ललितपुर–२ : ०४८ देखि महर्जन र शाक्यबाहेकले नजितेको क्षेत्र
काठमाडौँ । ललितपुरको क्षेत्र नम्बर २ मा २०४८ सालदेखि अहिलेसम्म सम्पन्न भएका ७ निर्वाचनमध्ये ५ निर्वाचन नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेस र माओवादीले एक/एक निर्वाचन जितेका छन् ।
निर्वाचनमा पार्टी परिवर्तन भए पनि जित्ने उम्मेदवार भने एउटै जाती र दुई थरका मात्रै छन् । यहाँ ०४८ देखि अहिलेसम्म महर्जन र शाक्य बाहेकका उम्मेदवार निर्वाचित र निकटतम प्रतिद्वन्द्वी भएका छैनन् ।
०४८ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सिद्धिलाल सिंह महर्जन निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मार्शलजुलुम शाक्य बनेका थिए ।
०५१ मा एमालेकै उम्मेदवार सिद्धिलालले जित्दा कांग्रेस उम्मेदवार चन्द्र महर्जन निकटतम प्रतिद्वन्द्वी बने । निर्वाचन आयोगको रेकर्ड अनुसार ०५६ सालको निर्वाचनमा पनि एमालेकै उम्मेदवार कृष्णलाल महर्जनले निर्वाचन जित्दा कांग्रेस उम्मेदवार जगतराम शाक्य निकटतम प्रतिद्वन्द्वी बने ।
०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने यो क्षेत्र एमालेको पञ्जाबाट उम्कियो । तत्कालिन नेकपा माओवादीका उम्मेदवार राजकाजी महर्जनले निर्वाचन जित्दा कांग्रेस उम्मेदवार चन्द्र महर्जन निकटतम प्रतिद्वन्द्वी भए । एमाले तेस्रो भयो ।
०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले ०४८ पछि पहिलो पटक खाता खोल्यो । कांग्रेस उम्मेदवार चन्द्र महर्जनले तेस्रो पटकमा जित निकाल्दा माओवादीका उम्मेदवार सरोज सिंह निकटतम प्रतिद्वन्द्वी भए ।
०७४ को निर्वाचनमा ०६४ र ०७० को हार बिर्साउँदै एमालेले आफ्नो जित फर्कायो । एमाले उम्मेदवार कृष्णलाल महर्जनले दोस्रो पटक जित निकाल्दा कांग्रेस उम्मेदवार चन्द्र महर्जन निकटतम प्रतिद्वन्द्वी भए ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि एमालकै उम्मेदवार प्रेमबहादुर महर्जन निर्वाचित हुँदा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिन शाक्य निकटतम प्रतिद्वन्द्वी भए ।
यही क्षेत्रका बासिन्दा नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार ललितपुर–२ बाट अहिलेसम्म निर्वाचित हुने र निकटतम प्रतिद्वन्द्वी हुने शाक्य र महर्जनभन्दा बाहेकका नभएको बताउँछन् ।
‘यहाँ प्रतिनिधिसभा निर्वाचनमा ०४८ पछि नेवार जाती भित्रका शाक्य र महर्जनबाहेकले निर्वाचन जितेको र निकटतम प्रतिद्वन्द्वी हुन सकेको इतिहास देखिन्न,’ चित्रकारले रातोपाटीसँग भने, ‘जुन पार्टीका उम्मेदवार भए पनि शाक्य र महर्जनले जितेका छन् । उनीहरू नै निकटम् प्रतिद्वन्द्वी भएका छन् ।’
०७९ को निर्वाचनमा एमाले उम्मेदवार महर्जनले १५ हजार २५ मत ल्याएर जित्दा हाम्रो नेपाली पार्टीका शाक्यले ८ हजार ८ सय ८६ मत ल्याए ।
यो क्षेत्रभित्र महालक्ष्मी नगरपालिका र ललितपुर महानगरका ६, ९, ११, १२, १६, १७ र १९ वडा पर्दछन् ।
निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार यो क्षेत्रमा ८९ हजार ८२ मतदाता छन् । त्यसमध्ये पुरुष मतदाता ४३ हजार २९८ र महिला मतदाता ४५ हजार ७८४ रहेको पनि निर्वाचन अधिकृत पुडासैनीले रातोपाटीलाई जानकारी दिइन् । जातीय आधारमा भने निर्वाचन कार्यालयले मतदाता नछुट्ट्याएको उनले जानकारी दिइन् ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट जातिगत रूपमा ध्यान दिँदै कांग्रेस र एमालेले महर्जनलाई टिकट दिएका छन् । एमालेले गत निर्वाचन जितेका महर्जनलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले राजेन्द्र अमात्यलाई उम्मेदवार बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले जगदीश खरेललाई मैदानमा उतारेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम मन्त्रिपरिषद्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका खरेलले मन्त्री पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै ललितपुर–२ को टिकट लिएका थिए ।
ललितपुर–२ मा ७ स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा रहेको पुडासैनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण