इनिशा मृत्यु प्रकरणः आरोपीको बयान सकियो, अनुसन्धान टुंगिन हप्तादिन लाग्ने
सारांश
- सुर्खेतमा १६ वर्षीया किशोरी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूको बयान सकिएको छ।
- प्रहरीले घटनाको अनुसन्धानका लागि सीआईबीको टोलीदेखि पोलिग्राफसम्मको विज्ञ टोली परिचालन गरेको छ, र फरेन्सिक रिपोर्टको प्रतीक्षामा छ।
- पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको उल्लेख छ, तर थप पुष्टि भिसेरा परीक्षणपछि मात्रै हुनेछ।
सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिशा विकको घटनामा संलग्न भनेर पक्राउ परेकाहरूको बयान सकिएको छ । पक्राउ परेका चार जना नाबालकमध्ये मुख्य अभियुक्त भनिएका १६ वर्षीय किशोर फागुन २३ गते घटनास्थलबाटै पक्राउ परेका थिए । अन्य तीन जना नाबालकहरू भदौ २४ गते पक्राउ परेका थिए ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिशा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । फागुन २३ गते बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । इनिशाका परिवार तथा आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै न्यायको माग गरेका छन् । परिवारकै उजुरीका आधारमा प्रहरीले फागुन २४ गते अन्य तीन नाबालकलाई पक्राउ गरेको थियो ।
विभिन्न कोणबाट अनुसन्धान भइरहेको उक्त घटनामा नाबालकहरूको बयान सकिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले रातोपाटीलाई बताए । उनका अनुसार मुख्य आरोपित १६ वर्षे किशोरले इनिशासँग प्रेम सम्बन्ध रहेको बताइरहेका छन् ।
उनले यौन सम्बन्ध राख्दा इनिशा बेहोस भएको र अत्यधिक रक्तश्राप भएपछि अस्पताल लैजान साथीहरूको मद्दत मागेको बयान दिएका छन् । अन्य नाबालकहरूले ती १६ वर्षे किशोरले फोन गरेको गर्यै गरेपछि साढे ८ बजेपछि मात्रै आफूहरू घटनास्थल पुगेको बयान दिएका छन् ।
सीसीटीभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षे नाबालक किशोर मात्रै गएको देखिएको छ । ‘उनीहरूले हातै समातेर गएको सीसीटीभीमा देखिएको छ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘उनीहरूलाई नजिकबाट देख्नेहरूले पनि दुई जनालाई मात्रै देखेको भनेका छन् ।’
अन्य केटाहरू माथि (घटनास्थल) साढे ८–९ बजेतिर पुगेको देखिन्छ । अन्य तीन जना नाबालकलाई ती १६ वर्षे किशोरले फोन गरेर बोलाएपछि घरबाट निस्किँदै गरेको अर्को एक सीसीटीभी फुटेज पनि प्रहरीले अध्ययन गरेको छ, जसमा उनीहरू बिहान साढे ८ बजेपछि मात्रै घरबाट निस्किएको देखिन्छ । उनीहरू घटना विवरण सुनेर अत्तालिएको जस्तै गरेर घरबाट निस्किएका छन् ।
यद्यपि ती युवाहरूले दिएको बयान सही हो झूट भन्ने कुरा पोलिग्राफबाट थाहा हुनेछ । घटनालाई थप वैज्ञानिक तवरले अनुसन्धान गर्न नेपालगञ्जबाट पोलिग्राफको टोली पनि खटिएको छ । उक्त पोलिग्राफले सही वा झूटो बोलेको कुरा पत्ता लगाउँछ ।
यद्यपि परिवार तथा आफन्तहरूले भने इनिशाको सामूहिक बलात्कार भएको र उनीहरूलाई आजीवन काराबास वा मृत्युदण्ड दिनुपर्ने माग गरिरहेका छन् ।
अनुसन्धान टुंगिन अझै हप्ता दिन लाग्न सक्ने
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले विभिन्न फरेन्सिक रिपोर्टहरू आउन बाँकी रहेकाले घटनाको अनुसन्धान हुन अझै हप्ता दिन लाग्न सक्ने बताए । ‘बयान सकियो, अन्य फरेन्सिक रिपोर्टहरू आउन बाँकी छ,’ उनले भने, ‘अझै हप्ता दिन लाग्ने देखिन्छ ।’
अनुसन्धानमा कुनै कमी नरहने गरी सुक्ष्म र वैज्ञानिक तरिकाले अनुुसन्धान भइरहेको पनि उनले बताए । त्यसका लागि सीआईबीको एक टोलीदेखि पोलिग्राफसम्मको विज्ञ टोलीहरू अनुसन्धानमा सक्रिय छन् । यस्तै, नेपालगञ्जबाट नै सीडीआर एनालिसिसहरू लगायतको अर्को विज्ञ टोली पनि अनुसन्धानमा खटिएको छ ।
मोबाइल, घटनास्थलमा भेटिएका सबै प्रमाणहरू फरेन्सिक ल्याबमा पठाइएको छ ।
केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजीकल रिपोर्टको लागि र बायो–सेरोलोजिकल परीक्षणको लागि पठाइएको छ । ती सबै रिपोर्टहरू आयो भनेपछि र ती रिपोर्टहरूको कम्पेरिजन गरेपश्चात् प्रहरी एउटा निष्कर्षमा पुग्ने छ ।
जिल्लामै पनि अनुसन्धानका लागि जिल्ला छुट्टै टोली नै गठन गरेर काम भइरहेको छ । भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर गरेको पोस्टमार्टम रिपोर्टमा जबर्जस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हुन सक्ने कुरा उल्लेख छ ।
पोस्टमार्टम रिपोर्टमा सोही कारण हुनसक्ने भनिए पनि भिसेरा परीक्षणपछि यकिन गर्न सक्ने भनेको छ । रिपोर्टको व्याख्यामा चाहिँ जेनाइटल पार्टहरूमा चोटपटक लागेको भनिएको छ, त्यो भनेको यौनाङ्ग, भित्र हाइमनदेखि पाठेघरमा पनि चोट लागेको कारणले अत्यधिक रक्तश्राव भएको उक्त रिपोर्ट अध्ययन गरेका ती अनुसन्धान अधिकृतले रातोपाटीलाई बताए । रिपोर्टअनुसार इनिशामाथि अभियुक्त १६ वर्षीय नाबालक किशोरले जबर्जस्ती करणी गरेर यौन सम्बन्ध स्थापित गरेको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।
यद्यपि यी सबै कुराहरू फरेन्सिक रिपोर्ट आएपछि र तिनको विश्लेषणपछि मात्रै प्रहरी निष्कर्षमा पुग्ने छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण