शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी चर्चा

चुनावमा हारजित : ७ पूर्वप्रधानमन्त्रीको हिसाब–किताब

शुक्रबार, १५ फागुन २०८२, १९ : ३५
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको १७ वर्षमा १५ सरकार बने तर कुनैले पूरा कार्यकाल चलाउन सकेनन्।
  • निर्वाचनलाई परम्परागत र नयाँ राजनीतिक दलबीचको जनमतसङ्ग्रहका रूपमा हेरिएको छ, जसमा पुराना नेताहरू पराजित हुन सक्ने सम्भावना छ।
  • विभिन्न पूर्वप्रधानमन्त्रीहरूले निर्वाचनमा हार-जितको अनुभव गरेका छन्, र कतिपय अहिले पनि चुनावी प्रतिस्पर्धामा छन्।

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको १७ वर्षमा १५ वटा सरकार बन्यो, तर कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न पाएन । यस अवधिमा १३ वटा जननिर्वाचित र दुई वटा गैरराजनीतिक सरकार बन्यो । भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचान सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारीमा छ ।

यस निर्वाचनलाई परम्परागत र नयाँ वैकल्पिक राजनीतिक दलहरू बिचको जनमतसङ्ग्रहको रूपमा हेरिएको छ । जेनजी आन्दोलपछि विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनलाई पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश बनाउने र भत्काउने बिचको सङ्घर्ष’का रूपमा व्याख्या गरेका छन् ।

जेनजी आन्दोलनको बेला प्रधानमन्त्री रहेका उनीमाथि नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २३ जना जेनजी युवाको हत्या गरेको आरोप लगाउँदै आएको छ । एमाले, कांग्रेस लगायत दलहरूले रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहलाई देशमा विध्वंस मच्चाउन भूमिका खेलेको आरोप लगाएका छन् ।

हरेक दशक उथलपुथल हुँदै आएको नेपालको राजनीतिमा यस निर्वाचनले पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, मधेस केन्द्रित दलहरूलाई ठुलो झट्का लाग्न सक्ने चर्चा राजनीतिक वृत्तमा छ । यहाँ हामीले विभिन्न निर्वाचनमा तत्कालीन प्रधानमन्त्री–पूर्वप्रधानमन्त्रीले बेहोरेको हार–जितलाई केलाउने प्रयास गरेका छौँ ।

२०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पराजित भएका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि खुला राजनीतिमा आएका तत्कालीन एमालेका महासचिव मदन कुमार भण्डारीले तत्कालीन प्रधानमन्त्री भट्टराईलाई काठमाडौँ–१ मा पराजित गरेका थिए ।

२०६४ सालमा भएको संविधान सभा निर्वाचनमा कांग्रेस, एमाले लगायत दलहरूका वरिष्ठ नेताहरू नै पराजित भएका थिए । ठुलो उथलपुथलपछि अहिले हुन लागेको निर्वाचनमा पनि पुराना दलहरूका प्रभावशाली नेताहरू नै पराजित हुन सक्ने आकलन गरिएको छ ।

जेनजी आन्दोलनको अपनत्व लिँदै दोस्रोपटक निर्वाचनमा होमिएको रास्वपाको लहर अहिले देशैभरि चलेकाले परम्परागत दलहरू प्रतिरक्षामा देखिएका छन् । ०६२÷०६३ को जनआन्दोलनपछि देशमा दुई पटक संविधान सभा, दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचन भइसकेको छ ।

त्यस यता केपी ओली चार पटक, प्रचण्ड तीन पटक, शेरबहादुर देउवा दुई पटक, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला एक÷एक पटक प्रधानमन्त्री बने । यस बिचमा भएको दुई वटा संविधान सभा निर्वाचन र दुई वटा प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्रीहरूको हार–जितको शृङ्खला रोचक देखिन्छ ।

  • पर्यटक उम्मेदवार प्रचण्ड

२०५२–२०६२ सम्म माओवादी सशस्त्र आन्दोलनको नेतृत्व गरेका प्रचण्ड २०६२ सालमा १२ बुँदे सम्झौता भएसँगै शान्तिपूर्ण राजनीतिमा आएका थिए । २०६४ सालको संविधान सभा निर्वाचनमार्फत पहिलो पटक संसदीय प्रतिस्पर्धामा उत्रिएका उनी त्यस यता एक निर्वाचन क्षेत्र बाहेक उम्मेदवारी दिएका हरेक ठाउँमा जित्दै आएका छन् । २०६४ सालमा काठमाडौँ–१० र रोल्पा–२ बाट प्रचण्डले भारी मतान्तरले निर्वाचन जिते ।

२०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँ–१० मा पराजित भएका उनी सिराहा–५ बाट विजयी भए । त्यतिबेला प्रचण्डले काठमाडौँ–१० मा १२ हजार ८५९ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाएका थिए । कांग्रेसका राजेन्द्र कुमार केसीले २० हजार ३९२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र मानन्धरले १३ हजार ६१९ मत प्राप्त गरेका थिए ।

२०६४ सालमा सोही क्षेत्रबाट कांग्रेसका राजेन्द्र कुमार केसीलाई प्रचण्डले १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । ०७० मा काठमाडौँमा पराजित भए पनि प्रचण्ड सिराहा–५ बाट निर्वाचित भएका थिए । १५ हजार २४४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी एमालेका लिलानाथ श्रेष्ठले १४ हजार २२३ मत प्राप्त गरेका थिए ।

२०७४ सालमा एमाले र माओवादी केन्द्रबिच वाम गठबन्धन बनेपछि प्रचण्ड चितवन–३ बाट उम्मेदवार भए । त्यतिबेला उनी ४८ हजार २७६ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा प्रचण्ड चितवन–३ छाडेर गोरखा–२ बाट उम्मेदवार भए । उनी २६ हजार १०९ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी रास्वपाका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६३९ मत प्राप्त गरेका थिए । अहिले गोरखा–२ छोडेर माओवादीको आधार इलाका रुकुम पूर्वबाट उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादी लगायत २६ वटा वाम घटक मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएका प्रचण्डले निर्वाचनपछि आफ्नो पार्टी निर्णायक शक्ति बन्ने दाबी गर्दै आएका छन् । उनलाई योपटक कांग्रेसका कुशुमदेवी थापा, एमालेका लिलामणि गौतम र रास्वपाका लखन कुमार थापाले चुनौती दिएका छन् ।

  • पराजित भएर प्रधानमन्त्री बनेका माधव

२०६४ सालको संविधान सभा निर्वाचनमा काठमाडौँ–२ र रौतहट–६ बाट पराजित भएका तत्कालीन एमालेका महासचिव माधव नेपालले मत परिणाम सार्वजनिक भएसँगै पदबाट राजीनामा दिएका थिए । अहिले रास्वपाको लहर चलेको जस्तै त्यतिबेला जताततै माओवादीको लहर थियो । ६०१ सदस्यीय संविधान सभा सदस्य निर्वाचनमा माओवादी २२९ सिट जितेर पहिलो दल बन्यो । एमालेले १०८ सिट जितेर तेस्रो दलमा चित्त बुझाउनु परेको थियो ।

प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रकरणमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि नेपाल २०६६ साल जेठ ११ गते प्रधानमन्त्री बने । त्यसअघि प्रचण्ड सरकारले नेपाललाई संवैधानिक समितिको सभापतिमा नियुक्त गरेको थियो । प्रचण्डले राजीनामा दिएपछि नेपाल आफू निकट एक सांसदलाई राजीनामा दिन लगाएर सांसद बनेका थिए । कांग्रेस र मधेसी दलहरूको समर्थनमा उनी प्रधानमन्त्री बने ।

२०७० सालमा नेपाल काठमाडौँ–२ र रौतहट–१ बाट विजयी भए । रौतहट–१ बाट नेपाल ८ हजार ३६१ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अजय कुमार गुप्ताले ८ हजार २३ मत प्राप्त गरेका थिए । २०७४ सालको निर्वाचनमा नेपाल काठमाडौँ–२ बाट निर्वाचित भए । नेपालले २७ हजार ३६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दिपक प्रसाद कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरेका थिए ।

२०२९ सालमा नेपाल रौतहट–१ बाट ३३ हजार ५२२ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका अजय कुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरेका थिए । नेकपाका सहसंयोजक रहेका नेपाल यो पटक पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् । तर २०६६ सालमा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जली योग पीठको जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेकाले उनी अप्ठ्यारोमा परेका छन् । उनी चुनाव जितेर आए पनि मुद्दा छिनोफानो नहुन्जेल संसदीय भूमिकामा रहन पाउने छैनन् । यसपटक नेपाललाई पुराना नेता अनिलकुमार झाले चुनौती दिएका छन् । झा नेपाली कांग्रेसबाट उम्मेदवार छन् । एमालेबाट पुरानै प्रतिस्पर्धी अजय गुप्ता, रास्वपाबाट राजेश कुमार चौधरी र जसपा नेपालका योगेन्द्र राय यादव प्रतिस्पर्धामा उत्रिएका छन् ।

  • ‘रिङ आउट’ भएका झलनाथ

२०६५ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका झलनाथ खनाल अहिले चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । खनाल २०६७ माघ १३ गते प्रधानमन्त्री भएका थिए ।

२०६४ सालको निर्वाचनमा उनी इलाम–१ बाट निर्वाचित भए । २०७० सालमा इलाम–१ मा निर्वाचित भएका खनाल सर्लाही–१ मा पराजित भएका थिए । उनी इलाम–१ मा १७ हजार ३४२ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हिमालय कर्माचार्यले १५ हजार ५२७ मत प्राप्त गरेका थिए । 

सर्लाही–१ खनाल पराजित हुँदा माओवादीका शम्भुलाल श्रेष्ठ नौ हजार ४७६ मतसहित निर्वाचित भएका थिए । खनालले आठ हजार ७९१ मत प्राप्त गरेका थिए ।

२०७४ सालमा इलाम–१ बाट खनाल ३६ हजार ८०५ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी भुपेन्द्र कट्टेलले १९ हजार ६३८ मत प्राप्त गरेका थिए ।

२०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका खनाल पराजित भए । एमालेका महेश बस्नेत २५ हजार ७५३ मत ल्याएर विजयी हुँदा खनालले २३ हजार ८९ मत प्राप्त गरे ।

  • अघिल्लो पटक प्रचण्डलाई मैदान छाडेका बाबुराम योपटक आफैँ बाहिरिए

२०६४, २०७० र २०७४ सालमा गोरखा–२ बाट लगातार निर्वाचित भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले योपटक उम्मेदवारी फिर्ता लिएर प्रतिस्पर्धीलाई मैदान खाली गरे । माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलो संविधान सभा निर्वाचनमा भट्टराई ४६ हजारभन्दा बढी मतसहित निर्वाचित भएका थिए ।

२०७० सालमा गोरखा–१ मा निर्वाचित उनी रुपन्देही–४ बाट पराजित भए । गोरखामा भट्टराई २२ हजार ८२४ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका किरणबाबु श्रेष्ठले आठ हजार ९७१ मत प्राप्त गरेका थिए । रुपन्देही–४ मा एमालेका विष्णुप्रसाद पौडेल १९ हजार ५७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद प्रधानले १३ हजार ६३२ मत प्राप्त गरेका थिए भने भट्टराईले ११ हजार ९३४ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाए ।

भट्टराई २०६८ साल भदौ १२ देखि २०६९ चैत १ सम्म प्रधानमन्त्री थिए । २०७४ सालमा गोरखा–२ बाट ३१ हजार ८०७ मत ल्याएर निर्वाचित भएका भट्टराईका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भट्टराईले आफ्नो निर्वाचन क्षेत्र छाडे । योपटक प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिए । गोरखा–२ मा योपटक नेकपाबाट लेखनाथ न्यौपाने, कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, रास्वपाबाट कवीन्द्र बुर्लाकोटी र एमालेबाट मिलन गुरुङ उम्मेदवार छन् ।

  • संविधान निर्माताको छवि बनाएका सुशील

२०६४ सालमा कांग्रेसका कार्यवाहक सभापति रहेका सुशील कोइराला बाँके–३ बाट पराजित भएका थिए । त्यतिबेला अन्तरिम सरकारका प्रधानमन्त्री रहेका सभापति गिरिजाप्रसाद कोइरालाले प्रत्यक्षमा चुनावै लडेनन् । पहिलो संविधान सभा निर्वाचनमा कांग्रेस र एमालेका प्रभावशाली नेताहरू नै निर्वाचनमा पराजित भएका थिए ।

२०६६ साल चैत ७ गते गिरिजाप्रसादको निधन भएपछि २०६७ साल फागुनमा भएको कांग्रेसको १२औँ महाधिवेशनबाट सुशील सभापतिमा निर्वाचित भए । आफ्नै नेतृत्वमा २०७० सालको निर्वाचन गराएका उनी बाँके–३ र चितवन–४ बाट निर्वाचित भए । बाँके–३ मा १० हजार ७५३ मत ल्याएर कोइराला निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी राप्रपा नेपालका धवलशमशेर राणाले आठ हजार ८०९ मत प्राप्त गरेका थिए । यता चितवन–४ मा सुशील कोइराला २० हजार ७६० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका चित्रबहादुर श्रेष्ठले १० हजार ७३९ मत प्राप्त गरे ।

निर्वाचनपछि एमालेको समर्थनमा सुशील कोइराला प्रधानमन्त्री बने । उनकै नेतृत्वमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान जारी भयो । २०७२ साल असोज ३ गते संविधान बनेपछि असोज २५ गते कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । सोही वर्ष माघमा उनको निधन भएको थियो ।

  • जेनजी आन्दोलनबाट सत्ताच्यूत ओली प्रधानमन्त्रीको दौडमा

गत भदौमा भएको जेनजी आन्दोलनपछि सत्ता गुमाएका पूर्वप्रधानमन्त्री केपी ओली आठौँ पटक चुनावी मैदानमा उत्रिएका छन् । २०४८ सालदेखि उनी निरन्तर झापा–५ बाट उठ्दै आएका छन् । ओलीले २०६४ सालको निर्वाचन बाहेक अन्य सबैमा जित हासिल गरेका छन् । चार पटक प्रधानमन्त्री बनेका उनलाई योपटक रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनौती दिएका छन् । मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका उनी चुनाव जितेर पाँचौँ पटक प्रधानमन्त्री बन्ने दाउमा छन् ।

२०७० सालको निर्वाचनमा झापा–७ बाट ओली १९ हजार २८७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेश कुमार योङयाले ११ हजार ४१ मत प्राप्त गरेका थिए ।

२०७४ सालमा झापा–५ बाट ओली ५७ हजार १३९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरे । २०७९ को निर्वाचनमा उनी ५२ हजार ३१९ मत ल्याएर निर्वाचित भए । ओलीका पुरानै प्रतिस्पर्धी अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए । योपटक कांग्रेसले मंधरा चिमरियालाई उम्मेदवार बनाएको छ । नेकपाले रञ्जित तामाङ र राप्रपाले लक्ष्मीप्रसाद संग्रौलालाई उठाएको छ ।

  • अहिलेसम्म अपराजित रहेका देउवा यस पटक उम्मेदवार नै भएनन्

जेनजी आन्दोलनको क्रममा निर्घात कुटाइ खाएका कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा योपटक चुनावी प्रतिस्पर्धामा छैनन् । २०४८ सालदेखि निरन्तर डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी अन्तिमपटक चुनाव लड्ने तयारीमा थिए । तर पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित भएपछि देउवाले सभापति पदसमेत गुमाए । सभापति थापाले देउवालाई टिकट नै दिएनन् । फागुन २१ मा हुने निर्वाचन छल्नका लागि उनी बुधबार राति सिंगापुर पुगेका छन् । ०४८ साल यताका सबै संसदीय निर्वाचन जित्ने देउवा एक्ला राजनीतिज्ञ हुन् । देशको पाँच पटक प्रधानमन्त्री बनेका उनी २०८३ असारमा छैटौँ पटक प्रधानमन्त्री बन्ने दाउमा थिए । तर भदौमा भएको जेनजी विद्रोहले कांग्रेस–एमाले गठबन्धन सरकार ढलेपछि उनले एकसाथ पार्टी र राजकीय सत्ता गुमाए ।

२०७४ को संसदीय निर्वाचनमा देउवा २८ हजार ४४६ मतसहित निर्वाचित भए । देउवाका निकटतम प्रतिद्वन्द्वी खगराज भट्टले २१ हजार ४९८ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचन उनी २५ हजार ५३४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप