सुदूरपश्चिममा अघिल्लो निर्वाचनमा गठबन्धन गरेर ८ सिट जितेको कांग्रेस यस पटक ३ सिटमा खुम्चियो
सारांश
- सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले १६ मध्ये जम्मा ३ सिटमा मात्र जित हासिल गर्यो।
- अघिल्लो निर्वाचनमा ८ सिट जितेको कांग्रेस यसपटक बाजुरा, डोटी र अछाममा मात्रै विजयी भयो।
- कैलाली र कञ्चनपुरका कांग्रेसका उम्मेदवारहरू पराजित भए, जसले पार्टीको कमजोर नतिजा देखायो।
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले कमजोर नतिजा ल्याएको छ।
प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये कांग्रेस जम्मा ३ वटा सिटमा मात्र विजयी हुन भएको छ ।
बाँकी १३ वटा क्षेत्रमा कांग्रेसका उम्मेदवारहरू पराजित भएका छन् । अघिल्लो निर्वाचनमा गठबन्धन गरेर ८ सिट जितेको कांग्रेस यस पटक ३ सिटमा खुम्चिन पुगेको हो ।
अन्तिम मतपरिणामको नतिजाअनुसार कांग्रेसले बाजुरा, डोटी र अछाम क्षेत्र नम्बर १ मा मात्र जित हासिल गरेको छ ।
बाजुरामा कांग्रेसका जनकराज गिरी १७ हजार १ सय ७३ मत ल्याएर विजयी भएका छन् भने डोटीमा भरतबहादुर खड्काले १४ हजार ८ सय ९७ मतसहित जित निकालेका छन् ।
त्यस्तै, अछाम क्षेत्र नम्बर १ मा भरतबहादुर स्वाँर १० हजार ७ सय ५९ मत प्राप्त गर्दै निर्वाचित भए ।
कैलालीका पाँचवटै क्षेत्रमा कांग्रेस पराजित भयो । यी क्षेत्र कांग्रेसका बलियो क्षेत्र मानिने गर्थे । चुनावमा पराजितहुनेहरूमा कैलाली–१ मा जनकराज चौधरी रहेका छन् । उनले १२ हजार ८६७ मत ल्याएका छन् । क्षेत्र नम्बर २ मा विजयबहादुर स्वाँर हरेका छन् । उनले ७ हजार २१३ मत ल्याए ।
क्षेत्र नम्बर ३ मा भीम बडुवालले ९ हजार ७०६ मत ल्याउँदा ४ मा गोरखबहादुर विष्टले ११ हजार ३ सय १ र ५ मा नरनारायण शाहले ११ हजार ९ सय ५८ मत प्राप्त गरे ।
कञ्चनपुरमा पनि कांग्रेसको अवस्था उस्तै रह्यो । कञ्चनपुर–१ मा गोपीप्रसाद उपाध्याय ८ हजार ४ सय ६७ मतमा सीमित भए भने क्षेत्र नम्बर २ मा एनपी साउद १० हजार ८ सय २७ मत ल्याउँदै पराजित भए । कञ्चनपुर–३ मा हरिप्रसाद बोहराले ९ हजार ४ सय ४३ मत मात्र पाए । उता डडेल्धुरामा नैनसिंह महर १२ हजार १२१ मत ल्याएर पराजित हुँदा बैतडीमा चतुरबहादुर चन्द १८ हजार १ सय ९४ मत ल्याएर पनि जित्न सकेनन् । बझाङमा प्रकाश रसाइली स्नेही १६ हजार ३ सय ४ मत र अछाम–२ मा पुष्पबहादुर शाह ९ हजार ४६ मतमा चित्त बुझाउन बाध्य भए ।
अघिल्लो पटक २०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गर्दा कांग्रेस सुदूरपश्चिममा बलियो देखिएको थियो । त्यसबेला दार्चुलामा दिलेन्द्रप्रसाद बडु, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाम–२ मा पुष्पबहादुर शाह, कैलाली–४ मा वीरबहादुर बलायर र कैलाली–५ मा डिल्लीराज पन्त विजयी भएका थिए । साथै कञ्चनपुर–२ मा एनपी साउद, कञ्चनपुर–३ मा रमेश लेखक र डडेल्धुरामा शेरबहादुर देउवा गरी कुल ८ सिटमा कांग्रेसले जित हासिल गरेको थियो । यस पटक भने पुरानो विरासत जोगाउन नसक्दा कांग्रेस ३ सिटमा खुम्चिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण