शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सरके चुनर तेरी सरके’ विवाद : नोरा फतेहीविरुद्ध मुस्लिम संगठनको उर्दी

शनिबार, ०७ चैत २०८२, १४ : ३५
शनिबार, ०७ चैत २०८२

सारांश

  • नयाँ फिल्मको गीतमा अश्लीलताको आरोप लागेपछि नोरा फतेही विवादमा तानिएकी छिन्।
  • मुस्लिम पर्सनल दारुल इफ्ताले नोरा फतेहीविरुद्ध फतवा जारी गर्दै गीतलाई इस्लाम विरोधी बताएको छ।
  • भारत सरकारले गीतमाथि प्रतिबन्ध लगाएको छ भने राष्ट्रिय मानवअधिकार आयोगले पनि जवाफ मागेको छ।

मुम्बई । बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेही आफ्नो नयाँ फिल्म ‘केडी: द डेविल’ को गीत ‘सरके चुनर तेरी सरके’ का कारण गम्भीर विवादमा तानिएकी छिन्।

संसद्देखि सडकसम्म अश्लीलताको विषयलाई लिएर चर्को विरोध भइरहेका बेला उत्तर प्रदेशको अलीगढस्थित ‘मुस्लिम पर्सनल दारुल इफ्ता’ले नोरा विरुद्ध फतवा (उर्दी) जारी गरेपछि यो मामलाले धार्मिक मोड लिएको छ।

शाही चिफ मुफ्ती मौलाना चौधरी इब्राहिम हुसैनद्वारा जारी गरिएको उक्त फतवामा गीतको सामग्रीलाई इस्लाम विरोधी र समाजका लागि घातक भनिएको छ । इस्लामले लज्जा र असल आचरणको शिक्षा दिने उल्लेख गर्दै फतवामा भनिएको छ कि यस्ता अश्लील गीत, नृत्य र दृश्यमा सहभागी हुनु  ‘हराम’ र ‘गुनाह–ए–कबीरा’ हो ।

संस्थाले सरकारसँग यस्ता सामग्री बनाउने माथि कडा कारबाहीको माग गर्दै आम जनतालाई यसको बहिष्कार गर्न समेत अपिल गरेको छ। यस संवेदनशील विवादमा आफ्नो मौनता तोड्दै नोरा फतेहीले सामाजिक सञ्जालमार्फत सफाइ दिएकी छिन् ।

उनले आफूलाई यो अश्लील हिन्दी संस्करणका बारेमा कुनै जानकारी नभएको र मेकर्सले आफूलाई धोका दिएको दाबी गरेकी छिन् । नोराका अनुसार उनले यो गीत तीन वर्षअघि कन्नड भाषामा सुट गरेकी थिइन्।

आफूलाई कन्नड भाषा नआउने भएकाले अनुवादका लागि पूर्ण रूपमा निर्माण पक्षमा भर परेको र त्यतिबेला आफूलाई बुझाइएको अर्थमा कुनै अश्लीलता नभएको उनले बताएकी छिन् । नोराले थप गम्भीर आरोप लगाउँदै भिडियोमा देखिएका आफ्ना र सञ्जय दत्तका कतिपय दृश्यहरू एआईको प्रयोग गरेर बनाइएको दाबी गरेकी छिन् ।

गीत रिलिजको कार्यक्रममा आफूले पहिलो पटक यो संस्करण हेरेको र निर्देशकलाई तत्कालै आफ्नो असन्तुष्टि व्यक्त गरेको उनले स्पष्ट पारेकी छिन्।

संसदमा बहस र केन्द्र सरकारको कडा कदम

यो विवादको आगो भारतको संसदसम्म पनि पुगेको छ। समाजवादी पार्टीका नेता आनन्द भदोरियाले सदनमा यो गीतको अश्लील भाषाको मुद्दा उठाएका थिए । त्यसको जवाफ दिँदै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवमाले सरकार समाज, महिला र बालबालिकाको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए ।

उनले उक्त विवादित गीतमाथि प्रतिबन्ध लगाइसकिएको र युट्युबबाट समेत हटाइएको जानकारी सदनलाई दिएका छन् । धार्मिक संगठनहरू मात्र नभई भारतका संवैधानिक निकायहरूले पनि यो मामलामा कडा निगरानी राखेका छन् ।

राष्ट्रिय महिला आयोग (एनसीडब्लू) ले पहिले नै नोटिस जारी गरिसकेको अवस्थामा अहिले राष्ट्रिय मानवअधिकार आयोग (एनएचआरसी) ले पनि सेन्सर बोर्ड, गुगल इन्डिया र आईटी मन्त्रालयसँग जवाफ माग गरेको छ। प्रविधिको दुरुपयोग गरी अश्लीलता फैलाइएको यो घटनाले अहिले बलिउडमा ठुलो तरङ्ग पैदा गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप