देवघाटमा देखियो घडियाल गोही
चितवन । गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ । केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो । मलामी जाने क्रममा स्थानीय उपेन्द्र पण्डितले देवघाटको गैँडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल गोही देखेपछि पत्रकार रमेशकुमार पौडेललाई जानकारी दिए । मलामी गएका धेरैले गोही देखेका उनको भनाइ छ ।
पत्रकार पौडेलले केहीदिन अघि स्थानीय बोटेले नदी बगरमा गोही देखेको बताए । “चितवन राष्ट्रिय निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत स्वर्गीय वेदबहादुर खड्काले निकुञ्जमा कार्यरत रहँदा देवघाट नजिकको नारायणी र कालीगण्डकी किनार घडियाल गोहीका लागि उपयुक्त बासस्थान रहेको बताएका थिए । प्रदुषण बढ्दै गएपछि यो क्षेत्रमा घडियाल गोही देख्न छाडिएको उनले बताउँथे”, उनले भने ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनास थापा मगरले घडियाल गोही बगेको सफा पानीमा बस्ने, माछा खाने प्राणीका रूपमा रहेको बताए । नदी र खोलामा भएको प्रदूषण, मानवीय अतिक्रमण र माछाको कमीले घडियाल हराउँदै गएका उनको बुझाइ छ ।
स्थानीय बोटे समुदायका अनुसार देवघाट र वरपरको क्षेत्रमा करिब ३५ वर्षयतादेखि घडियाल गोही देखिन छोडेको थियो । निकुञ्जका सूचना अधिकारी मगरले भने, “यहाँका ज्येष्ठ नागरिकका भनाइअनुसार झण्डै ३५ वर्षयतादेखि देवघाट क्षेत्रमा घडियाल देखिएको थिएन । अहिले देखिएको गोही यहाँको रैथाने हो वा अन्यत्रबाट आएको हो अध्ययन गर्नुपर्ने छ ।”
घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा प्रजनन केन्द्र रहेको छ । जहाँ राप्ती र नारायणी नदी किनारमा जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरी यहाँ ल्याएर बच्चा हुर्काउने गरिन्छ । हुर्किएका बच्चालाई पुनः नदीहरूमा छाड्ने गरिएको छ । विगतमा कालीगण्डकीमा समेत हुर्किएका घडियाल गोही छाडिँदै आउने भए पनि संरक्षण हुन नसकेपछि निकुञ्ज आसपासका राप्ती र नारायणी नदीमा मात्रै छोड्ने गरिएको थापा मगरले बताए ।
पछिल्लो पटक गत पुसमा सार्वजनिक भएको गणना अनुसार राप्तीमा २३१ र नारायणीमा १३५ घडियाल गोही फेला परेका छन् । देवघाट क्षेत्रमा गोही नदेखिने भएकाले पछिल्ला वर्षहरूमा गणना हुन छाडेको मगरले बताए । देवघाटमा गोही देखिनुलाई महत्वका साथ हेरिएको भन्दै उनले यसबारे थप अध्ययन गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण