मध्यपूर्वमा तनावः कस्तो छ नेपाली श्रमिकको अवस्था ?
सारांश
- मध्यपूर्वमा तनाव बढेपछि नेपालको प्रमुख गन्तव्य मुलुकहरूमा कार्यरत नेपाली कामदारको सुरक्षामा असर पुगेको छ।
- इरान र अमेरिकाबीचको द्वन्द्वका कारण हवाई सेवा बन्द हुँदा नेपालबाट जाने र फर्कने यात्रु अलपत्र परेका छन्।
- युद्धका कारण तेल र सुनको मूल्य बढेको छ भने श्रम मन्त्रालयले श्रमिकको सुरक्षा र उद्धारका लागि छलफल थालेको छ।
काठमाडौँ । यतिबेला मध्यपूर्व तनावमा छ ।
अमेरिका तथा इजरायलले इरानमाथि आक्रमण गरेसँगै इरान प्रत्याक्रमणमा उत्रिँदा नेपालको प्रमुख गन्तव्य मुलुक मानिने कतार, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी, बहराईन, ओमन लगायत देशमा तनावग्रस्त बनेका हुन् । यी देशहरूमा मात्रै १७ लाखभन्दा धेरै नेपाली कार्यरत रहेको बताइन्छ ।
प्रत्याक्रमणका क्रममा अहिले इरानले यी देशमा रहेको अमेरिकी सैनिकका एयरबेसलाई निशाना बनाइरहेको छ । इरानले प्रहार गरेका धेरैजस्तो क्षेप्यास्त्रहरूलाई अमेरिकी सेनाको डिफेन्ड सिस्टमले निष्क्रिय बनाइरहेको भए पनि अहिले सबै देशहरूमा त्रासको वातावरण कायमै छ ।
कस्तो छ नागरिकको सुरक्षाको अवस्था ?
दुई पक्षबीच युद्ध भए पनि अहिलेसम्म नागरिकलाई प्रत्यक्ष निशाना बनाएका भने छैनन् । कतारका लागि नेपाली राजदूत रमेश पौडेलले इरानले जुनसुकै देशका अमेरिकी सैन्य क्याम्पहरूलाई लक्षित गरेर आक्रमण गरिरहेको बताए ।
तर, यसरी भएको आक्रमणका क्रममा आकाशमा निष्क्रिय हुने क्षेप्यास्त्रका टुक्राहरू सो क्षेत्र वरपरका ठाउँमा खसिरहेको र यसले उनीहरूलाई असर पुर्याइरहेको उनी बताउँछन् । नेपालीका हकमा भने यो अवस्था केही कम रहेको राजदूत पौडेल बताउँछन् । ‘नेपालीहरू सामान्यतया घरायसी काम, होटल रेस्टुरेन्ट र निर्माण क्षेत्रमा छन् । यी क्षेत्र अहिले एयरबेसभन्दा अलि टाढा छन् । त्यसैले धेरै नेपालीलाई अहिले नै असर गरेको छैन,’ पौडेल भन्छन्, ‘तर, के होला कसो होला भन्ने अवस्था छँदै छ ।’
उता इरान भने नेपालीको गन्तव्य मुलुक नभएकोले समस्या छैन । इरानका लागि समेत राजदूतको जिम्मेवारीमा रहेका पौडेल त्यहाँ नेपालीको संख्या ज्यादै कम रहेको बताउँछन् ।
‘हाम्रो तथ्यांक अनुसार इरानमा अहिले १२/१३ जना मात्रै नेपाली छन् । ती पनि भारत लगायत देशका दूतावासमा काम गरिरहेको भन्ने जानकारी छ,’ उनी भन्छन्, ‘विदेशी दूतावासमा अमेरिकी र इजरायली सेनाले आक्रमण नगर्ने भएकोले त्यहाँ नेपालीको सुरक्षामा ठुलो चिन्ता देखिँदैन ।’
तत्काल रोकियो नयाँ रोजगारी
युद्ध सुरु भएसँगै मध्यपूर्वका सबैजसो गन्तव्य मुलुकले हवाई सेवा बन्द गरेका छन् । यो अवस्थाले नेपालबाट जाने र नेपाल फर्किने श्रमिक तथा यात्रुहरू अलपत्र परेका छन् । खासगरी, भिसा लागेर नेपालबाट सम्बन्धित देशमा जाने तरखर गरेका यात्रु नेपालमै अलपत्र परेका छन् भने भ्रमण वा कामदार भिसा सकिएर नेपाल आउन लागेका नेपालीसमेत अलपत्र परेका छन् ।
राजदूत पौडेल अवस्था सामान्य नभएसम्म यातायात र आन्तरिक कारणले समेत ती देशमा नेपालीको माग हुने सम्भावना नरहेको बताउँछन् । युद्धको अवधि लम्बिँदै गएको अवस्थामा भने काम गरिरहेका नेपालीको रोजगारीमा समेत समस्या हुनसक्ने उनको भनाइ छ । यद्यपि युद्ध अन्त्यका प्रयास सुरु भइसकेकोले यसले छिट्टै समाधान दिनेमा आशावादी रहेको उनी बताउँछन् ।
युद्ध सुरु भएसँगै ओमान यसको समाधान थाल्नुपर्ने भन्दै कडा प्रतिक्रिया दिएको राजदूत पौडेल बताउँछन् । अरू देशहरू पनि युद्ध लामो अवधिसम्म लैजान नहुने पक्षमा रहेकोले यो अवस्था धेरै लामो अवधि नजाने उनको विश्वास छ ।

इरान आफैँमा मुस्लिम प्रधान मुलुक भएकोले मध्यपूर्वका अन्य देशका नागरिकहरूप्रति उसको सहमानुभूति छ । त्यही प्रकारको सहानुभुति इरानप्रति अरू देशको समेत रहेको राजदूत पौडेलको अनुभव छ । तर, अमेरिकी सुरक्षा नीतिलाई स्वीकार गर्ने कि नगर्ने भन्ने सम्बन्धमा उनीहरूबिच समस्या छ । यसले गर्दा पनि अहिलेको युद्ध नागरिक स्तरसम्मै पुग्ने अवस्था भने नरहेको उनी बताउँछन् ।
तेल र सुनको भाउ आकाशियो, अझै बढ्ने संकेत
मध्यपूर्वको तनावले अन्तर्राष्ट्रिय कमोडिटीको मूल्यमा भने ठुलो उछाल आउनसक्ने देखिएको छ । अहिले विश्वमा भइरहेको इन्धन आपूर्तिको २० प्रतिशत हिस्सा ओगट्ने सो क्षेत्रबाट आउने गरेको छ, जुन परिसन गल्फको बाटो हुँदै बाहिरिन्छ । यो क्षेत्र कतार र इरानको बिचबाट जान्छ । अहिलेको युद्धले एकातिर तेल उत्पादनमा असर पुगेको छ भने इरानले उक्त खाडीमा नियन्त्रण गरेको अवस्थामा तेलको आपूर्ति बन्द हुने देखिन्छ । यसले कच्चा तेलको मूल्यमा भारी वृद्धि गर्न सक्ने अवस्था औल्याइएको छ ।
शनिबारमात्रै अन्तर्राष्ट्रिय बजारमा क्रुड आयल (कच्चा तेल) को मूल्य २.८७ प्रतिशतले बढेको छ ।
उता सुन र चाँदीको मूल्यमा पनि उटाल आएको छ । आइतबार मात्रै पहेँलो धातु (सुन) को मूल्य १.९४ प्रतिशतले बढेको छ भने सेतो धातु (चाँदी) एकैदिन ७.५९ प्रतिशतले बढेको छ । आइतबार मात्रै नेपालमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला २४५ रुपैयाँले बढेको छ । यो मूल्य आगामी दिनमा थप बढ्दै जाने देखिएको छ ।
श्रम मन्त्रालयले सरोकारवालासँग थाल्यो छलफल
प्रमुख श्रम गन्तव्य रहेको मध्यपूर्वमा तनाव देखिएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरूसँग आवश्यक छलफल गरेको छ । मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी संघलगायत संस्थासँग छलफल गरेको छ ।
छलफलमा अहिले विदेश जान टिकट काटिसकेका र विमानस्थलसम्म पुगेका नेपालीको आवास तथा खानपिनका लागि व्यवस्था गर्न संघको समन्वयमा काम अघि बढाउने निर्णय गरिएको छ । मन्त्रालयले विभिन्न देशका मन्सुलर तथा श्रम सहचारीहरूसँग सम्बन्धित देशको अवस्था र कामदारको सुरक्षाबारे छलफल भएको श्रम मन्त्रालयका निर्देशक बसन्त कुमार बोहोराले जानकारी दिए ।
यो छलफलपछि श्रमिकको उद्धार तथा सम्बन्धित देशमै गर्नुपर्ने सहयोगबारे निर्णय हुने बोहोराले जानकारी दिए । खासगरी उद्धार आवश्यक भएका नेपालीका लागि डेडिकेटेड हटलाइन तथा सम्पर्क नम्बर उपलब्ध गराएर जानकारी प्राप्त गर्ने मन्त्रालयको तयारी छ ।
मन्त्रालयले दिल्ली विमानस्थलबाट सम्बन्धित देशमा उड्ने नेपालीको बारेमा समेत विमास्थल अध्यागमनसँग छलफल गरेको जनाएको छ । यद्यपि त्यहाँ नेपालीको संख्या खासै नरहेको पाइएको र यदि त्यस्तो अवस्था भएमा दूतावासले उनीहरूका लागि आवश्यक व्यवस्थापन गर्नेगरी तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
-
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
-
माछा मार्ने क्रममा फेवातालमा डुबेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण