सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युद्ध पाँचौँ वर्षमा प्रवेश गर्दा समेत रूसले जितेको छैनः जेलेन्स्की

बुधबार, १३ फागुन २०८२, १३ : ४०
बुधबार, १३ फागुन २०८२

सारांश

  • रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्ष पूरा भएको छ, तर रुसले अझै विजय हासिल गर्न सकेको छैन।
  • युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनी जनताको साहसको प्रशंसा गर्दै स्वतन्त्रता जोगाएको बताए।
  • युद्धको वार्षिकोत्सवमा समर्थन जनाउन युरोपेली संघका उच्च अधिकारीहरू किभ पुगेका थिए र सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

किभ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्ष पूरा भई युद्ध पाँचौँ वर्षमा प्रवेश गरेको छ। तर रूसले अझै विजय हासिल गर्न नसकेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

रूसको पूर्ण आक्रमण सुरु भएको चौथो वर्षगाँठका अवसरमा मंगलबार सम्बोधन गर्दै उनले युक्रेनी जनताले अत्यन्त साहसका साथ युद्धको सामना गरेको बताए। ‘हामीलाई यो भन्न पूरा अधिकार छ कि हामीले हाम्रो स्वतन्त्रता जोगाएका छौँ, राज्य गुमाएका छैनौँ,’ उनले भने।

जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्ना लक्ष्य हासिल गर्न असफल भएको र युक्रेनीहरूको मनोबल तोड्न नसकेको दाबी गरे। सन् २०२२ फेब्रुअरी २४ मा सुरु भएको युद्धले युक्रेनमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। लाखौँ मानिस विस्थापित भएका छन् भने सयौँ हजारको ज्यान गएको अनुमान छ।

विश्लेषकहरूका अनुसार दुवै पक्षका मारिएका, घाइते वा बेपत्ता सैनिकको संख्या आउँदो बसन्तसम्म २० लाख नजिक पुग्न सक्छ।

युद्धको वर्षगाँठका अवसरमा समर्थन जनाउन युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनसहित दर्जनभन्दा बढी युरोपेली उच्च अधिकारी किभ पुगेका थिए। युरोपेली संघले युक्रेनलाई राजनीतिक, आर्थिक, मानवीय तथा सैन्य सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

लेयेनले ९० अर्ब युरो ऋण उपलब्ध गराउने योजना अन्ततः कार्यान्वयन हुने विश्वास व्यक्त गरिन्। सात धनी राष्ट्रहरूको समूह जी–सेभेनले पनि युक्रेनप्रति अटल समर्थन जनाउँदै अमेरिकाको नेतृत्वमा भइरहेको शान्ति वार्तालाई समर्थन गरेको छ।

युक्रेन समर्थक ‘कोएलिसन अफ द विलिङ’का ३० भन्दा बढी नेताहरूले रूसलाई बिना शर्त युद्धविराम स्वीकार गर्न आह्वान गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप