फूलमाया–२
सारांश
- एक महिलाले आफ्नो पतिको आगमनको प्रतीक्षा गर्छिन्, तर उनलाई निराशा हुन्छ किनभने उनी फर्केर आएनन्।
- नयाँ मानिसको आगमनले महिला र उनको प्रतिद्वन्द्वीबीच झडप निम्त्याउँछ, जसले उनको दुख र निराशालाई बढाउँछ।
- महिलाले आफ्नो पतिको लागि लेखेको पत्र पठाउन छोरालाई आग्रह गर्छिन्, तर छोराले पत्र च्यात्छन्।
“आमा !” हर्कले हुर्रिंदै आएकी नेप्टीले स्वाँ–स्वाँ र फ्वाँ–फ्वाँ गर्दै भनी– “तल खेता पुछाराँ खोलैखोला तीन जना मान्छे आउँदै छन् ।”
“परदेशी कि खेताला ?”
“लाउरेजस्ता मान्छे । एक जना गीत बजाउने, दुई जना भारी बोक्ने ।”
फूलमायाको मनमा आशाको मधुरो सूर्जे उदायो । उसका अङ्ग–प्रत्यङ्गमा शक्तिका लहर दगुरे । दुई हातले भुइँ टेक्दै, भित्तो छाम्दै अररिएका खुट्टा मरीतरी सोझ्याउँदै ऊ उभिई अनि नेप्टीका हातको सहाराले सुस्तरी पाइला गन्दै स्याउले छाप्रो पछिल्तिर आँपको फेदसम्म पुगी । छओटा तिर्खालु, निराश र भोका आँखा तल खोलाको बगरतिर सोझिए । त्यो आउने मान्छे फूलमायाको पोइ गन्जबहादुर गुरmङजस्तो पुड्को र फुर्तिलो थिएन । छाँटले त्यो त लाउरेजस्तो थियो ।
“सबैका छोरा आउँछन् । लोग्ने आउँछन् । बाबु आउँछन् । हामैै्र निष्ठुरी भालेभुत्ते मात्तै फर्केर आएन ।” न्यास्रो र रिस मुछिएको सुस्केरामा फूलमायाले छातीको ज्वाला प्रकट गरी ।
अघि–अघि अग्लो, सिकटे र गोरो लाउरे । पछिपछि ठस्–ठस् कन्दै अजङ्गको भारी बोकेका दुई जना कुल्ली । छओटा अभागी आँखा त्यस लाउरेको चालमा टाँसिएका छन् । तीनओटा आगाको ज्वाला दन्केका हृदय त्यसको चार पैसाको शीतल छहारीमुनि सुस्ताउन छट्पटाएका छन् । तीनओटा बेचैन आत्मा त्यसको दयाको भिख माग्न बाटो ढुकेर उभिएका छन् । उता अँध्यारो स्याउले छाप्रोमा थोरैतिनो चामल र दुई–तीन ट्वाक रक्सी लाउरेलाई कुरेर बसेका छन् । लाउरे दोबाटोमा आइपुग्न लाग्दा फूलमायाका खुट्टा कामे– “हे भगवान् ! त्यो कता लाग्ने हो ?” हावा झैं बेगिएर त्यसको अगाडि पुग्दै बाटो छेकेर त्यसलाई आफ्नो अँध्यारो छाप्रोतिर ल्याउन उसको आत्मा छट्पटायो । लाउरे उक्लिन त उँभै उक्ल्यो । तर एक खुट्किलो अझै बाँकी थियो ।
“परमेश्वरी कालिका माई ! त्यसको मन अन्त नबरालियोस् ।”
पर्खंदाको समय बूढी भैंसी जस्तै लोसे हुन्छ । अग्घोरै पट्टाइलाग्दो ।
खोला–किनारको बाटोदेखि आँपको फेदमुन्तिरसम्मको पच्चीस–तीस गजको दूरी लाउरेले छिचोल्दा फूलमायालाई सिङ्गो आयुभन्दा ज्यादा समय बितेजस्तो लाग्यो । नजिक आउन लाग्दा त्यो लाउरे आफूले कता–कता देखे–देखे जस्तो, चिने–चिने जस्तो भान पर्यो फूलमायालाई । ऊ उभिएको ठाउँभन्दा चार आली मुन्तिर आइपुगेर लाउरेले उसलाई पुलुक्क हेर्यो । ऊ दोमन जस्तो भएर टक्क अडियो अनि पातला र चिल्ला ओठमा तिरस्कारपूर्ण मुस्कान नचाउँदै आली–आली तेर्सियो । छओटा अभागी आँखामा निराशा पोतियो । तीनोटा जलेका हृदयमा दुःखको ज्वाला झन् दन्क्यो । तीनोटा बेचैन आत्माको आशाको मधुरो बत्ती झ्याप्प निभ्यो र संसारैभरि अन्धकारको मुस्लो मडारियो । खुइया सुस्केरा हाल्दै फूलमाया थ्याच्च धूलामा बसी । निराश हुँदै चतुरे र नेप्टीले एकअर्कालाई टुलुटुलु हेराहेर गरे ।
वातावरणमा फैलिँदै गएको रिमरिमे साँझको चकमन्नतालाई चिर्दै लाउरेको रेडुइ बाजाले रुँ–रुँ लाग्ने स्वरमा गीत गायो ।
सम्पत्तिमा नरान् सबैको हाई–हाई
बिपत्तीमा नारान् क्वै छैनन् दाजुभाइ !
लाग्ने छुरीले झैं त्यो विरह र विलौनाको गीतले फूलमायाको हृदय रेट्यो । पापीले उसकै चिरा परेको छातीभित्र पसेर उसको छटपटीको भावना गीतमा उनेछ । अनि उसैलाई रुवाउन गाएछ ।
“नक्कली फुँडीको भट्टीतिर तेर्सियो नाठो ।” जिन्दगीकै बाजी हारे झैं गरी फूलमायाले भनी– “निर्धालाई न मान्छेले हेर्छ न दैवले ।”
एकैछिनमा नक्कली छेत्रिनीको भट्टीमा स्याउले बजारका मानिसको धुइरो लाग्यो । त्यो गीतको रन्को, जमघटको सनसनी र वातावरणको रमाइलोपन देख्दा रिस र डाहाले फूलमायाका नेत्र बले । त्यस स्याउले बजारमा नक्कलीले पाइलो टेकेको दिनदेखि फूलमायाको भाग्यरेखा मेटिएजस्तै भयो । फूलमाया अधबैंसे थिई । दुब्ली, पहेँली र ढाड नुहुँँदै गएकी । नक्कली मस्त तरुनी थिई । छरितो कम्मर, बित्पाते नखरा, कर्के आँखा र छड्के वचनकी । साँझपख लाउरे वा बुटवा आउँदा यी दुवैमा डरलाग्दो हानथाप हुन्थ्यो । त्यो हानथापमा हार्ने धेरैजसो फूलमाया हुन्थी । अनि ती दुई जनामा पोल खोलाखोल, गाली गरागर र चुल्ठो लुछाछुल चल्थ्यो । शिकारलाई पासोमा पार्ने होडबाजीमा फूलमाया हार्थी । गाली बेजतीमा हार्थी । अनि मुढे बलमा पनि हार्थी । आखिरमा जिन्दगीकै बाजी हारेको नरमाइलो अनुभव गर्दै ऊ गर्जिन्थी– “नक्कली फुँडी ! मसँग तँ छुसीको यत्रो फुटानी ! अर्काले दुःखकले गरिखाको देखेर कलेजो जलेकी डाहिली । तँ. तँ.. तँ... वेश्ये !”
“वेश्ये रे ?” बघिनी झैं गर्जिंदै नक्कली थान थाप्न आइलाग्थी । “तेरा पाउनाका बाटाँ कल्ले काँडा लाइद्या छ बजिनी ? गनाउने सिनो भइसकेकी तँलाई कल्ले हेर्छ ? आफ्नो घिनलाग्दो रुपलाई सराप्नु कहाँ हो कहाँ उल्टो मलाई अपजस ? आफ्नो फुट्या पुर्पुरोसँग रिसा न मसँग किन डाहा गर्छेस् ? तेरा पाउनाका घाँटीमा पासो लार तान्या छु मैले ?” यति भनेर नक्कली झम्टिन अघि सर्थी । फूलमाया तीन–चार पाइला पछि सर्थी । अस्पष्ट स्वरमा मुर्मुरिन्थी । रिसले निधार खुम्च्याउँथी । आँखीभुइँ गाँठो पार्थी अनि कम्मरमा हात राखेर कुम हल्लाउँदै भन्थी– “तँ अहारिले मेरो खाइजीविकै हरन गरिस् । तैंले मेरो सुखमा डढेलो लाइस् । यस पापले तैंले चौरासी लाख जुनी नरक बास भोग्नुपर्छ । गरिप पिराही पातर्नी ।”
“अझ पातर्नी रे ?” झम्टिँदै नक्कली फूलमायाको चुल्ठो अँठ्याउँथी । “म एक पातर्नी भए तँ पच्चीस पातर्नी ! म एक रण्डी भए तँ दश रण्डी !”
“घराँ पोइ छँदाछँदै तँ दोबाटाँ जोवनको पसल थप्न झरेकी नखर्माउली ! अर्काको नुनपानी हरेर सेखी गर्ने गतिछाडा ! म दुःखले बेइजती भएँ । तँ सोखले । संसारले नेदेखे मेरो बिजोक ईश्वर भगवान्ले देख्लान् ।”
स्याउले बजारको उराठलाग्दो वातावरणमा सनसनी फैलिन्थ्यो । जीवनको एकनासेपन, अगति र असन्तोषको शिकार भएका मानिसहरु रमिता हेर्न ओइरिन्थे । अनि मुक्कामुक्की पर्न थालेपछि आइमाईहरु पूmलमाया र नक्कलीलाई सराप्तै छुट्याउँथे ।
“कुकुर्नीको जुनी पाएका दुष्टहरु !” साहुनी कान्छी टिप्पणी गर्थी । “तिमेर्को बास उठ्ठा नगरी यो बजार उँभो नलाग्ने भो ।” अनि मानिसहरु वातावरणको दुर्गन्धलाई थुक्तै आ–आफ्ना स्याउले छाप्रामा भित्रिन्थे । स्याउले बजार गरूड पुरानमा कथेको नर्ककुण्डको घिनलाग्दो संसारजस्तै थियो । तैपनि मानिसहरु भन्थे– “मरिजा ! तेरो नर्कबास होस् !”
जीवनको त्यो नीच कचिङ्गलमा हारेपछि फूलमाया क्रोध, लाज र निराशाले हैरान हुँदै आफ्नो अँध्यारो स्याउले छाप्रोमा पस्थी । अनि फरिको अड्याउने चिलाउनेको खाँबोमा अडेस लागेर कसिङ्गरै–कसिङ्गर भएको भुइँमा खुट्टा लतार्दै ढुस्स फुलेर बस्थी । आफूले भोग्दै आएको तुच्छ जीवनलीला सम्झँदै लामो सास फेर्थी ।
एकताक ऊ पनि नक्कली जस्तै तरूनी थिई । उसको रुपमा लाली र महक थियो । छातीमा जोवन र तुजुक थियो । पाखुरीमा आँट र घमण्ड थियो । तर अब उसको जोवनको सत्ता ढल्यो । धाक रवाफको मोल घट्यो । आँखाको मुहुनीमय चमक निभ्यो रजीवनको जहाज डुब्यो । अब ऊ जम्मै रस चुुसेर फोहोरमा मिल्काएको आँपको निरस र बेमतलबको कोयो भई ।
आफ्नो जोवनको पुरानो इतिहास सम्झँदा फूलमायालाई त्यसैत्यैसै डाहा लागेर आयो । त्यो इतिहास अब जगैदेखि ढलेको देख्ता खपिनसक्नु पछुतो लागेर आयो । अनि आफूले भोग गरेको त्यो डाहापूर्ण, घिनलाग्दो र नीच जिन्दगीले उसको मनमा अत्यन्तै ठूलो क्रोध, आत्मग्लानि र विद्रोहको हुरी चलायो । अनि ऊ व्यथित, चिन्तित र लखतरान परेर मूर्छा परे झैं हलचल नगरी एकनाससँग बसिरही ।
“भात खायौ ठूल्दिदी ?” टिमिक् टिमिक् कम्मर नचाउँदै र मिलिक–मिलिक आँखा कर्काउँदै झ्यास्स आइपुगेकी नक्कलीले सोधी । फूलमायाले त्यो सोधाइमा घोचपेच, खिसीट्युरी र अपमान भरिएको छनक पाई । उसलाई झनक्क रिस उठ्यो ।
“छैन ।” बल गरेर रिस दबाउँदै फूलमायाले जवाफ दिई– “कसका आसिकले भात खानु र ?”
“लाउरेसँग गीत गाउन नजाने ?”
“अर्को जुनीमा...,” फूलमायाका डरलाग्दा आँखा नक्कलीको अनुहारमाथि खनिए ।
दुई–चार दिन जीवन धान्ने व्यर्थको आशाले छोराछोरीको आँत मारेर फूलमायाले लुकाएको चामल र दुई–तीन ट्वाक रक्सीको जिलो पनि आज सकियो । फूलमायाको हृदय चिर्दै फेरि एकबाजी उराठलाग्दो गीत उसका कानमा गुन्ज्यो–
सम्पत्तिमा नरान् सबैको हाई–हाई...
हे भगवान् ! अब कसरी प्राण धान्ने होला ?
त्यो रात फूलमाया एक निमेष पनि निदाइन ।
०००
“ठूली छोरी ! ए ठूली छोरी ! क्वै छैन कि कसो ?” एकाबिहानै फरिकोका सस्याना दुलाबाट चियाउँदै साहु कान्छाले डाक्यो । फूलमायालाई सुन्या नसुन्यै गरेर टार्न मन लाग्यो ।
“क्वै छैन भित्र ?”
त्यसरी एकाबिहानै साहु कान्छो आएको देख्दा फूलमायालाई आश्चर्य लाग्यो र उसको मन चङ्ख भयो ।
“निकै नै थला पर्यौ कि क्या हो ?”
“यस्तै हो अन्नपानीको शरीर...,”
“पर्नुसम्म आपत् पर्या छ भन्ने सुन्छु नि ।”
नाक सुम्सुम्याउँदै चिप्लो स्वरमा साहु कान्छाले भन्यो– “ज्वाइँको चिठीपत्र आएन ? अहो ! ती मान्छे पनि ढुक्ककै रछन् । पर्दैन.. पर्दैन... मसँग कुरा लुकाउनुपर्दैन । अनिकालको राँको बल्या छ भन्ने सुन्छु नि । खै अचेल रङ्गरउस गर्या पनि देख्दिनँ । बजारै शून्य देख्छु । किन बिरानो ठान्या हो हामीलाई ? छरछिमेकी, इष्टमित्र चाहिने यस्तै मर्दापर्दा होइन र ? पुरानो इवी सम्झेर आफन्तमा कति दिन चल्छ ? क्यै नभए पनि दुई–चार छाक बाँडीचुँडी खाउँला । लौ म त यसो चलन बुझूँ भनेर आको ।”
फूलमायालाई त्यसका कोखामै बज्रिने खालको खरो जवाफ दिन मन लागेको थियो । तर उसले आफ्नो तामसलाई अदपमा राखी । उसले पुलुक्क साहु कान्छालाई हेरी । उसका खस्रा, ठुटे जँुगामा सिंगानको पाप्रो टाँसिएको थियो । अनुहारमा दयालुपन र उपकारको छनक कत्ति पनि थिएन । त्यो अनुहारमा उसले एउटा अनौठो, रहस्यमय भाव देखी । उसका आँखामा त्यसको अर्थ खुलेन । फूलमायालाई सपनामा पो छु कि तन्द्रामा पो छु भन्ने लाग्यो । “तिमेरु आइमाईको मेल नभए पनि मलाई सौताको छोरो नठान्नू ।” यसो भनेर साहु बाटो लाग्यो ।
फूलमाया निकैबेर पश्चिमतिरको नीलो–नीलो आकाश हेर्दै गजधम्म परेर बसी । साहु कान्छो ठुटे जुँगामा घिनलाग्दो सिंगानको पाप्रो टाँसेर उसको मनमा उभिएको थियो । कालको त्यो डरलाग्दो धरापबाट जिन्दगीलाई जोगाउने कुनै जुक्ति नसुझ्दा ऊ कहालिई । खेल्न गएकी नेप्टी नाकका टुप्पामा चिट्चिट् पसिना लिएर आई । स्याउले बजारको बिखालु वातावरण र घरको नर्कजस्तो हालत देखेर मन खुम्चिएको चतुरे अहिलेसम्म फर्केर आएको थिएन ।
खेतालाहरु आ–आफ्ना कामधन्दातिर लागे । भात खाने बेला टर्यो । घाम चक्र्यो, अलि–अलि बतास चल्यो र आँपका पात सुस्त–सुस्त हल्लिए । मध्य दिन भयो र एकनाससँग बस्दा–बस्दा फूलमायाको ढाड कक््रयो । उसका आँखा पोले । र मन खिन्न भयो ।
“एउटा सानो सम्झौटो लेखिदेऊ बाबु !” गाउँको स्कुलको मास्टरलाई मास्तिर जान लागेको देखेर फूलमायाले बिन्ती गरी । लोग्ने छ, लोग्ने आउँछ, आफ्नो छातीको काँडो लोग्नेले झिकिदिन्छ भन्ने उसको विश्वासमा अब दम थिएन । उसको लोग्ने अब डुब्न लागेको अभागीका लागि परालको त्यान्द्रो जस्तो मात्रै थियो ।
मास्टरले लेखिदिएको बेहोरा चित्त नबुझेपछि बेहोरा उसले आफैं भनी र मास्टरले मुसुमुसु हाँस्दै घोस्से मुन्टो लाएर लेख्यो–
मेरो परान्
तिम्रो दिलकी ऐना भोक, रोग र शोकले डसेर थला परी । तिम्रा पिरेमका ठुन्का अनिकालले बिल्लीबाठ परे । तिम्रो घर मसानघाट जस्तो उल्कै नरमाइलो भो । मुग्लानको धावामा तिमी गयौ । गाउँकै धावामा मिचिएर म मासिन आँटें । परमेश्वरीले तिम्रो मायाको काखमा बस्नु लेखेनछ । नजरको हाँसो देख्नु लेखेनछ । पिरेमको बात सुन्नु लेखेनछ । मेरो परान् ! स्वास्नीले छोराछोरीको चिल्लीबिल्ली पारिछ भनेर पछि मलाई नसराप्नू । स्वास्नीले इज्जतका मुखाँ मोसो लाइछे भनी पछि पछुतो नमान्नू । यता सिङ्गै संसार मेरो बैरी भो । मेरो मनको ताप जम्मै पोख्ने हो भने तिम्रो मुटु चाल्नो जस्तै छियाछिया हुन्छ । बुझ्नेलाई इशारा काफी । दस औंली जोडेर मेरो नमस्ते छ मेरो परान् ! चाँडै घर आउनू ।
तिम्रो हिर्दयकी कान्छी
फूलमाया गुर्सिनी
स्याउले बजारबाट
जेठको १० गते
चिठी हातमा लिएर फूलमायाले निकै बेर आँखा गाडेर हेरी । चिठीको बेहोरा लुलो भएको सम्झँदा उसलाई ठ्याम्मै चित्त बुझेन । आफ्नो भुँडी भर्न पाएपछि आफन्तलाई चटक्कै बिर्सने मुढो जस्तो लोग्नेलाई मूर्छा पर्ने गरी छास्नुपथ्र्यो । त्यसलाई रिङ्गटा चलाउनुपथ्र्यो । त्यसलाई मुटु भत्भती पोलेर लगत्तै घर आउने औडाहामा पार्नुपथ्र्यो ।
चतुरे पाँच–सातोटा चोर औंला जत्रा पोटी माछा चोयामा उनेर तुन्द्रुङ झुन्ड्याउँदै आयो । चिठी हुलाकमा खसाउन भनी फूलमायाले उसलाई अह्राई । चतुरे दोमन जस्तो भएर एकछिन उभियो । ओठ टोक्दै उसले आँखा खुम्च्याएर केही सोच्यो ।
“पर्दैन ।” झर्किंदै उसले भन्यो– “ढुङ्गाको छाती भको बाउलाई केको चिठी ?”
“त्यसो नभन् ।” फूलमायाले सम्झाई– “बाबु चोर भए पनि बाबु हो । निर्गुनी भए पनि बाबु हो । पाले उसैलाई पुन्ने । मारे उसैलाई पाप !”
“जान्नँ ।” चतुरे बटारियो ।
“जा भन्या ।” फूलमायाले कर लगाई ।
“बरू गु पुछेर फाल्दिन्छु यो ।” चतुरे कड्क्यो– “कत्ति चिठी लेख्दा फर्केर नआउने पनि कैल्यै बाउ हुन्छ ? साहु हो त्यो ।” उसले चिठी ध्वार्र च्यात्यो ।
फूलमायाले छोरालाई आँखा तरी । एक मन त छोराको जिरह उसलाई ठीकै लाग्यो, तर उसको चित्त खलास भएन । हेर्दाहेर्दै उसको मुन्टो कुमतिर लप्क्यो । अनुहार विकृत भयो । आँखाका सतहमा राता–राता नसा देखिए । दुःखले उसका हृदयको जम्मै रगत चुसेर सुकाइदिए जस्तो भो ।
उसले मायालु आँखाले छोरालाई हेरी । शरीरमा पोटिलो जोवन भरिएताकका केही सुखका मीठा भावना उसले सम्झिई । बिहा भएको दुई वर्षपछि उसले पेट बोकेकी थिई । हर्ष र लाजले खुम्चिँदै त्यो कुरो लोग्नेलाई सुनाउँदा लोग्नेले उसलाई बडो प्रेमले हेरेर मनमनै स्याबासी दिएथ्यो । कन्जुस साहुले बाकसमा जतनसँग लुकाएको हिराको डल्लो छिनछिनमा सम्झे झैं गरी आफ्नो गर्भभित्रको नौलो मानिसको स्वरुपलाई ऊ छिनछिनमा सम्झन्थी । त्यसको मनमाफिकको हिस्सी कल्पना गर्थी । त्यसको अक्किल र पुरूषार्थको घतलाग्दो कथा कत्थी । अनि आफ्नो रगत–मासु चुसाएर त्यसलाई भित्रै मानिसको रुपरङ दिनुपर्दा हुने सारा कष्ट र वेदनाको पटक्कै ख्याल नगरी अपूर्व आनन्द र गौरवको सागरमा चुर्लुम्म डुब्थी । “मेरो परान्, मेरो हिर्दयको बत्ती, मेरो लालगेडी !”
सुत्केरी भएको रात सबै सुतेर वातावरण चकमन्न भएपछि उसको लोग्ने मुसुमुसु हाँस्दै हातमा मधुरो लाइट बोकेर ऊ सुतेको कोठामा पस्यो । गह्रौं टाउको उठाएर उसले हर्ष र गर्वले मख्ख पर्दै गहिरो कुवाजस्ता आँखाले लोग्नेलाई पुलुक्क हेरी । लोग्नेले बालकको मुखमा पिलपिल लाइट बाल्यो । बालक सन्तोकी चालले मस्त निदाएको थियो । टुकीको मधुरो उज्यालोमा फूलमायाले लोग्नेको अनुहारमा फुर्किएको भाव देखी । उसका कन्चन आँखाबाट प्रेम र स्नेहका चहकिला किरण आफ्नो अनुहारतिर खनिएका देख्दा उसको छाती फुलेर नाङ्लो जत्रै भयो । उसको हृदयमा पवित्र, स्नेहमय र संगतिमय शब्द गुन्ज्यो– आमा ! जीवनको सबभन्दा ठूलो र अप्ठ्यारो बाजी जितेको कल्पना गर्दै उसले आफैंलाई स्याबासी दिई । उसले आमाको नाम पाई । माया पाई । इज्जत पाई । र मानवताको जिउँदो नमुनारुपी मानिस जन्माई । यतिविधि चमत्कारी चीजबीज भएको संसारमा मानिसको जुनी पाउनु कति आनन्दको कुरा ।
तर ती मीठा भावना, सुन्दर सपना र त्यो रोमाञ्चकारी आनन्द जीवनको कठोर र निठुरी आगोमा जलेर खाक भएको देख्दा उसको जीउभरि काँडा उम्रे । नयाँ सिर्जनाको घडीमा हर्ष र उमङ्गले मस्त भएकी त्यही आमालाई आज रण्डीको नामले छिःछिर दुर्दुर गरिन्छ । माया र सिर्जना गर्न जान्ने धरतीलाई प्रगति र प्रेमको गहनाले सिंगार्न जान्ने चेतनशील मानिस जन्माउने रसिलो छाती भएकी त्यही आमालाई चोर्नीको फत्तुर लाएई चुसाइको जाँतोमा पिँधिन्छ र अपमानको आगोमा डढाईहृदयमा निठुरताको कीलो ठोकीजिउँदो लास बनाइन्छ । संसारको दुर्गन्धी र अँध्यारो अनुहारलाई सुगन्ध र चमकले चिटिक्क पार्न सक्ने सन्तान जन्माउने मायाको जिउँदो मूर्तिलाई आज गरिबीको निठुरी राक्षसले खर्लप्पै निल्न आँटेको छ ।
एकटकले चतुरेलाई हेरिरहेका फूलमायाका आँखा छट्पटाउँदै सके यसो भन्दै थिए– “बाबु ! मैले तँजस्तो अभागीलाई जन्माउन मन गरेकी थिइनँ । मैले तँलाई यो नर्ककुण्डमा डुबाउन जन्माएकी थिइनँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण