०४८ देखि महर्जन र शाक्यबाहेकले नजितेको क्षेत्रमा खरेलको ‘रेकर्ड ब्रेक’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ललितपुर-२ मा जित हासिल गरेका छन्।
- खरेलले ३९ हजार ४९१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत मात्रै ल्याए।
- ललितपुर-२ मा २०४८ सालदेखि ०७९ सम्म भएका ७ निर्वाचनमा एउटै जाती र दुई थरका मात्रै निर्वाचित र प्रमुख प्रतिद्वन्द्वी हुँदै आएकोमा यो पटक खरेलले रेकर्ड तोडेका छन्।
काठमाडौँ । ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन् । सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका खरेलले मन्त्री पदबाट राजीनामा दिएर रास्वपा प्रवेश गर्दै ललितपुर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकट लिएका थिए ।
खरेलले ३९ हजार ४९१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत मात्रै ल्याए ।
खरेल यो क्षेत्रमा निर्वाचित भएसँगै एउटा ‘रेकर्ड ब्रेक’ भएको छ । ललितपुर–२ मा २०४८ सालदेखि ०७९ सम्म भएका ७ निर्वाचनमा एउटै जाती र दुई थरका मात्रै निर्वाचित र प्रमुख प्रतिद्वन्द्वी हुँदै आएका थिए । ०४८ देखि ०७९ सम्मका निर्वाचनमा महर्जन र शाक्य बाहेकका उम्मेदवार निर्वाचित र निकटतम प्रतिद्वन्द्वीसमेत भएका थिएनन् । तर, अहिले खरेलले त्यो रेकर्ड तोकेका हुन् ।
यसअघि ०४८ देखिका भएका ७ निर्वाचनमध्ये ५ निर्वाचन नेकपा एमाले तथा नेपाली कांग्रेस र माओवादीले एक/एक निर्वाचन जितेका थिए ।
०४८ सालको निर्वाचनमा एमाले उम्मेदवार सिद्धिलाल सिंह महर्जन निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार मार्शलजुलुम शाक्य बनेका थिए ।
०५१ मा एमालेकै उम्मेदवार सिद्धिलालले जित्दा कांग्रेस उम्मेदवार चन्द्र महर्जन निकटतम प्रतिद्वन्द्वी बने । निर्वाचन आयोगको रेकर्ड अनुसार ०५६ सालको निर्वाचनमा एमालेकै उम्मेदवार कृष्णलाल महर्जनले निर्वाचन जित्दा कांग्रेस उम्मेदवार जगतराम शाक्य निकटतम प्रतिद्वन्द्वी बने ।
०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने यो क्षेत्र एमालेको पन्जाबाट उम्कियो । तत्कालीन माओवादी उम्मेदवार राजकाजी महर्जनले निर्वाचन जित्दा कांग्रेस उम्मेदवार चन्द्र महर्जन निकटतम प्रतिद्वन्द्वी भए । एमाले तेस्रो भयो ।
०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले ०४८ पछि पहिलो पटक खाता खोल्यो । कांग्रेस उम्मेदवार चन्द्र महर्जनले तेस्रो पटकमा जित निकाल्दा माओवादीका उम्मेदवार सरोज सिंह निकटतम प्रतिद्वन्द्वी भए ।
०७४ को निर्वाचनमा ०६४ र ०७० को हार बिर्साउँदै एमालेले आफ्नो जित फर्कायो । एमाले उम्मेदवार कृष्णलाल महर्जनले दोस्रो पटक जित निकाल्दा कांग्रेस उम्मेदवार चन्द्र महर्जन निकटतम प्रतिद्वन्द्वी भए ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेकै उम्मेदवार प्रेमबहादुर महर्जन निर्वाचित हुँदा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिन शाक्य निकटतम प्रतिद्वन्द्वी भए ।
यही क्षेत्रका बासिन्दा कांग्रेसका नेता तथा बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार ललितपुर–२ बाट ०७९ सम्मका निर्वाचनमा निर्वाचित हुने र निकटतम प्रतिद्वन्द्वी हुने शाक्य र महर्जनभन्दा बाहेकका नभएको निर्वाचनअघि रातोपाटीलाई बताएका थिए । ‘यहाँ प्रतिनिधिसभा निर्वाचनमा ०४८ पछि नेवार जाती भित्रका शाक्य र महर्जनबाहेकले निर्वाचन जितेको र निकटतम प्रतिद्वन्द्वी हुन सकेको इतिहास देखिन्न,’ चित्रकारले रातोपाटीसँग भनेका थिए, ‘जुन पार्टीका उम्मेदवार भए पनि शाक्य र महर्जनले जितेका थिए । निकटतम् प्रतिद्वन्द्वी भएका थिए ।’
यो क्षेत्रभित्र महालक्ष्मी नगरपालिका र ललितपुर महानगरका ६, ९, ११, १२, १६, १७ र १९ वडा पर्दछन् । त्यहाँ नेवार समुदाय र शाक्य महर्जनको बाहुल्यता बढी रहेको स्थानीयहरू बताउँछन् ।
फागुन २१ गते भएको प्रतिनिधिसभामा त्यही विषयलाई मध्यनजर गर्दै कांग्रेस र एमालेले महर्जनलाई टिकट दिएका थिए । एमालेले ०७९ मा प्रतिनिधिसभा सदस्य जितेका प्रेमबहादुर महर्जनलाई उम्मेदवार बनाएको थियो भने कांग्रेसले प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको थियो ।
तर, यो निर्वाचनमा खरेलले इतिहासमा ब्रेक गर्दै नयाँ रेकर्ड कायम गरे । ललितपुर–२ मा ७ स्वतन्त्रसहित २३ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण