मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कर्मचारी बढुवामा ‘बन्द प्रतिस्पर्धा’ स्वीकार्य छैन: अर्थमन्त्री खनाल

बुधबार, ०४ चैत २०८२, ११ : ५८
बुधबार, ०४ चैत २०८२

सारांश

  • अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीको बढुवा र छनोटमा 'बन्द प्रतिस्पर्धा' लागू गर्न नसकिने बताए।
  • उनले नागरिक लगानी कोषको वार्षिकोत्सवमा अवकाश कोषको कर दर समान हुनुपर्ने माग जायज भएको बताए।
  • आगामी अर्थमन्त्रीलाई स्मरण गराएर जाने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रतिस्पर्धा सधैँ खुला हुनुपर्नेमा जोड दिए।

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीहरूको बढुवा र छनोट पद्धतिमा ‘बन्द प्रतिस्पर्धा’ लागू गर्न नसकिने स्पष्ट पारेका छन् ।

नागरिक लगानी कोषको ३६ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कर्मचारीको कार्यक्षमता र दक्षता वृद्धिका लागि आवश्यक मोटिभेसन र कम्पन्सेसन प्याकेज हुनुपर्ने कुरा जायज भएपनि बन्द प्रतिस्पर्धालाई पक्षपोषण गर्न नसकिने बताए । 

 अवकाश कोषमा लाग्ने करको दरमा समानता हुनुपर्ने माग जायज भएपनि वर्तमान अन्तरिम सरकारले त्यसमा निर्णय गर्न नसक्ने स्पष्ट पारे । आफू कामचलाउ र अन्तरिम सरकारको मन्त्री भएकाले आयकर ऐन संशोधन गर्ने अधिकार नभएको भन्दै उनले यो विषय आगामी अर्थमन्त्रीलाई स्मरण गराएर जाने प्रतिबद्धता व्यक्त गरे। 

उनले भने, ‘समान प्रकृतिको आम्दानी र सामाजिक सुरक्षाका लागि दिइएको रकममा समान करको दर हुनुपर्छ भन्ने विषय नीतिगत रूपमा एकदमै सही छ । तर ‘नो ट्याक्सेसन विदाउट रिप्रेजेन्टेसन’ को सिद्धान्तअनुसार करका दरहरू चलाउने अधिकार संसद र जनप्रतिनिधिलाई मात्र हुन्छ । यहाँहरूको कार्यक्षमता र दक्षता वृद्धिका लागि आवश्यक मोटिभेसन र कम्पन्सेसन प्याकेज हुनुपर्छ भन्नेमा म सहमत छु । तर हामीले बन्द प्रतिस्पर्धालाई पक्षपोषण गर्नु हुँदैन । प्रतिस्पर्धा सधैँ खुला नै हुनुपर्छ, यसमा मेरो सैद्धान्तिक सहमति हुन सक्दैन ।’

उनले नागरिक लगानी कोषले भविष्यमा अन्य पेन्सन फन्ड म्यानेजमेण्ट कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै त्यसका लागि संस्था र कर्मचारी दुवै खुला प्रतिस्पर्धाका लागि तयार रहनुपर्नेमा जोड दिए । –न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप