बागलुङबाट पाँच जना सांसद बन्दा 'अनलक्की' भए प्रकाश
सारांश
- बागलुङबाट यसपटक संघीय संसदमा ५ जनाले प्रतिनिधित्व गर्दैछन्, जुन पहिले कहिल्यै भएको थिएन।
- प्रत्यक्षतर्फ २ र समानुपातिक प्रणालीबाट ३ जना सांसद निर्वाचित भएका छन्, जसमा रास्वपा र नेकपाका नेताहरु छन्।
- समानुपातिक सूचीमा परेका प्रकाश विक (प्रकाश सपुत) भने सांसद बन्नबाट वञ्चित भए।
बागलुङ । यसपटक संघीय संसद्मा बागलुङबाट पाँच जनाले प्रतिनिधित्व गर्दै छन् । बागलुङले एकै पटक यति धेरै सांसद यसअघि कहिल्यै पाएको थिएन । पहिलो पटक यतिका संख्यामा सांसद पाउनुले बागलुङवासीमा खुसी छाएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट प्रत्यक्षतर्फ दुई र समानुपातिक प्रणालीबाट तीन जना सांसद चुनिएका छन् ।
प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशील खड्का र क्षेत्र नम्बर २ बाट रास्वपाकै सोम शर्मा विजयी भएका छन् । दलहरूले आइतबार निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार नेपाली कांग्रेसका तर्फबाट रेनुका काउचा, रास्वपाबाट गंगा छन्त्याल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट बलावती शर्मा समानुपातिक सांसद बनेका छन् ।
विद्यार्थी राजनीतिबाट उदाएकी काउचा
नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी रेनुका काउचा विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् । बागलुङको गलकोट नगरपालिका–११ की स्थायी बासिन्दा उनी स्थानीय तहको पहिलो निर्वाचनमा गलकोटको उपप्रमुखमा निर्वाचित भएकी थिइन् । उपप्रमुखका रूपमा शैक्षिक क्षेत्रमा सुधारका काम गरेकी उनको नाम २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि समानुपातिक सूचीमा थियो तर अन्तिममा सांसद बन्न पाइनन् ।
२०६५ सालमा काठमाडौँको सरस्वती बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघबाट स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष बनेर राजनीतिक यात्रा सुरु गरेकी उनी मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्षसमेत भइसकेकी छिन् । कांग्रेसको १२औँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि रहँदै आएकी उनी महिला संघको केन्द्रीय सदस्यसमेत भइसकेकी छिन् ।
२०७० सालको संविधान सभाको निर्वाचनमा पहिलो पटक समानुपातिक सूचीमा परेपनि त्यसबेला पनि उनी सांसद बन्न सकेकी थिइनन् । महिला र बालबालिकाको क्षेत्रमा उनले लामो समयदेखि निरन्तर आवाज उठाउँदै आएकी छिन् ।
अपाङ्गता र जनजातिको सवाल उठाउने छन्त्याल अब माननीय
बागलुङको सबैभन्दा विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीकी गंगा छन्त्याल रास्वपाको तर्फबाट समानुपातिक सांसद बनेकी हुन् । ३५ वर्षीया छन्त्यालले करिब एक दशकदेखि अपाङ्गता भएका व्यक्ति, महिला तथा जनजातिहरूको क्षेत्रमा काम गर्दै आएकी थिइन् ।
राजनीतिमा पहिलो पटक प्रवेश गरेकी छन्त्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अपाङ्गता भएका नागरिकको पक्षमा काम गर्दै आएकी छिन् । उनी स्वयं फरक क्षमता भएकी व्यक्ति हुन् । २५ वर्षदेखि काठमाडौँमा बस्दै आएकी छन्त्याल बागलुङवासीसँग त्यति परिचित नभए पनि उनी सांसद बन्दा बागलुङका नागरिक खुसी छन् ।
विभिन्न गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मा काम गरेकी उनले काठमाडौँमा उद्यम पनि सञ्चालन गर्दै आएकी छन् । गार्मेन्ट व्यवसाय गर्दै आएकी छन्त्यालले १५ जना महिला तथा युवालाई रोजगारीसमेत दिएकी छन् ।
बलावतीको यात्राः जनयुद्धदेखि संसद्सम्म
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट सांसद बनेकी बलावती शर्मा विद्यार्थी राजनीति हुँदै जनयुद्धबाट उदाएकी नेतृ हुन् । तत्कालीन नेकपा माओवादी केन्द्रबाट राजनीतिक यात्रा सुरु गरेकी शर्मा २०६३ सालको अन्तरिम संसद सदस्य बनेकी थिइन् ।
बागलुङ नगरपालिका–१२ अमलाचौर निवासी उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य र बागलुङ इञ्चार्ज हुँदै हाल नेकपाको केन्द्रीय सदस्य छिन् । २०६८ सालदेखि केन्द्रीय नेतृत्वमा रहेकी शर्मा खस आर्य महिला समूह (क्लस्टर) बाट समानुपातिक सांसद बनेकी हुन् ।
२०५१ सालमा जनयुद्धमा होमिँदा रोल्पा जिल्लाको सहइन्चार्जको भूमिका निर्वाह गरेकी उनी नेकपाका नेता देवेन्द्र पौडेलकी श्रीमती हुन् । पौडेल फागुन २१ मा सम्पन्न निर्वाचनमा नवलपरासी–२ बाट उम्मेदवार बनेका थिए तर विजयी हुन सकेनन् । बागलुङ–२ बाट २०७४ मा वाम गठबन्धन र २०७९ मा कांग्रेसको सहयोगमा सांसद बनेका पौडेल यसपालि बागलुङ–१ बाट चुनाव लड्ने तयारीमा थिए । तर पार्टीले उनलाई नवलपरासी पठाएको थियो । श्रीमती बलावतीलाई समानुपातिकबाट सांसद बनाउने योजनाका साथ उनी नवलपरासी गएको एक नेताले बताए । बलावतीलाई समानुपातिक सूचीमा राख्दा नेकपा बागलुङका धेरै नेता तथा कार्यकर्ता रुष्ट बनेका थिए ।
‘जनयुद्धमा होमिएका धेरै नेता छन्, उनीहरूले कहिल्यै अवसर पाएका छैनन् । देवेन्द्र कमरेडका दुई जना (श्रीमान्–श्रीमती) लाई मात्रै पद र अवसर चाहिने ? यसरी त अरू नेताहरूले कहिले अवसर पाउनेरु’ ती नेताले थपे, ‘यसपालि देवेन्द्र कमरेडले हार्ने निश्चित भएको हुँदा उहाँले श्रीमतीलाई समानुपातिकबाट सुरक्षित गर्नुभयो ।’
सांसद बन्न पाएनन् प्रकाश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ प्राप्त ५७ सिटका लागि निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोगमा पेस गर्दा प्रकाश विक (प्रकाश सपुत) को नाम समावेश हुन सकेन । पार्टीले उनलाई दलित पुरुष समूह (क्लस्टर) को दोस्रो नम्बरमा राखे पनि निर्वाचन आयोगमा पठाइएको अन्तिम सूचीमा उनको नाम समावेश भएन ।
नेकपा एमाले पृष्ठभूमिका प्रकाश जेनजी आन्दोलनपछि बालेन टिम हुँदै रास्वपाको समानुपातिक सूचीमा परेका थिए । गत माघ १९ गते बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा ‘बालेन पहिरन’मा सजिएर पाँच हजार ५५५ किलोको महाघण्टको दर्शन गर्दै चुनावी प्रचारमा लागेका प्रकाशले राम्रो जनमत सिर्जना गरेका थिए, तर उनी आफैँ सांसद बन्नबाट वञ्चित भए ।
गाउँबस्तीमा पुग्दा ‘प्रकाश सपुतलाई एक भोट’ भन्ने नागरिकको संख्या उल्लेख्य थियो । फलस्वरूप बागलुङमा रास्वपाले समानुपातिक मत राम्रो प्राप्त गर्यो । एमाले पृष्ठभूमिका सपुत जेनजी आन्दोलनपछि बालेन समूह हुँदै रास्वपामा प्रवेश गरेका थिए । उनको नाम दलित समूह (क्लस्टर) बाट दोस्रो नम्बरमा राखिएको थियो ।
गायक हुँदै नायक बनेका प्रकाशले कलाकारितामा ठूलो सफलता (छलाङ) नै हासिल गरेका थिए । समानुपातिक सूचीमा परेका उनलाई रास्वपाले देशभर चुनावी प्रचारमा खटाएको थियो । तर, अन्तिममा संसद् छिर्ने उनको इच्छा भने पूरा हुन सकेन ।
समानुपातिक सूचीमा २६ को नाम, तीन जना मात्रै भए सांसद
समानुपातिक प्रणालीमार्फत सांसद छनोटका लागि बागलुङबाट पाँच दलले २६ जनाको नाम समानुपातिक सूचीमा समावेश गरेका थिए, तर तीन जना मात्रै सांसद बन्न सफल भए । नेपाली कांग्रेसले तीन जनाको नाम सिफारिस गरेको थियो, तर रेनुका काउचा मात्रै सांसद बनिन् ।
कांग्रेसले आदिवासी जनजाति महिला समूह (क्लस्टर) को चौथो नम्बरमा रेनुका काउचा, खस आर्य महिला समूहबाट नवौँ नम्बरमा शकुन्तला शर्मा र २१औँ नम्बरमा सोही समूहबाट पार्वती आचार्यको नाम राखेको थियो । शर्मा र आचार्य भने सांसद बन्न सकेनन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बागलुङबाट दुई जनाको नाम सिफारिस गरेको थियो । खस आर्य महिला समूह ९कलस्टर० बाट बलावती शर्मा पहिलो नम्बरमा थिइन् र उनी सांसद बनिन् । आदिवासी जनजाति समूहबाट २०औँ नम्बरमा रहेका चेतबहादुर पुन भने सांसद बन्न सकेनन् ।
रास्वपाबाट गंगा छन्त्याल र प्रकाश विकको नाम समानुपातिक सूचीमा थियो । समानुपातिकतर्फ ५७ सिट प्राप्त गरे पनि रास्वपाबाट प्रकाश सांसद बन्न सकेनन् । उनको दलित समूह (क्लस्टर) बाट दोस्रो नम्बरमा नाम थियो । छन्त्यालको नाम आदिवासी जनजाति महिला समूहको दोस्रो नम्बरमा थियो र उनी सांसद बने ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट दलित महिला समूहबाट शान्ति विक दोस्रो नम्बरमा, खस आर्य समूहबाट दलसिंह खत्री पहिलो नम्बरमा थिए । तर निर्वाचनमा प्रलोपाले थ्रेसहोल्ड कटाउन सकेन, जम्मा २४ हजार ६७६ मत मात्रै प्राप्त गर्यो । राष्ट्रिय जनमोर्चाका तर्फबाट बागलुङबाट समानुपातिक सूचीमा नाम पर्ने उम्मेदवारको संख्या सबैभन्दा धेरै थियो । यस पार्टीबाट १७ जनाको नाम समावेश भएको थियो, तर जनमोर्चाले पनि थ्रेसहोल्ड कटाउन सकेन र जम्मा २९ हजार ४४६ मत प्राप्त गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण