आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सिराहामा पक्राउ परेका जसपा उम्मेदवार यादवसहित ५ जना रिहा

बुधबार, २० फागुन २०८२, १४ : ५३
बुधबार, २० फागुन २०८२

सारांश

  • सिराहा-३ का जसपा उम्मेदवार अशेश्वर यादवलाई मौन अवधिमा रकमसहित पक्राउ परेकोले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
  • निर्वाचन अधिकृतको कार्यालयले बरामद रकम र गाडीसहितका सामाग्री तत्कालका लागि सिज गरेको छ, अनुसन्धान जारी छ।
  • प्रहरीले ४ लाख ८७ हजार रुपैयाँसहित यादव र अन्य चार जनालाई नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो।

सिराहा । प्रतिनिधिसभा निर्वाचनका मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल (जसपा) सिराहा– ३ का उम्मेदवार अशेश्वर यादवसहित ५ जनालाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।

निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत रकमसहित पक्राउ परेका यादवलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्वाचन अधिकृतको कार्यालय सिराहाले निर्देशन दिएको हो । सिराहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले सम्पूर्ण कागजातहरूको अध्ययन पश्चात ३ दिनभित्र स्पष्टीकरण बुझाउने समय सीमा दिइएको बताए ।  

उनले भने– ‘हामीले सम्पूर्ण कागजातहरू अध्ययन गर्‍यौँ, तत्काललाई ३ दिनभित्र स्पष्टीकरण बुझाउने मौका दिएका छौँ। उहाँहरूले बुझाएको स्पष्टीकरण र प्रमाणहरूको आधारमा थप प्रक्रिया अगाडी  बढ्छ।’ 

उनले पक्राउ परेका ५ जनालाई तत्काल छोडिएको जानकारी दिए । बरामद रकम र गाडीसहितका सामाग्री तत्काललाई सिज गरिएको उप्रेतीले जानकारी दिए । उनले अहिले अनुसन्धान जारी रहेको र निर्वाचन कानुनअनुसार कारबाही हुने समेत बताए । 

प्रहरीले गएराति मौन अवधिका बेला नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित यादवलाई नियन्त्रणमा लिएको थियो । माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र.२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीमा संयुक्त चेकजाँच गर्ने क्रममा उक्त रकमसहित यादव नेतृत्वको समूह पक्राउ परेको थियो । 

यादवसहित विष्णुपुर ५ लक्ष्मीपुरका ३२ वर्षीय श्यामकुमार यादव, ३५ वर्षीय रामप्रवेश यादव, ४० वर्षीय बप्रेन्द्रकुमार यादव  र सवारी चालक नरहा ३ का २८ को जितेन्द्रकुमार महतो पनि पक्राउ परेका थिए । 

मौन अवधिमा आर्थिक लेनदेन गर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३० को उपदफा (१) र (२) बमोजिम जरिवाना गर्न सक्ने आचारसंहितामा उल्लेख छ।

आचार संहितामा  ६ महिनासम्म जरिवाना नबुझाउने उम्मेदवारलाई आयोगले तत्काल लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने व्यवस्था समेत रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप