र उम्मेदवारी दिएर चुनौती पेस गरेका छन्। अछाम–१ मा नेमकिपाका २६ वर्षीय सुरेन्द्र शाही र डोटीमा नेकपा माओवादी विप्लव समूहबाट २९ वर्षीय प्रकाश कठायत पनि चुनावी मैदानमा खटिएका छन् । यस्तै बाजुरामा ३० वर्षका स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही छन् ।
३० वर्षसम्म मात्र होइन, ३० देखि ४० वर्ष उमेर समूहका ६६ युवाहरू पनि चुनावी मैदानमा छन् । कञ्चनपुर–१ मा मात्रै ४० वर्षमुनिका ७ जना उम्मेदवार छन् । यहाँ नागरिक उन्मुक्ति पार्टीका ४० वर्षका कृष्णबहादुर चौधरी, उज्यालो नेपाल पार्टीका ३२ वर्षका माइकल तामाङ, आम जनता पार्टीकी ३६ वर्षकी सीता विक लगायतले प्रतिस्पर्धा गर्दैछन् ।
कञ्चनपुर–२ मा ३८ वर्षका रास्वपाका दीपकराज बोहरा, नेकपाका ३९ वर्षका माधवप्रसाद पन्त, माओवादीका ४० वर्षका लोकेन्द्रबहादुर विक सहित स्वतन्त्र उम्मेदवारहरू ३५ वर्षका हरिसबहादुर भट्ट र ३१ वर्षका वीरेन्द्र राना मैदानमा छन् ।
कञ्चनपुर–३ मा ४० वर्षका रास्वपाका ज्ञानेन्द्र महता र राष्ट्रिय मुक्ति पार्टीका ३९ वर्षका लोकराज भट्ट मैदानमा छन् ।
पहाडी जिल्ला बाजुरामा ४० वर्षमुनिका ४ जना उम्मेदवार छन् । जसमा ४० वर्षका प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपककुमार डीसी, ३३ वर्षका रास्वपाका हेमराज थापा चर्चामा छ। बैतडीमा आम जनता पार्टीका ३५ वर्षीय विसनसिंह बोहरा एक मात्र ४० मुनिका उम्मेदवार हुन् ।
डडेल्धुरामा जय मातृभूमि पार्टीका ३९ वर्षका लक्ष्मीदत्त भट्ट र ३५ वर्षका स्वतन्त्र सुरेन्द्र रावल ले पनि नयाँ पुस्ताको मत तान्ने प्रयास गरिरहेका छन् । दार्चुलामा नेकपा (माओवादी) का ३२ वर्षीय नवराज भट्ट उम्मेदवार छन् भने बझाङमा रास्वपाका ३८ वर्षीय शैलेशकुमार सिंहको उम्मेदवारी छ । डोटीमा एमालेले ३२ वर्षीय दीपक धामीलाई मैदानमा उतारेको छ।
कैलालीका ५ वटै क्षेत्रमा ४० वर्षमुनिका उम्मेदवारको लर्को छ । कैलाली–१ मा ९ जना, कैलाली–२ मा ४ जना, कैलाली–३ मा ४ जना, कैलाली–४ मा ६ जना र कैलाली–५ मा ४ जना अन्डर–४० का युवाहरू चुनावी मैदानमा छन्।
यति धेरै युवाहरू एकैपटक चुनावमा आउनुलाई सुदूरपश्चिमका मतदाताले सकारात्मक परिवर्तनको संकेतका रूपमा लिएका छन् । ‘युवाहरू यसरी ठुलो संख्यामा चुनावी मैदानमा देखिनु राम्रो पक्ष हो । युवा चुनावमा आउनु भनेको उनीहरूलाई देशको चिन्ता छ भन्ने प्रमाण हो । हारजित आफ्नो ठाउँमा छ, तर देश बनाउन अब युवालाई नै जिताउनु पर्छ भन्ने लाग्न थालेको छ,’ कञ्चनपुरका स्थानीय मतदाता ओमप्रकाश चौधरीले भने।
परम्परागत पार्टीहरूको ढिलासुस्ती, भ्रष्टाचार र पुरानै अनुहारबाट वाक्क भएका मतदाताका लागि यी युवा उम्मेदवारहरूले एउटा नयाँ विकल्प दिएका छन् ।
अहिले गाउँ–गाउँमा यी युवाहरूले नयाँ शैलीमा प्रचारप्रसार गरिरहेका छन् । सरल तरिकाले घरदैलो र सामाजिक सञ्जाललाई उनीहरूले हतियार बनाएर चुनावी मैदानमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण