काठमाडौँका ६, ७ र ८ क्षेत्रः विरासत जोगाउन रास्वपालाई सकस
काठमाडौँ । निर्वाचन आउन तीन दिन मात्र बाँकी छ । सबै राजनीतिक दलले निर्वाचन क्षेत्रमा चुनावी सभा र घरदैलोका कार्यक्रम सम्पन्न गरिसकेका छन् । मतदातासँग मत माग्ने काम पनि सकिएको छ । आगामी निर्वाचनमा देशभर पुराना राजनीतिक दलहरूको तुलनामा वैकल्पिक नयाँ राजनीतिक दलहरूको लहर देखिएको छ । तर पहिले जितेको स्थान सुरक्षित गर्न नयाँ भनिएका दललाई पनि सजिलो भने देखिदैन l
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये काठमाडौँको चार वटा क्षेत्र- २, ६, ७ र ८ तथा ललितपुरको क्षेत्र नम्बर ३ मा जित हासिल गरेको थियो । काठमाडौँ–२ मा रास्वपाबाट सोविता गौतम, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली र काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ तथा ललितपुर ३ मा डा. तोसिमा कार्की विजयी भएका थिए । रास्वपाले जितेका यी निर्वाचन क्षेत्रमा पुनः जित निकाल्न निकै कसरत गर्नु परिरहेको देखिन्छ ।
_vj4jzbkvMO.jpg)
रास्वपाले अघिल्लो पटक जितेका यी निर्वाचन क्षेत्रमा दोहोर्याएर कमै मात्र उम्मेदवारले जित निकालेका छन् । त्यसैले रातोपाटीले काठमाडौँका ६, ७ र ८ गरी तीन निर्वाचन क्षेत्रका मतदातामाझ पुगेर स्थलगत रिपोर्टिङ गरेको छ ।
काठमाडौँ–६ मा त्रिपक्षीय प्रतिस्पर्धा
रातोपाटीको टोली आइतबार साँझ ६ बजेतिर टोखा नगरपालिका–१० को लोकतान्त्रिक चोक पुग्यो । उक्त चोकमा १० जना युवा निर्वाचन केन्द्रित कुरा गरिरहेका थिए । उनीहरूको भनाइ थियो, ‘काठमाडौँ–६ मा सबै उम्मेदवार राम्रा छन् । त्रिपक्षीय भिडन्त हुनेछ । कसले बाजी मार्छ भन्ने यकिन छैन ।’
छलफलमा सहभागी एक जनाले यसपटक ६ नम्बर क्षेत्रमा एमालेले जित्ने बताए । उनले एमालेले राम्रो उम्मेदवार उठाएकाले जित्ने सम्भावना बलियो देखिएको उनको भनाइ थियो । तर त्यही बिचमा अर्को एक जनाले प्रायः सबै नयाँको पक्षमा भएकाले रास्वपाले जित्ने दाबी गरे । उनले भने, ‘रास्वपाको लहर छ । मेरो भोट पनि त्यही जाने हो । लहरले पनि जित्ने सम्भावना छ ।’
चोकमा भेटिएका प्रायः सबै जना फरक–फरक पार्टीमा भोट हाल्ने विचारका व्यक्ति थिए । त्यसैले पनि कसैले कांग्रेसले जित्ने दाबी गरिरहेका थिए । आफूले भोट हाल्ने पार्टीले जित्छ भनेर दाबी गर्नु स्वाभाविक भएको भन्दै त्यहाँ एकछिन हाँसोमजाक समेत चल्यो ।
_X6KOU48z1J.jpg)
त्यस्तै, टोखा नगरपालिका–८ लामाबगरकी ३५ वर्षीया सकुन्तला देवकोटाले यसपटक परिवर्तनको पक्षमा भोट हाल्ने बताइन् । उनले अहिले कसलाई भोट हाल्ने भन्ने यकिन नभए पनि नयाँलाई भोट दिने योजना बनाएको बताइन् ।
उनले भनिन्, ‘काठमाडौँ–६ मा सबै पार्टीका उम्मेदवार राम्रा छन् । त्यसैले कसलाई दिने भन्ने यकिन भएको छैन । रास्वपाले यसअघि पनि जितेको हो, शिशिर खनाल पनि राम्रो नै हुनुहुन्छ । एमालेका पनि राम्रा मान्छे छन् । २१ गते नै थाहा हुन्छ ।’ उनले जसले सडक र खानेपानीको समस्या समाधान गर्छ, उसैलाई भोट दिने योजना रहेको बताइन् । त्यस्तै, टोखा नगरपालिका–८ लामाबगरकै ३६ वर्षीया सीता जम्मरकटेलले पनि नयाँलाई भोट दिने योजना रहेको बताइन् । जम्मरकटेलले भनिन्, ‘परिवर्तनको पक्षलाई नै भोट दिने हो । सबैले नयाँ–नयाँ भन्छन्, नयाँले केही गर्छ कि भन्ने आशा छ । प्रायः सबै राम्रा उम्मेदवार छन् । २१ गते नै थाहा हुन्छ ।’
टोखा नगरपालिका–८ कै सुष्मा श्रेष्ठको भनाइ पनि उस्तै छ । उनले पनि यसपटक भोट परिवर्तन गर्ने योजना रहेको बताइन् । उनले भनिन्, ‘सबै पार्टीका उम्मेदवार भोट माग्न आउनुभएको छ । तर नयाँले केही गर्छन् भन्ने आशा छ । त्यसैले नयाँलाई भोट हाल्ने तयारी छ । पहिला रास्वपाले जितेको थियो, फेरि उसैलाई दिने कि भन्ने छ ।’
_5dkXMuXqzF.jpg)
टोखा–१० मनमैजुमा भेटिएका ५१ वर्षीय युवराज बस्नेत पहिलो पटक भोट हाल्न उत्साहित थिए । हामीले कुरा गर्न खोज्दा उनले उत्साहित हुँदै जीवनमा पहिलो पटक भोट हाल्न लागेको र नयाँलाई दिने धारणा राखे । उनले पुराना राजनीतिक दललाई धेरै हेरेकाले यसपटक नयाँले केही गर्ने आशा पलाएकाले त्यहाँ भोट हाल्ने बताए ।
उनले भने, ‘लामो समय विदेश बसेकाले भोट हाल्न पाएको थिइनँ । अब नेपालमा बस्ने गरी आएकाले भोट हाल्न लागेको हो । उत्साहित छु । मैले गरेको भोटले मुलुक परिवर्तन हुन्छ भन्ने अपेक्षा छ । सबै पार्टीका उम्मेदवार राम्रा छन्, तर राम्रामध्ये पनि अझ राम्रोलाई दिने सोच छ ।’ उनले यो क्षेत्रमा त्रिपक्षीय राम्रो प्रतिस्पर्धा हुने देखिएको बताए । बस्नेतले आफू कुनै पनि पार्टीको पक्षमा भन्दा पनि परिवर्तनको पक्षमा भोट दिने योजनामा रहेको बताए । ‘विगतमा जित्नेहरूले मुलुकमा केही गरेका भए अहिले नेपालीहरू विदेश जानुपर्ने अवस्था हुने थिएन,’ उनले भने ।
टोखा–१० का करिब ७७ वर्षीय कृष्णप्रसाद मिश्र भने चुनाव र नेता देखि दिक्क मान्नुभएको देखियो । उनी मुलुकमा रोजगारी नपाउँदा छोरा–छोरी विदेश जानुपरेको र आफू एक्लो भएको दुखेसो पोखे । ‘पुराना दल र नेताले नेपालभित्रै केही गरेको भए आज छोरा–छोरी स्वदेशमा हुने थिए । आज नेताहरूले देशभित्र केही नगर्दा अहिले आफ्ना सन्तान विदेशी भूमिमा जानुपरेको छ,’ उनले भने, ‘सबै पार्टी हेरियो । नयाँले पनि केही गर्दैनन् । पुराना पनि विगतमा नयाँ नै थिए । सबै पार्टी उस्तै हुन्, जसलाई भोट दिए पनि केही हुँदैन । देश जलाउनेहरू अहिले घण्टी बोकेर आएका छन् । उनीहरूले पनि केही गर्दैनन् ।’
_KcR8FWW8Ky.jpg)
काठमाडौँ–६ मा नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहार उम्मेदवार बनेका छन् । तर रास्वपा ले भने पूर्व निर्वाचितलाई दोहोर्याएको छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा विजयी शिशिर खनाल पुनः रास्वपाबाट उम्मेदवार बनेका छन् । उनी निवर्तमान सांसद हुन् । तर कांग्रेसले कृष्ण सुबज बानियाँ, एमालेका अमनकुमार मास्के र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धवराज भेटवाल तीनै जना नयाँ प्रतिस्पर्धी बनेका छन् । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का उम्मेदवार हिमाल शर्मा भने दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् । उनी २०७० सालमा यस क्षेत्रबाट उम्मेदवार बनेका थिए ।
दलका उम्मेदवार १५ र स्वतन्त्र ५ गरी यस क्षेत्रमा कूल २० जना चुनावी मैदानमा छन् । गत निर्वाचनमा प्राप्त गरेको मतका आधारमा रास्वपा यो क्षेत्रमा पहिलो शक्ति हो । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपाले पहिलो स्थानको मत पाएको थियो । रास्वपाका खनालले गत निर्वाचनमा १४ हजार २२१ मत ल्याई विजयी भएका थिए । एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ८ हजार ९१७ मत ल्याएका थिए । कांग्रेसका भीमसेनदास प्रधान तेस्रो हुँदै ८ हजार ८१२ मत पाएका थिए । समानुपातिकतर्फ रास्वपाले ११ हजार ९९६ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याएको थियो भने एमालेले ८ हजार १९ र कांग्रेसले ७ हजार ५७७ मत प्राप्त गरेको थियो ।
यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाका २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाका १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नम्बर वडा पर्दछन् ।
काठमाडौँ–७ पराजुलीलाई काठमाडौँ महानगरको १६ नम्बर वडाको भर
काठमाडौँ–७ का मतदाताका भनाइ मिश्रित पाइएका छन् । यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको सबैभन्दा ठुलो १६ नम्बर वडा यही पर्छ । यो वडामा भएको उपनिर्वाचनमा रास्वपाले जित निकालेको थियो । तर यो क्षेत्रका मतदाताहरूबाट फरक प्रतिक्रिया पाइएको छ । काठमाडौँ–१६, सितापाइलका ४५ वर्षीय रुपक आचार्यले यसपटक पनि परिवर्तनको पक्षमा भोट दिने बताए । उनले अघिल्लो प्रतिनिधि सभा र स्थानीय तहको उपनिर्वाचनमा रास्वपालाई भोट दिएकाले यसपटक पनि परिवारसहितको भोट त्यही दिने योजना रहेको बताए ।
_mIABEART39.jpg)
उनले भने, ‘पुराना पार्टीलाई लामो समय हेरेकाले नयाँलाई दिने हो । परिवर्तन ल्याउने, जोस र भिजन भएकाले नयाँ पार्टीलाई भोट दिने हो । यसपटक भोट परिवर्तन गर्ने हो ।’ विगतमा यस क्षेत्रमा हुन नसकेका काम पूरा गर्नका लागि पनि आशासहित रास्वपालाई भोट दिने उनको भनाइ थियो ।
त्यस्तै, काठमाडौँ–१६ का अर्का मतदाता राध्यसुन्दर श्रेष्ठले भने फरक धारणा राखे । उनले यसपटक एमालेलाई भोट दिने बताए । उनले राष्ट्र जोगाउन र समृद्ध नेपाल बनाउनका लागि सूर्यमा भोट हाल्ने योजना रहेको सुनाए ।
उनले भने, ‘देश चलाउने र देश बनाउनेहरूबिचको लडाइँ हो । देश बनाउनेलाई दिनुपर्छ । अघिल्लोपटक रास्वपाले जिते पनि केही काम भएन । जनताका समस्या जस्ताका तस्तै छन् । अब एमालेका प्रकाश श्रेष्ठलाई जिताउने हो । केही हुन्छ भन्ने आशा उहाँसँग छ ।’
काठमाडौँ–१६ बाट हामी नागार्जुन नगरपालिका–३ मा पुग्यौँ । त्यहाँको सानो चोकको चियापसलमा चुनावकै गफ चलेको थियो । हामी चियापसलमा पुग्यौँ । त्यहाँ चुनावका गफ गर्नेहरू प्रायः सबै भोट हाल्न बाहिर जिल्लामा जानेहरू रहेछन् । चियापसलमा धेरै कुरा थाहा हुने भएकाले चियापसलकी दिदीलाई सोध्यौँ, ‘काठमाडौँ–७ को माहोल कस्तो छ ?’ चियापसलकी दिदीको भनाइ थियो, ‘अहिले यो क्षेत्रमा घण्टीको खासै लहर देखिएको छैन । पहिला राम्रो थियो । तर अहिले घण्टीको भन्दा उज्यालो नेपाल पार्टीको बढी देखिएको छ ।’
_MsgQ0vGi1L.jpg)
चियापसलबाट केही पर पुगेका थियौँ । एक जना करिब ४० वर्षीय तिलक बहादुर खड्कालाई भेट्यौँ । उनीसँग चुनावी केही कुरा गर्न मिल्छ भनेर सोध्यौँ । उनले सिधै नेपाली कांग्रेसलाई भोट हाल्ने जवाफ दिए । हामीले ‘किन नेपाली कांग्रेसलाई ? अहिले लहर त रास्वपाको छ’ भनेर सोध्यौँ ।
उक्त विषयमा उनले भने, ‘काठमाडौँ–७ मा १२ वर्षपछि रूखमा भोट हाल्न पाएका छौँ । त्यसैले पनि बदलिएको कांग्रेसलाई भोट दिने हो । अघिल्लोपटक घण्टीले जितेर यस क्षेत्रमा केही गरेनन् । गफ मात्रै गरे ।’
त्यस्तै, नागार्जुन नगरपालिका–३ कै रामप्रसाद गुरागाईँको भनाइ पनि उस्तै थियो । रास्वपालाई जिताउँदा केही काम नभएकाले कांग्रेसलाई भोट दिने सोच बनाएको सुनाए । उनले पहिलेदेखि कांग्रेसलाई भोट दिँदै आएको भए पनि लामो समयदेखि दिन नपाएकाले अहिले काठमाडौँ–७ मा १२ वर्षपछि रूखमा भोट हाल्न पाएको बताए ।
उनले भने, ‘काठमाडौँ–७ मा यसपटक कांग्रेसलाई जिताउने हो । रास्वपाले जितेर केही काम गरेको देखिएन । सडक, खानेपानी र ढलका समस्या उस्तै छन् । सधैँ ठुला गफ गर्ने तर काम केही नगर्नेलाई भोट दिन्न ।’ उनले समयसापेक्ष कानुनहरू परिमार्जन गर्ने व्यक्तिलाई जिताएर पठाउने उनले बताए ।
त्यस्तै, काठमाडौँ–७, नागार्जुन नगरपालिका–३ मा पुग्यौँ । चोकमा बसेर केही युवाहरू निर्वाचन केन्द्रित गफ गरिरहेका भेटिए । त्यही गफमा हामी पनि मिसियौँ । उनीहरूका कुरा सुनेपछि सोध्यौँ, ‘यसपटक कसलाई भोट दिने सोचमा हुनुहुन्छ ?’
चुनावी गफमा सहभागी ३५ वर्षीय सन्तोष आलेमगरले काठमाडौँ–७ मा कांग्रेसलाई मत दिने बताए । उनले पहिलेदेखि कांग्रेसमा भोट दिँदै आएको भए पनि लामो समयदेखि दिन नपाएकाले अहिले कांग्रेसलाई भोट दिने सोचमा रहेको बताए । उनले भने, ‘काठमाडौँ–७ मा प्रमोद हरि गुरागाईंजस्ता अनुभवी, शिक्षित व्यक्ति उम्मेदवार छन् । अघिल्लोपटक रास्वपाले जिते पनि काम गरेनन् ।’ अहिले लहर नयाँको भने पनि यो क्षेत्रमा कांग्रेसले जित्ने दाबी उनको थियो । उनले लहरमा भन्दा पनि सोच विचार पुर्याएर योग्य उम्मेदवारलाई मत दिनुपर्ने आवश्यकता रहेको बताए ।
नागार्जुन–२ मा भेटिएका करिब ३६ वर्षीय शुक्र नगरकोटीको पनि यस्तै धारणा पाइयो । उनले पनि कांग्रेसलाई मत दिने बताए । उनले भने, ‘पुरानाले काम गरेनन् भन्छन् । तर नयाँले जिते पनि यस क्षेत्रमा काम गरेनन् । देश बदल्ने पनि कांग्रेसले नै हो ।’ उनले नयाँलाई भन्दा पनि विकास प्रेमी नेतालाई भोट दिनुपर्ने बताए ।
_vbkX9tSnbG.jpg)
काठमाडौँ–७ मा नेपाली कांग्रेसबाट प्रमोदहरि गुरागाईँ, एमालेबाट प्रकाश श्रेष्ठ, रास्वपाबाट गणेश पराजुली र नेपाली कम्युनिस्ट पार्टीबाट बसन्त मानन्धर उम्मेदवार छन् । रास्वपाका पराजुली दोस्रो जितका लागि चुनावी मैदानमा छन् । कांग्रेसले भने यो क्षेत्रमा नयाँ उम्मेदवार बनाएको छ । गुरागाईँ पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन् । एमालेका श्रेष्ठ र नेकपाका मानन्धर भने प्रदेश सभाबाट राजीनामा दिएर प्रतिस्पर्धामा आएका हुन् ।
काठमाडौँ–७ मा १७ दल र १० स्वतन्त्र गरी २७ उम्मेदवार छन् । प्रमुख शक्तिका रूपमा परिचित चार दलमा कांग्रेस र रास्वपाबाट गैर नेवार उम्मेदवार छन् भने एमाले र नेकपाबाट नेवार समुदायका उम्मेदवार छन् ।
रास्वपाका पराजुलीले अघिल्लो चुनावमा यस क्षेत्रमा जित हासिल गरेका थिए । २०७९ सालको निर्वाचनमा रास्वपाका उम्मेदवार पराजुलीले ८ हजार ७४३ मत प्राप्त गरेका थिए । पराजुलीसँग एमालेका उम्मेदवार श्यामकुमार घिमिरे पराजित भएका थिए । घिमिरेले ६ हजार ८०० मत प्राप्त गर्दा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराई ६ हजार ६३ मतसहित तेस्रो स्थानमा थिइन् । समानुपातिकतर्फ रास्वपाले १० हजार ५८८ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याएको थियो भने एमालेले ६ हजार २९९ र कांग्रेसले ५ हजार ४० मत पाएको थियो ।
यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाका १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाका १, २ र ३ र तारकेश्वर नगरपालिकाका ३, ४ र ५ नम्बर वडा पर्दछन् । यीमध्ये सर्वाधिक मतदाता काठमाडौँ महानगरपालिकाको वडा–१६ मा छन् । स्थानीय निर्वाचनमा कांग्रेसले जितेको १६ नम्बर वडामा वडा अध्यक्ष मुकुन्द रिजालको निधनपश्चातको उपनिर्वाचनमा रास्वपा विजयी भएको थियो ।
_muUFiugjNO.jpg)
काठमाडौँ–८ विराजभक्तलाई पनि चुनौती
आगामी निर्वाचनमा श्रेष्ठलाई चुनौती देखिएको छ । यस क्षेत्रमा एकदमै प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रका मतदाताको धारणा लिइएको छ । काठमाडौँ–८, नागार्जुन नगरपालिका–५, नागार्जुनमा पुगियो । करिब ५१ वर्षीय रामभक्त नेपाली मेसिन चलाउँदै थिए । हामीले सोध्यौँ, ‘बा नमस्कार छ, हजुरसँग कुरा गर्न मिल्छ ?’ उनले भने, ‘मिल्छ सर, भन्नुस् ।’
हामीले सोध्यौँ, ‘सिलाईबुनाईको काम कति भयो गर्नुभएको ?’ उनले भने, ‘लामो समय भयो बाबु, सानैदेखि अहिलेसम्म यही नै काम गरिरहेको छु ।’ उनलाई सोध्यौँ, ‘चुनाव नजिक आएको छ, भोट माग्न नेताहरू आए होला नि ?’ उनले भने, ‘के चुनाव लाग्नु, जसलाई भोट हाले पनि हाम्रो दुःख जस्ताको तस्तै छ ।’ उनले खानेपानीको समस्या रहेको र जो जिते पनि फर्केर नआउने बताए । उनले भने, ‘अघिल्लोपटक जितेर गएकाहरू अहिलेसम्म फर्किएनन् । विकास पनि केही भएन । अहिले पनि फेरि उठेका छन् भन्ने सुनेको छु । तर भोट दिन्न ।’
नयाँलाई पनि अघिल्लो निर्वाचनमा हेरेका थियौँ । तर आफूहरूका लागि नयाँले केही नगरेको उनी बताउँछन् । उनले घण्टीलाई भोट नहाल्ने बताउँदै राप्रपालाई भोट दिने तयारी रहेको बताए ।
त्यस्तै, नागार्जुन–५ मा भेटिएकी कोपिला नेपालीले पनि काम नगरेको गुनासो गरिन् । ‘कसैले पनि काम गर्दैनन्, जसलाई भोट हाले पनि केही हुने देखिन्न’ भन्ने उनको भनाइ थियो । उनले भनिन्, ‘खानेपानीको समस्या छ । सडकको पनि समस्या छ । यो समस्या कसैले पनि समाधान गरेनन् ।’
त्यस्तै, नागार्जुन नगरपालिका छेउमा भेटिएका सरोज खड्कीले भने नयाँलाई भन्दा पनि विकास र जनताको समस्या बुझ्ने नेतालाई भोट हाल्ने बताए । उनले रास्वपालाई अघिल्लोपटक नै भोट हालेकाले अहिले मत परिवर्तन गर्ने योजना रहेको सुनाए ।
_9J6oIopbwx.jpg)
उनले भने, ‘महँगी बढेको छ । त्यसको मारमा जनता छन् । तर नेतालाई भोट दिएर मात्रै केही भएन । सबै युवा विदेश जानुपर्ने अवस्था छ । नयाँलाई जिताउँदा पनि रोजगारीको सिर्जना अहिलेसम्म भएन ।’ खड्कीसँगै भेटिएका पूर्णबहादुर सुनुवारले पनि नयाँ र पुराना पार्टीसँग असन्तुष्टि व्यक्त गरे । उनले नयाँले पनि आफू मात्रै माथि उठ्ने काम गरेको बताए । उनले भने, ‘अघिल्लोपटक घण्टीलाई मत दिएका थियौँ । अहिले मत परिवर्तन गर्ने योजना छ । कसलाई दिने भन्ने यकिन गरेका छैनौँ । तर मत परिवर्तन गर्छौँ ।’
सुनुवारसँग कुरा गरेर केही तल आएपछि सडक पेटीमा घाम तापिरहेकी ८७ वर्षीया मैया केसीलाई भेट्यौँ । मैले भेटेर सोध्यौँ, ‘आमा चुनाव आएको छ, भोट हाल्नुहुन्छ ?’ आमाको जवाफ थियो, ‘हाल्ने बाबु, यसपटक घण्टीमा हाल्ने हो ।’ उनले भनिन्, ‘अघिल्लो निर्वाचनमा पनि घण्टीलाई भोट हालेको हो । अहिले पनि घण्टीमा हाल्ने हो । उम्मेदवार आएर भोट मागेका छन् । उहाँलाई नै दिने हो ।’
उनले ‘घण्टीका उम्मेदवार चिन्नुहुन्छ ?’ भन्ने प्रश्नमा आफूले नचिन्ने बताइन् । उनले आफ्नो छोराले चिनेको र बुढाबुढीलाई सहयोग गर्ने पार्टी घण्टी भनेको सुनाइन् ।
त्यस्तै, नागार्जुन–६ का मतदाता रामकाजी श्रेष्ठले पनि मैया आमाको जस्तै कुरा सुनाए । उनले पनि गत निर्वाचनमा घण्टीलाई भोट हालेकाले अहिले पनि उसैलाई मत दिने बताए ।
उनले भने, ‘घण्टीलाई भोट हाल्ने हो । यसपटक नयाँलाई दिने लहर छ । अघिल्लोपटक पनि उसैलाई दिएको हो । तर जनताका लागि नेताहरूले काम गर्ने गरेका छैनन् । उनीहरू चुनाव जितेपछि फर्किएर आउँदैनन् ।’
काठमाडौँ–८ मा यसपटकको निर्वाचनमा २०७९ का उम्मेदवारहरू आमनेसामने भएका छन् । अघिल्लो निर्वाचनमा रास्वपाका विराजभक्त श्रेष्ठ १० हजार ११२ मतका साथ विजयी भएका थिए । यसपटक पनि उनी रास्वपाबाट उम्मेदवार बनेका छन् । उनीसँग सुमन साय्मि तत्कालीन हाम्रो नेपाली पार्टीका उम्मेदवार थिए । उनले ६ हजार १७९ मत प्राप्त गरेका थिए । साय्मिले यसपटक दल बदलेर नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन् ।
_gPxd3eXDeB.jpg)
गत चुनावमा काठमाडौँ–८ बाट तत्कालीन एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ तेस्रो भएका थिए । उनले यो क्षेत्रबाट ४ हजार ८८१ मत ल्याएका थिए । यसपटक एकीकृत समाजवादी तत्कालीन माओवादी केन्द्रसँग एकता गरी नेपाली कम्युनिस्ट पार्टी बनेको छ । दुई पार्टी मिलेकाले अघिल्लो चुनावको मतका आधारमा नेकपाको मत बढी देखिन्छ । यस क्षेत्रमा श्रेष्ठ र सायमीबिच प्रतिस्पर्धा यसपटक पनि हुने देखिएको छ ।
कांग्रेसबाट सपना राजभण्डारी प्रतिस्पर्धामा छिन् । उनी दिवंगत नेता नवीन्द्रराज जोशीकी धर्मपत्नी हुन् । २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक सांसद बनेकी थिइन् । एमालेबाट क्षेत्र नम्बर ८ मा राजेश शाक्य उम्मेदवार बनेका छन् । उनी २०७४ मा बागमती प्रदेशसभाका सदस्य थिए । उनले २०७९ को प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकी राज्यलक्ष्मी श्रेष्ठलाई १ हजार ७७४ मतको अन्तरले हराएर विजयी भएका थिए । राप्रपाका नवीन शाही पनि यस क्षेत्रमा प्रतिस्पर्धामा छन् ।अघिल्लो चुनावमा यस क्षेत्रमा राप्रपाका प्रकाश रिमालले ४ हजार ३८८ मत प्राप्त गरेका थिए ।
यो क्षेत्रमा नेमकिपाकी बन्दना श्रेष्ठ, उज्यालो नेपाल पार्टीका राजन खड्गी लगायत २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । काठमाडौँ–८ मा ५७ हजार ८११ मतदाता छन्, जहाँ २३ मतदानस्थल र ६५ वटा मतदान केन्द्र छन् ।
_X2qWhB7bzr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण