जाँदाजाँदै पुराना दलका नेताहरूलाई प्रधानमन्त्रीको ‘सान्त्वना’ !
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गरेपछि विभिन्न दलका नेताहरूसँग भेटघाट गरी धन्यवाद दिएकी छिन्।
- उनले पदबाट बाहिरिँदै गर्दा सबैलाई सान्त्वना दिँदै देश र प्रणालीका लागि काम गरेको बताइन्।
- कार्कीको यो कार्यशैलीलाई कतिपयले सकारात्मक रूपमा लिँदै राजनीतिमा मानवीय संवेदना र शिष्टाचारको आशा जागेको बताए।
काठमाडौँ । झन्डै २ साता यता प्रधानमन्त्री सुशीला कार्कीको काँध हलुको भएको छ । प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराएसँगै उनको मुख्य जिम्मेवारी पूरा भएको हो ।
फागुन २१ अघिसम्म अलि हतास र तनावग्रस्त जस्तो देखिने उनको चेहरामा अचेल एक प्रकारको चमक देखिन्छ भने अभिव्यक्तिहरूमा पनि बदलाव देखिन थालेको उनलाई भेट्नेहरू बताउँछन् ।
प्रधानमन्त्री कार्कीको कार्यकाल अन्तिम चरणमा पुगेको छ । नयाँ सरकार गठन नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा उनले सरकारको नेतृत्व सम्हाल्ने छिन् । जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेसँगै उनी कार्यकारी भूमिकाबाट बाहिरिने छिन् ।
सत्ताको लुकामारी, राजनीतिको दाउपेच र कुर्सीको रस्साकस्सीबाट टाढै रहेर प्रधानमन्त्री कार्की अहिले एउटा फरक अवस्था र भूमिकामा छिन् । जिम्मेवारी र कार्यकाल पूरा गरेर ‘फेयरवेल’ (बिदावारी)को घडी नजिकमा छिन् उनी ।
घटनाक्रमले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेपछि सायद उनलाई स्वाभाविक रूपमा हलुका अनुभूति भएको हुनुपर्छ । त्यसैले उनी कहिले शोकमा रहेका नेताहरूलाई समवेदना दिन घरमै पुग्ने, कहिले बालुवाटारमै नेताहरूलाई बोलाएर ‘धन्यवाद’ दिनेजस्ता भूमिकामा देखिने गरेकी छन् ।
त्यसबाहेक प्रधानमन्त्री कार्कीले धार्मिक यात्रा गर्न पनि छुटाइनन् । बुधबारमात्रै उनले पशुपतिनाथको दर्शन गरिन् र रुद्राभिषेक पूजामा सरिक भइन् ।
‘हाम्रो देश उन्नतिको दिशामा अघि बढिरहोस् । सबै नेपालीबिच एकता, सद्भाव र आत्मीयताको भावना अझ बलियो बनोस्’, रुद्राभिषेकपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रार्थनासहितको सन्देश दिइन् ।
पदमा रहुञ्जेल शक्ति देखाउने र पदबाट बाहिरिने बेला ‘अदृश्य’ हुने वा अहंकार र दम्भ देखाउने प्रवृत्ति नेपालको राजनीतिमा प्रायः देखिन्छ । प्रधानमन्त्री कार्कीले भने त्योभन्दा भिन्न शैली अपनाइन्, देखाइन् ।
उनले केही दिन यता सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई पालैपालो भेटेर सद्भाव र सहिष्णुता देखाउने प्रयास गरिन् । यसलाई बालुवाटारले ‘सम्बन्ध कायम र ‘शिष्टाचार भेट’ भनेको छ । तर, राजनीतिक वृत्तमा यसलाई प्रधानमन्त्रीको ‘सबैलाई भेट्ने र बिदा हुने’ अर्थपूर्ण शैली र अभियानका रूपमा हेरिएको छ ।
शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएर परिणाम समेत आइसकेपछि प्रधानमन्त्री कार्की सबैभन्दा पहिला पितृ शोकमा रहेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनकै निवास गुण्डु पुगिन् । त्यसपछि नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका नेताहरूलाई बालुवाटारमै बोलाएर उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्राप्त साथ र सहयोग स्मरण गर्दै धन्यवाद व्यक्त गरिन् ।
एमालेका अध्यक्ष र कांग्रेसका सभापतिसहितका नेताहरूलाई भेटेपछि उनले एमाले नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवालीसहितका नेताहरूलाई बालुवाटारमै बोलाएर छलफल गरिन् । त्यसपछि उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल लगायतका नेताहरूलाई पनि बालुवाटारमै बोलाएर शिष्टाचार कायम राखिन् ।

उनीहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा भएको चुनाव लगायतका अन्य काममा गरेको सहयोगका लागि धन्यवाद दिइन् ।
प्रधानमन्त्री कार्कीको पछिल्लो भेटघाटलाई कतिपयले कुनै राजनीतिक सौदावाजीका लागि भन्दा पनि विगतको असहज परिस्थितिमा काम गर्दै जाँदा रहेका तिक्तता मेट्ने प्रयासका रूपमा अर्थ्याएका छन् ।
बालुवाटार स्रोतका अनुसार, नेताहरूसँगको भेटमा उनले भन्ने गरेकी छन्, ‘काम गर्दा कतिपय ठाउँमा अडान लिनुपर्यो, कसैलाई चित्त दुख्यो होला, तर त्यो देश र प्रणालीका लागि थियो । अब पालो तपाईंहरूको हो, यसलाई सम्हाल्नुस् ।’
भेटघाटका क्रममा कतिपय नेताले प्रधानमन्त्री कार्कीको भावी योजनाबारे जिज्ञासासमेत राख्ने गरेका छन् ।
‘म त घर जान्छु, तर तपाईंहरू यहीँ बस्नुपर्छ । देश चलाउने जिम्मेवारी तपाईंहरूकै काँधमा छ,’ त्यस्तो जिज्ञासा राख्नेलाई मुस्कुराउँदै प्रधानमन्त्रीले दिएको जबाफ उद्धृत गर्दै स्रोतले भन्यो ।
उनले राजनीतिक दलका नेताहरूलाई नआत्तिन सुझाव दिँदै प्रणाली बसेपछि सबै कुरा आफैँ मिल्दै जाने भनेर ढाडससमेत दिएको स्रोत बताउँछ ।
यो संवादलाई कतिपयले दलहरूलाई प्रधानमन्त्रीको ‘सान्त्वना’ का रूपमा पनि बुझेका छन् । विशेषगरी सत्ता समीकरणको खेलमा थकित भएका र निर्वाचनको दबाबमा रहेका धेरैजसो पार्टीका नेतालाई प्रधानमन्त्री कार्कीले अभिभावकीय भूमिका निर्वाह गर्दै भरोसामात्रै दिएकी छैनन्, व्यर्थको ‘राजनीतिक द्वन्द्व’भन्दा संस्थागत विकास ठुलो कुरा हो भन्ने सन्देश पनि दिन भ्याइन् ।
सामान्यतया सत्ता छाड्ने बेला जोसुकै प्रधानमन्त्री रक्षात्मक बन्छन् र देखिन्छन् । तर, अपवादका रूपमा सुशीला कार्की फरक देखिइन् । सुरुका दिनमा पुराना र इतिहास बोकेका भनिएका राजनीतिक दलहरूप्रति केही आक्रामक देखिए पनि अन्तिम क्षणमा उनी विनम्र र स्पष्ट बन्न पुगिन् ।
आफ्ना सारथि र सहयोगीलाई मात्र होइन, विपक्षी दलका नेताहरूलाई पनि उनले उत्तिकै सम्मानका साथ भेटेर राष्ट्रिय मुद्दामा एक हुनुस् भन्दै ढाडस दिएर राष्ट्रियता, संविधान र व्यवस्थामाथि उठदै आएका प्रश्नलाई व्यवहारबाटै जबाफ दिइन् ।
पार्टीका नेताहरू पनि प्रधानमन्त्रीको यो शैलीबाट अचम्मित छन् । एक शीर्ष नेताले भने, ‘हामीले त सधैँ सत्ताको बार्गेनिङ मात्र देख्यौँ, तर जाँदाजाँदै यसरी सान्त्वना दिने र धन्यवाद प्रकट गर्ने प्रधानमन्त्री कमै भेटिन्छन् ।’
प्रधानमन्त्री सुशीला कार्कीको यो शिष्टाचार भेटघाटको सिलसिलालाई नेपाली राजनीतिमा नयाँ संस्कार नभए पनि उनको कार्यशैलीलाई सकारात्मक रूपमा लिनुपर्ने नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पूर्वसल्लाहकार देवेन्द्र पौडेल बताउँछन् ।
‘बालुवाटारबाट बहिर्गमन हुनेबेला अरु प्रधानमन्त्रीहरूले पनि विभिन्न नेताहरूलाई भेट्ने गरेको अनुभव छ, तर चुनावी सरकारको नेतृत्व गरे पनि प्रधानमन्त्री सुशीला कार्कीले राम्रो कल्चर देखाउनुभएको छ’, पौडेलले भने, ‘यसलाई हामी सबैले सकारात्मक रूपमा लिनुपर्छ ।’
उनले विगतमा धेरै प्रधानमन्त्री तनावको मुडमा बाहिरिने गरे पनि फरक फरक परिस्थिति देखिने गरेको बताए । ‘चुनाव सम्पन्न गरेर बाहिरिँदा एक किसिमको स्वाभाविक मुड हुन्छ । त्यसबाहेक अरु राजनीतिक घटनाक्रमबाट बाहिरिनुपर्दा अलि फरक हुनेगर्छ’, पौडेलले भने, ‘सहज रूपमा निर्वाचन परिणाम आइसकेपछिको अवस्था फरक हुनेगर्छ । अहिलेको अवस्था पनि त्यही हो ।’
पदबाट बाहिरिँदै गर्दा आफ्ना सहयात्री र प्रतिस्पर्धी दुवैलाई ‘सान्त्वना’ दिनुले प्रधानमन्त्री कार्कीको व्यक्तित्वको उचाइमात्र बढाएको छैन, बरु राजनीतिमा मानवीय संवेदना र शिष्टाचार अझै बाँकी छ कि भन्ने आशालाई जागृतसमेत गराएको छ ।
करिब ६ महिनाअघि सुशीला कार्कीले प्रधानमन्त्री पद सम्हाल्दा निर्वाचन होला कि नहोला, देश फेरि संवैधानिक दायरामा फर्किएला कि नफर्किएला भन्नेजस्ता अन्योलपूर्ण अवस्था थियो । सत्ता गुमाएका दलहरूले चुनावी सरकारमाथि विश्वास गरेर निर्वाचनमा भाग लिन्छन् कि बहिष्कारको नीति लिन्छन् भन्ने पनि अन्योल नै थियो ।

यी सब अन्योलका बाबजुद प्रधानमन्त्री कार्कीले कतैबाट औँला ठड्याउन नसक्ने गरी शान्तिपूर्ण वातावरणमा निष्पक्ष रूपमा निर्वाचन सम्पन्नमात्र गराइनन्, निर्वाचनबाट पराजित भएका पुराना दलका नेताहरूसँग शिष्टाचार भेट गरी लोकतान्त्रिक अभ्यासमा देखाएको भरोसाप्रति धन्यवाद दिइन् ।
पराजित मानसिकता त्यागेर देश र जनताको पक्षमा लाग्न उनले प्रेरित समेत गरिन् । बालुवाटारबाट बाहिरिनु अघि प्रधानमन्त्रीले दिएको त्यो ‘सान्त्वना’ले सबै पक्षलाई देश र जनताको हित नै राजनीतिको केन्द्रबिन्दुमा राख्न प्रेरणामात्र दिएको छैन, देशलाई राजनीतिक स्थिरताको दिशामा लैजाने बाटो फराकिलो पारिदिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण