सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरान युद्धबिच पेन्टागनले कंग्रेससँग माग्दैछ २ खर्ब डलर

शुक्रबार, ०६ चैत २०८२, ०९ : ४३
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • अमेरिकी रक्षामन्त्री पीट हेगसेथले इरानसँगको युद्ध अन्त्यको समयसीमा स्पष्ट नभएको बताए।
  • पेन्टागनले युद्ध जारी राख्न कंग्रेससँग २०० अर्ब डलर थप बजेट माग्ने तयारी गरेको छ।
  • युद्धको रणनीति र बजेटबारे सत्तारुढ दल र विपक्षीबीच असहमति देखिएको छ।

वासिङटन डीसी । इरानसँग जारी युद्धको अन्त्य कहिले हुन्छ भन्ने कुनै स्पष्ट समयसीमा नरहेको अमेरिकी रक्षामन्त्री पीट हेगसेथले बताएका छन् । यसैबिच पेन्टागनले युद्ध जारी राख्नका लागि अमेरिकी कंग्रेससँग थप २०० अर्ब डलर बजेट माग्ने तयारी गरेको छ । 

हेगसेथले उक्त रकमबारे प्रत्यक्ष पुष्टि नगरे पनि आवश्यक खर्च बढ्न सक्ने संकेत दिएका छन् । ‘२ खर्ब डलरको कुरा परिवर्तन हुन सक्छ, तर युद्ध सञ्चालनका लागि पर्याप्त स्रोत चाहिन्छ,’ उनले पत्रकार सम्मेलनमा भने ।  उनका अनुसार अहिलेको अवस्था तथा सम्भावित भविष्यका सैन्य गतिविधिका लागि थप बजेट सुनिश्चित गर्न सरकार फेरि कंग्रेससमक्ष जानेछ ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार रक्षा मन्त्रालयले यो प्रस्ताव ह्वाइट हाउससमक्ष पेस गरिसकेको छ । गत वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पको कर कटौतीसम्बन्धी विधेयकमार्फत रक्षा क्षेत्रमा थप बजेट दिइसकेको सन्दर्भमा यो रकम अत्यन्त ठुलो मानिएको छ । 

यस प्रस्तावलाई स्वीकृति दिन अमेरिकी संसदको समर्थन आवश्यक पर्छ, तर त्यसबारे अनिश्चितता कायम छ । सत्तारुढ दलभित्रैका केही सांसदहरू ठुलो सैन्य खर्चप्रति सशङ्कित देखिएका छन् भने विपक्षी डेमोक्र्याटहरूले युद्धको रणनीति र उद्देश्यबारे स्पष्ट योजना माग्ने संकेत दिएका छन् ।

हेगसेथले युद्धको समयसीमा तोक्न नचाहेको स्पष्ट पार्दै अन्तिम निर्णय राष्ट्रपति ट्रम्पले गर्ने बताए । लक्ष्य हासिल गरेको महसुस गरेपछि मात्र रोक्ने निर्णय हुने पनि उनले भने । उनका अनुसार हालसम्म अमेरिकाले इरानभर ७ हजारभन्दा बढी सैन्य लक्ष्यमा आक्रमण गरिसकेको छ र थप ठुलो आक्रमणको तयारी भइरहेको छ । यद्यपि, अमेरिकी कंग्रेसले औपचारिक रूपमा युद्धलाई स्वीकृति दिएको छैन । यस्तो अवस्थामा बढ्दो सैन्य गतिविधि र ठुलो बजेट मागले राजनीतिक तथा रणनीतिक बहसलाई अझ तीव्र बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप