अमृत क्याम्पस स्ववियुद्वारा वार्षिक प्रतिवेदन सार्वजनिक: १ करोडको ल्याब बजेटदेखि ५ लाखको कारोबारसम्म
सारांश
- अमृत क्याम्पस स्ववियुले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा प्रशासनिक सुधार र आर्थिक पारदर्शिताको विवरण छ।
- स्ववियुले नयाँ कम्प्युटर ल्याब र वनस्पति विज्ञान ल्याबका लागि बजेट सुनिश्चित गरेको छ, साथै विद्यार्थीका लागि छुट र सुविधाहरूको व्यवस्था गरेको छ।
- स्ववियुले शैक्षिक कार्यक्रम, स्वास्थ्य शिविर, र सामाजिक मुद्दाहरूमा सक्रियता देखाएको छ, जसले विद्यार्थीहरूको हकहितका लागि काम गरेको जनाएको छ।
काठमाडौँ । अमृत क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। स्ववियुले आफ्नो कार्यकालमा भएका प्रशासनिक सुधार, भौतिक पूर्वाधार विकास र आर्थिक पारदर्शिताबारे विस्तृत विवरण सार्वजनिक गर्दै संस्थागत जवाफदेहिताको नयाँ अभ्यास प्रस्तुत गरेको अध्यक्ष रुद्रहरि पोखरेलले जानकारी दिए ।
स्ववियु सचिव गोपाल बहादुर शाहीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा क्याम्पसको समग्र शैक्षिक तथा भौतिक सुधारका प्रयासहरू समेटिएका छन्। प्रतिवेदन अनुसार यस अवधिमा स्ववियुले राष्ट्रिय योजना आयोगबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गराई नयाँ कम्प्युटर ल्याबको टेन्डर प्रक्रिया अगाडि बढाएको छ भने विश्वविद्यालय अनुदान आयोगबाट वनस्पति विज्ञान ल्याबका लागि थप ५० लाख रुपैयाँ बजेट सुनिश्चित गरेको छ।
यस्तै, ओभरसिज फ्रेन्डसिप हस्पिटलमा विद्यार्थीका लागि ४० प्रतिशत उपचार छुटको व्यवस्था, क्याम्पसमा खानेपानी फिल्टर जडान, ब्याडमिन्टन तथा टेबल टेनिस कोर्ट निर्माण र एमआईटमा १० सिट कोटा वृद्धिलाई मुख्य उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत स्ववियुले बीआईटी र सीएसआईटीका लागि निःशुल्क प्रवेश परीक्षा तयारी कक्षा, नेतृत्व विकास कार्यशाला, स्ववियु कप २०८२, सेयर मार्केट बुटक्याम्प र विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ।
दुई वर्षदेखि रोकिएको एमएस्सी जुलोजी कार्यक्रम पुनः सुचारु गराउनु र विगत ५ वर्षको आर्थिक लेखापरीक्षणमा नेतृत्वदायी भूमिका खेल्नुलाई पनि स्ववियुले आफ्नो सफलता मानेको छ।
आर्थिक पक्षतर्फ कोषाध्यक्ष विवेक कोइरालाले ५ लाख ३६ हजार रुपैयाँको कुल आम्दानी र ३ लाख ५२ हजार ३० रुपैयाँको खर्च विवरण सार्वजनिक गरेका छन्। प्रतिवेदन अनुसार हाल स्ववियुको कोषमा १ लाख ८३ हजार ९ सय ७० रुपैयाँ बचत रहेको छ।
स्ववियुले आफ्नो कार्यकालमा आधिकारिक बैंक खाता सञ्चालनमा ल्याई सबै आर्थिक कारोबारलाई प्रणालीगत बनाएको छ। खर्चतर्फ सबैभन्दा बढी रकम विद्यार्थीहरूको उपचार पहल र स्वागत कार्यक्रमहरूमा उपयोग गरिएको देखिएको छ।
आफ्नो सांगठनिक जिम्मेवारी बाहेक स्ववियुले राष्ट्रिय र सामाजिक मुद्दाहरूमा पनि सक्रियता देखाएको प्रतिवेदनमा उल्लेख छ। लिपुलेक र कालापानी सीमा विवादविरुद्धको विरोध, सार्वजनिक यातायातमा विद्यार्थी छुटको कार्यान्वयनका लागि दबाब, ग्यास अभावको समयमा गरिएको प्रदर्शन र सुशासनका लागि गरिएका विभिन्न आन्दोलनहरूमा स्ववियुले अग्रपंक्तिमा रहेर आवाज उठाएको सचिव शाहीले जानकारी दिए।
स्ववियु अध्यक्ष पोखरेलले प्रतिवेदन सार्वजनिक गर्दै सीमित स्रोत र साधनका बाबजुद विद्यार्थीहरूको हकहित र क्याम्पसको गरिमा बढाउन कुनै कसर बाँकी नराखिएको बताए।
उनले विद्यार्थीहरूका माझ पारदर्शिता र जवाफदेहिता कायम राख्न यो प्रतिवेदन सार्वजनिक गरिएको भन्दै आगामी दिनमा पनि क्याम्पसको शैक्षिक वातावरण सुधार र विद्यार्थीका समस्या समाधानका लागि स्ववियु निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण