हिजो ‘मधेसविरोधी’ भन्ने, आज बालेनकै शरणमा ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाहलाई प्रधानमन्त्रीमा समर्थन गर्ने मोर्चाको निर्णयले मधेसको राजनीतिमा तरंग ल्यायो।
- मोर्चाले बालेनलाई 'मधेसी सपुत' भन्दै बधाई दिएपछि जसपाका नेताहरूले आलोचना गरे, जसले हारको समीक्षा नगरी समर्थन गरेको आरोप लगाए।
- जसपा नेताहरूले बालेनलाई समर्थन गर्नुलाई 'राजनीतिक लाचारी' र 'अस्तित्व जोगाउने प्रयास' को रूपमा टिप्पणी गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीका रूपमा समर्थन गर्ने सङ्घीय लोकतान्त्रिक मोर्चाको निर्णयले तराई–मधेसको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न गरेको छ ।
मधेसकेन्द्रित दलहरूको यस मोर्चाले बालेनलाई ‘मधेसी सपुत’ भन्दै शुभकामना, बधाई र समर्थन दिएपछि मोर्चाकै प्रभावशाली घटक जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले त्यसको तीव्र आलोचना र विरोध गरेका छन् ।
जसपा नेपालका वरिष्ठ नेता महन्थ ठाकुरको अध्यक्षतामा बसेको मोर्चाको बैठकले बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा हेर्न पाउनु मधेसी, थारु र आदिवासी जनजातिका लागि हर्षको विषय भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । तर, भर्खरै सम्पन्न निर्वाचनमा हार बेहोरेका मधेसवादी दलहरूले आफ्नो हारको समीक्षा गर्नुको साटो बालेनको समर्थनमा लाग्नुलाई धेरैले ‘राजनीतिक लाचारी’का रूपमा टिप्पणी गरेका छन् ।
जसपा नेपालका नेता डा. सुरेन्द्रकुमार झाले सामाजिक सञ्जालमार्फत मोर्चाको निर्णयमाथि प्रहार गरेका छन् । निर्वाचनमा छुट्टाछुट्टै लड्ने र अधिकांश अध्यक्षहरूकै जमानतसमेत जफत भएको अवस्थामा हारको समीक्षा नगरी बालेनको नाम जप्नु अपराधबाट भाग्ने बाटो मात्र भएको उनको तर्क छ ।
डा. झाले भनेका छन्, ‘बालेन मधेसी होइनन् भन्दै घाँटीको नसा फुट्ने गरी चिच्याउनेहरूले आज कुन मुखले उनलाई मधेसी सपुत भनेका होलान् ? घर जलाई खरानी बनाएर शुभकामना र बधाईको निकृष्ट खेल खेल्नु आश्चर्यजनक छ ।’ उनले ६५ वर्षमाथिका नेताहरूलाई विश्राम लिएर नातिनातिनासँग समय बिताउनसमेत सुझाव दिएका छन् ।
सोही पार्टीका अर्का नेता शैलेन्द्र साहले सङ्घीय लोकतान्त्रिक मोर्चालाई जनताको आन्दोलनको मञ्च नभई नेताहरूको स्वार्थ मिलाउने ‘क्लब’को संज्ञा दिएका छन् । चुनावमा कुनै सहकार्य र साझा कार्यक्रम नभएको मोर्चाले केवल फोटो खिच्ने र विज्ञप्ति निकाल्ने काम मात्र गरेको भन्दै उनले यस्तो मोर्चाको औचित्य समाप्त भइसकेको र यसलाई विघटन गर्नु नै श्रेयस्कर हुने बताए ।
जसपा नेता पूर्ण बस्नेतले बालेन शाहले मेयर हुँदा महानगरमा कवाडी व्यवसायी र सुकुम्बासी बस्तीमा डोजर चलाउँदा विरोध गर्ने तिनै मधेसवादी दलहरू आज बालेनको शरणमा पुगेको टिप्पणी गरे । निर्वाचनको शर्मनाक हारको समीक्षा गर्नुको साटो नेतृत्वले अनैतिक चरित्र प्रदर्शन गरेको उनको भनाइ छ । बस्नेतले भने, ‘हारको नैतिक जिम्मेवारीसमेत नलिने बेइमान नेतृत्वले अबको राजनीति थेग्न सक्दैन ।’
त्यस्तै, जसपा नेपालकी नेतृ डा. बबी सिंहले मोर्चा केवल बैठक बस्नका लागि मात्र बनाइएको संरचना भएको भन्दै आलोचना गरेकी छन् । मोर्चा बनेपछि पनि एकअर्कासँग चुनावमा लड्ने र साझा रणनीति बनाउन असफल हुने नेतृत्वले औपचारिकताका लागि मात्र बैठक बस्नुको कुनै अर्थ नरहेको उनले बताइन् ।
विगतमा बालेन शाहलाई ‘मधेसविरोधी’ र ‘गैरमधेसी’ भन्दै आलोचना गर्ने मधेसी नेताहरूले अहिले आएर उनलाई नै प्रधानमन्त्रीका रूपमा समर्थन गर्नुले मधेसको राजनीतिमा ठुलो वैचारिक विचलन आएको राजनीतिक विश्लेषकहरू बताउँछन् । आफ्नै गढमा पराजित भएपछि अस्तित्व जोगाउन बालेनको ‘लोकप्रियता’को सहारा लिन खोजेको भन्दै मोर्चाभित्रै पनि नेतृत्वको आलोचना सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण