बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
युद्धको छाया

इरानी सेनाको कब्जामा रहेका अमृत झाको रिहाइका लागि गुहार माग्दै परिवार

नयाँ सरकार देखाएर पन्छिँदै परराष्ट्र मन्त्रालय
मङ्गलबार, १० चैत २०८२, १५ : १७
मङ्गलबार, १० चैत २०८२

सारांश

  • इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको परिवारले सरकारसँग रिहाइका लागि पहल गर्न आग्रह गरेको छ।
  • इरानको ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा कार्यरत झालाई इरानी सेनाले पक्राउ गरेको थियो।
  • परिवारले परराष्ट्र मन्त्री र सचिवलाई भेटेर अमृतको सुरक्षा र रिहाइको पहल गर्न आग्रह गरेका छन्।

काठमाडौँ । इरानी सेनाको कब्जामा रहेका ३३ वर्षीय अमृत झाको सकुशल रिहाइका लागि पहल गरिदिन उनको परिवारले सरकारसँग आग्रह गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–११ का ३३ वर्षीय अमृत झा इरानको ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा कार्यरत छन् । उनी पानीजहाजका चालकको भूमिकामा छन् ।

दुबईबाट इरानतर्फ इन्धन लिन गएको र उताबाट फर्किने क्रममा उनलाई इरानी सेनाले बठदर अब्बाबसबाट पक्राउ गरेको अमृतकी दिदी पूजा झाले बताइन् ।

अमृतलाई हाल स्ट्रेट आफ होरमुज नजिक इरानको सुरक्षा निकायद्वारा पक्राउ परेका भन्ने जानकारी प्राप्त भएको पूजाको भनाइ छ । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा दिएको निवेदनमा अमृतलाई बठदर अब्बास करागारमा राखिएको दावी गरिएको छ ।

अमृत झाका आफन्तले सोमबार यही विषयलाई लिएर परराष्ट्रमन्त्री बलानन्द शर्मा र सचिव अमृतबहादुर राईसँग भेटेका थिए ।

भेटको क्रममा अमृतका भिनाजु राजेशकुमार झाले तेल ढुवानी गरेर फर्किने क्रममा इजरायल–अमेरिका आक्रमणपछिको तनावका कारण सो क्षेत्रमा अवस्था जटिल भई झालाई नियन्त्रणमा लिएको बुझिएको बताए ।

पक्राउपछि अमृतको सुरक्षा तथा अवस्थाबारे कुनै स्पष्ट जानकारी प्राप्त हुन नसकेको विषयलाई उनले मन्त्री शर्मा र सचिव राई समक्ष राखेका थिए ।

जबाफमा मन्त्री शर्माले आफू अब एकदुई दिनमात्र बहाल रहने भन्दै अब बन्ने सरकारले नै यी सबै समस्या सम्बोधन गर्ने प्रस्ट पारे । यद्यपि परराष्ट्र मन्त्रालयले आफ्ना नियोगमार्फत अमृतको अवस्थाबारे बुझ्ने प्रयास जारी राखेको उनले जानकारी दिए ।

सचिव राईले पनि सम्पूर्ण सूत्रबाट अमृतको रिहाइका लागि पहल भइरहेको बताएका थिए ।

अमृत झाको सुरक्षा, स्वास्थ्य तथा यथाशीघ्र रिहाइ सुनिश्चित गर्न इरानसँग कूटनीतिक माध्यमबाट तत्काल पहल गरिदिन परिवारजनले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप