शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फेक रेस्क्यु

फेक रेस्क्यु प्रकरणमा राजेन्द्रबहादुर सिंहलाई किन चलाइएन मुद्दा ?

सोमबार, ०९ चैत २०८२, २० : २३
सोमबार, ०९ चैत २०८२

काठमाडौँ । जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले आइतबार ३३ मध्ये ३२ जनालाई मात्रै फेक रेस्क्यु (नक्कली उद्धार)मा भएको अर्बौं रुपैयाँ ठगीमा मुद्दा चलाएको छ । मुख्य व्यक्ति मानिएका माउन्टेन हेलिकप्टरका पूर्वमहाप्रबन्धक राजेन्द्रबहादुर सिंहलाई भने मुद्दा नचलाउने निर्णय गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिमाल पदयात्राका क्रममा नक्कली उद्धारमा संलग्न ३३ जनालाई मुद्दा दर्ता गर्नुपर्ने अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पेस गरेको थियो ।

जिल्ला सरकारी वकील कार्यालयले एक साता राखेर सिंह बाहेक सबैलाई मुद्दा दायर गरेको हो । फेक रेस्क्युमा संलग्न ३२ प्रतिवादीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको र उनीहरूविरुद्ध जफत गरिने रकम एक अर्ब ५१ करोड रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानलाई समेत प्रभावित पार्न खोजेको सरकारी वकील कार्यालयले दायर गरेको अभियोगपत्रमा उल्लेख छ । तर उनी संलग्न रहेको प्रमाण फेला नपरेको भन्दै सिंहमाथि मुद्दा दर्ता हुन सकेन । सीआईबीको अनुसन्धानमा विदेशी पर्यटकलाई उद्धार गरेको देखाई बिमाबापतको रकम दाबी गर्नका लागि स्वास्थ्य अवस्थामा भएका पर्यटकलाई अस्पतालमा भर्ना गरी बिमाबापत प्राप्त हुने रकम कमिसनको रुपमा बाँडेर खाने र फेक उद्धारको प्रक्रियामा सामेल भएको सीआईबी निष्कर्ष निकालेको थियो । 

हेलिकप्टर कम्पनीद्वारा रेस्क्यु उडानको तथ्य लुकाउन र सीआईबीको अनुसन्धानलाई प्रभावित पार्न गरिएको गोप्य संवाद र सहमति भएको मिसिल संलग्न अडियोबाट पुष्टि भएको थियो । सीआईबी अनुसन्धानमा भेटिएको अडियोमा राजेन्द्रबहादुर सिंहले क्यानसँग मागेको उडान विवरणमा रेस्क्यु भन्ने शब्द नै नराख्न र सबै उडानलाई चार्टर्ड फ्ल्याइट मात्रै देखाउन निर्देशन दिएको पाइएको छ । प्राधिकरणको महानिर्देशकसँग पहिलालाई कुराकानी गरेको र आइतबार पत्र लेखेर हामीसँग रेस्क्यु डाटा छैन भन्ने जवाफ दिने सहमति गरेको उल्लेख छ ।

सिंहले रेस्क्यु शब्द हटाएर प्रमाण मेटाउन चार्टर्ड र मेडिकल रेस्क्युको नयाँ परिभाषा दिएर वास्तविक संख्या लुकाउने रणनीति अडियो संवादमा प्रष्ट रहेको सीआईबीको अनुसन्धानमा देखिएको छ । र सिंहले कुराकानी गरेका श्यामसुन्दर कँडेलले बिमा कम्पनीको झमेलाबाट बच्न ग्राहकबाट सिधै रकम लिने गरेको स्वीकार गरेका छन् । हेलिकप्टरमार्फत पर्यटकलाई लिफ्ट गरी काठमाडौँसम्म पुर्‍याई अस्पतालमा समेत भर्ना गरी सो रकम पर्यटकसँग पीओएस मेसिन मार्फत निकाल्न लगाई सम्भव भएसम्म क्यास रकम लिने गरेको तथ्य अनुसन्धानबाट खुलेको छ ।

अडियोमा श्यामसुन्दर कँडेल र सिंहबिच दिउँसोको समयमा भएको संवादमा सीआईबीको अनुसन्धानबाट बच्न प्रमाण नष्ट गर्ने तथा उडान डाटा फेरबदल गर्नेबारे छलफल भएको उल्लेख छ । कँडेल फरार छन् । उनले लुक्ला जस्ता संवेदनशील ठाउँमा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूलाई राख्न लगाउने र उनीहरूलाई प्रभावमा पारेर वा पैसा खुवाएर आफ्नो पक्षमा रेस्क्युको लागि ’रिफरल’ केस बनाउने र यस किसिमको आपराधिक कार्यलाई निरन्तरता दिने सकिने उनको संवादले देखाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवादी कँडेलले प्रयोग गरेको मोबाइल नम्बरलाई सिंहले प्रयोग गरेको नम्बरमा कुराकानी भएको देखिएको र त्यसपछि कँडेलले आफ्नो नम्बरबाट जयराम रिमालको नम्बरमा ह्वाट्सएपबाट कुराकानीको अडियो पठाएको विवरणमा उल्लेख छ ।

प्रहरीले सिंहसहित ३३ विरुद्ध संगठित अपराधको, राष्ट्रहितविरुद्धको, आपराधिक लाभ र लिखतसम्बन्धी चार संयुक्त कसुर अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको थियो । तर सरकारी वकिल कार्यालयले सिंहलाई उन्मुक्ति दिएको छ भने बाँकी ३२ विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ५१ अन्तर्गत राष्ट्रहित प्रतिकूल कसुर गरेको भन्दै मुद्दा दर्ता गराएको छ । साथमा उनीहरूविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ अन्तर्गत संगठित अपराध गर्न नहुने कसुर पनि चलाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ मा भनिएको छ, ‘कसैले राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्नु वा गराउनु हुँदैन । कसैले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फैलाउने कार्य गरे राष्ट्रहित प्रतिकूलको कार्य मानिनेछ । घटनामा संलग्नविरुद्ध पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

मुद्दा चलाइएका ३२ प्रतिवादीमध्ये ११ पक्राउ परेकामा सिंह मुद्दा नचल्ने निर्णयसँगै छुटे । अन्य १० जनालाई उपस्थित गराइएको छ । पक्राउ परेकाहरू माउन्टेन रेस्क्यु सर्भिस प्रालिका मालिक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका मालिक रवीन्द्र अधिकारी र म्यानेजर विवेकराज थपलिया, एभरेस्ट इक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका मालिकद्वय मुक्ति पाण्डे र सुभाष केसी छन् । त्यसबाहेक श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना र प्यानरोमा हिमालय ट्रेकिङ एन्ड एक्पेडिसनका सञ्चालक पासाङ शेर्पा, रोयल होलिडेज एड्भेन्चर्सका सन्दीप तिवारी र नेपाल चार्टर सर्भिसका पूर्वसञ्चालक खोमराज अधिकारी पनि पक्राउ परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप