आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...

आइतबार, २१ असार २०८३, १२ : ३७
आइतबार, २१ असार २०८३

सारांश

  • मेक्सिकोको टेनान्सिङो नगरकी मेयर न्यान्सी नेपोल्समाथि नगरपालिकाको करोडौँ पेसो हिनामिना लुकाउन आफ्नै अपहरणको नाटक रचाएको आरोप लागेको छ ।
  • प्रहरी अनुसन्धानमा मेयरका श्रीमान् र भाइले अपहरणकारीहरूसँग मिलेर योजना बनाएको र नगरपालिकाको कोषबाट ४ करोड पेसो फिरौतीको नाममा हिनामिना लुकाउने प्रयास गरेको प्रारम्भिक प्रमाण फेला परेको छ ।
  • मेयर न्यान्सी नेपोल्सले भने आफूमाथिका सबै आरोप अस्वीकार गर्दै यो राजनीतिक षड्यन्त्र भएको दाबी गरेकी छिन् ।

मेक्सिको सिटी । मेक्सिकोको टेनान्सिङो नगरकी मेयर न्यान्सी नेपोल्समाथि नगरपालिकाको करोडौँ पेसो हिनामिना लुकाउन आफ्नै अपहरणको नाटक रचाएको आरोप लागेको छ । गत मे ३१ मा न्यान्सी नापोलेस र उनकी दिदीबहिनी मेयरको घरअगाडि अपहरणमा परेको खबर सार्वजनिक भएको थियो । 

प्रत्यक्षदर्शीका अनुसार तीन जना हतियारधारी व्यक्तिले नापोलेसलाई घरतर्फ जाँदै गर्दा जबर्जस्ती गाडीमा हालेर लगेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो ।

केही समयपछि नापोलेस सुनसान सडकमा फेला परेकी थिइन्। उनले बाटोमा हिँडिरहेका मानिसलाई आफ्ना श्रीमान्लाई फोन गर्न आग्रह गरेपछि उनको उद्धार भएको थियो । तर घटनाको अनुसन्धान अघि बढ्दै जाँदा यो प्रकरणले राष्ट्रिय स्तरको राजनीतिक विवादको रूप लियो । अनुसन्धानका क्रममा प्रहरीले अपहरणमा संलग्न भनिएका व्यक्तिहरूलाई पक्राउ गरी सोधपुछ गर्दा मेयरको बयानसँग नमिल्ने धेरै तथ्य फेला परेको जनाएको छ ।

नापोलेसले सुरुमा अपहरणकारीहरूले आफू र आफ्नो परिवारलाई मार्ने धम्की दिएको तथा रिहाइका लागि ४ करोड मेक्सिकी पेसो फिरौती मागेको दाबी गरेकी थिइन् । उनका अनुसार अपहरणकारीहरूले पैसा नभए नगरपालिकाको कोषबाट व्यवस्था गर्न सुझाव दिएका थिए। उनले अपहरणकारीहरूको लापरवाहीको मौका छोपेर भाग्न सफल भएको पनि बताएकी थिइन् ।

तर अनुसन्धानकर्ताका अनुसार मेयरका श्रीमान् र उनका भाइले नै अपहरणकारीहरूसँग सम्पर्क गरी अपहरणको नाटक गराउन पैसा दिएको प्रारम्भिक प्रमाण फेला परेको छ । अभियोजन पक्षको दाबीअनुसार नगरपालिकाको कोषबाट ४ करोड पेसो फिरौतीका नाममा निकालेर कथित हिनामिनाको रकम छोप्ने योजना बनाइएको थियो । 

प्रहरीका अनुसार मेयरका श्रीमान् र भाइले अपहरणअघि करिब १५० पटक अपहरणकारीहरूसँग फोन सम्पर्क गरेका थिए । अनुसन्धानमा एउटा फोन संवादमा नापोलेसका श्रीमान्ले अपहरणको योजना सफल बनाउन करिब २८ हजार अमेरिकी डलर दिने प्रस्ताव गरेको आरोप पनि समावेश छ ।

हाल मेयरका श्रीमान् र भाइ फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । न्यान्सी नापोलेसले आफूमाथिका सबै आरोप अस्वीकार गरेकी छिन् । उनले यो आफ्नो राजनीतिक जीवन समाप्त पार्न रचिएको षड्यन्त्र भएको दाबी गर्दै नगरपालिकाको आर्थिक अवस्था सुदृढ रहेको बताएकी छिन् । 

यस मुद्दामा बयान दिन उनलाई जुलाई ९ मा बोलाइएको थियो । तर अहिलेसम्म पनि उनीविरुद्ध औपचारिक अभियोग दर्ता गरिएको छैन । अदालतले दोषी ठहर गरेमा नापोलेस र उनका सहयोगीहरूलाई अधिकतम १६ वर्षसम्म कैद सजाय हुन सक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप