शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अतीतबाट साभार

फूलमाया–१

शनिबार, ३० फागुन २०८२, ११ : ००
शनिबार, ३० फागुन २०८२

सारांश

  • नेप्टी र चतुरेको कुराकानीमा बाबुको प्रतीक्षा र भोकमरीको पीडा देखिन्छ।
  • नेप्टीको बुबा विदेशमा काम गर्छन्, तर उनको परिवार गरिबीमा बाँचिरहेको छ।
  • गाउँलेहरूले नेप्टीको आमालाई बोक्सीको आरोप लगाउँछन् र चतुरे यसको विरोध गर्छ।

“चतुरे दाइ !”

मूल बाटाको एक छेउमा थुचुक्क बस्दै नेप्टीले डाकी । उसका आँखा मधुरा थिए । र, अनुहार फुस्रो । उसका कलिला गाला ओइलाएका फूलजस्तै विरक्तलाग्दा थिए । र, दृष्टि निराश । उसको हृदय पनि त्यसै–त्यसै उदास थियो ।

“किन ?” चतुरे नेप्टीनेर आएर आँपको जरोमाथि बस्यो ।

“दाइ !” चतुरेका कम्मरमा अँगालो मार्दै न्यास्रिएको स्वरमा नेप्टीले सोधी– “हाम्रा बा आउने बाटो यै हो ?”

“बाटो त यै हो । तर आउने ठेगान छैन ।”

“हाम्रा बा नि लाउरे हुन् ?”

“लाउरे हैन चौकीदार । त्यै क्या त्यै इस्कुलको पाले मङ्गले जस्तै ।”

चतुरे पारिको डाँडोतिर हेर्दै टोलाइरह्यो । नेप्टीले पनि त्यो बाटो हेरी । बा आएको देख्न तिर्खाएका उसका आँखामा फुस्रो बाटो, भेलले खेत पुरेको खोलाको खैरो बगर, तल खोलाका डीलको झ्याम्म परेको आँपको रुख अनि पारिपट्टिको अग्लो डाँडोसम्म फैलिएको अनन्त शून्य बाहेक केही देखा परेन ।

नेप्टीको अबोध मुटु गाँठो पर्‍यो ।

“दाइ !” रुन्चे स्वरमा नेप्टीले विरह पोखी– “बा नआए हामी भोकै मर्ने त दाइ ?”

उसको वचन चतुरेको हृदयमा रोपियो । र, आङ सिरिङ्ग भयो । उसले बहिनीलाई फुल्याउने सुरले उसको आङ मुसार्‍यो । दाजुको छातीमा मुन्टो राखेर ऊ सुँक्कसुँक्क रोई । चतुरेलाई विरक्त लागेर आयो । आठ वर्षकी नाबालक नेप्टी गहिरो रङका प्रश्न चतुरेलाई यसरी सोध्थी मानौं उसले प्रत्येक प्रश्नको मन–माफिकको उत्तर फटाफट दिन सक्छ । तर चौध वर्षको चतुरेको मनमा उल्झनै–उल्झन र कष्टै–कष्टको माखेसाङ्लोबाहेक केही थिएन ।

“हाम्रा बा एक न एक दिन पक्कै आउँछन् ।” पट्टाइलाग्दो मौनतापछि चतुरेले भन्यो । अनि दाहिने हातको चोर औंलाले बहिनीका आँसु पुछिदियो ।

नेप्टीलाई त्यो एक न एक दिन कहिल्यै आइनपुग्ने दिनजस्तो लाग्यो । उसले आँखा चिम्लेर के–के सोच्न खोजी, तर त्यो दिनलाई ऊ जति ओर तान्न खोज्थी उसको बेचैन कल्पनामा त्यो त्यत्तिकै पर हुत्तियो ।

“दाइ ! हाम्रा बा कहाँ छन् ?”

“ऊ त्यो डाँडापारि त्यत्रै सात डाँडा छन् अनि डाँडामुनि अजङ्गको सागर छ । हाम्रा बा त्यै सागरपारि पराईको देशमा छन् रे ।”

“दाइ ! त्यो माथिको अक्कासे भीरबाट हाम्रा बा देखिन्छन् ?”

“काँको देखिन्थे ?” निधार खुम्च्याएर आँखा चिम्रा पार्दै चतुरेले भन्यो– “पैले चार दिन मटरमा अनि चार एक दिन केजाती दिन रेलमा कुदेपछि बा भाको ठाउँ आउँछ भन्छन् । मुग्लान भनेको भारत हो । भारत भनेको हाम्रा बाको अड्डा भाको ठाउँ.... ।”

कुरा सुन्द नेप्टीलाई कहाली लागेर आयो । उसलाई आफ्नो बा कहिल्यै नफर्किने बाटोमा गएको पो हो कि भन्ने लाग्यो । 

“भो नरो !” नेप्टीका गाला मुसार्दै चतुरेले फकायो– “नरो ! एक न एक नि पक्कै आउँछन् । अनि बा आएपछि हामीलाई यस्तो दुक्ख हुँदैन ।”

पूर्वपट्टिको सानो खोलोबाट फन्फनी घुम्दै आकाशतिर बेगिएको हावाको सानो लहरले आँपका पातहरु सिरसिर हल्लायो । बाटुलो र रातो घाम पश्चिमको डाँडोमा पुग्यो । बास बस्न गुँडतिर बेगिन हतारिएका चराचुरुङ्गी मास्तिरको जङ्गलभरि कराउन थाले । मगर कान्छो थैलो र जाल काँधमा बोकेर खोलातिर सोझियो । मकै गोड्न बेसी झरेका गाउँले किसान र गरिबगुरुवाहरु कोही झ्याउरे गीत गाउँदै, कोही थकाइको सुस्केरा हाल्दै र कोही दुःखको व्यवहारका बात मार्दै गाउँतिर उकालो लागे । आँपको फेदमा आड लागेर नेप्टीले उदास आँखाले खेतालाको ताँती नियाली । तर लाउरे छाँटको उसका बा कतै देखिएनन् । उसले आफ्नै पाखुरो टोकेर हृदयमा उठेको छटपटीको बेगलाई मत्थर पार्न खोजी ।

कीरा–फट्याङ्ग्रा, फलफूल र चुराचुरmङ्गीका फुल–बच्चा खान पल्केको लोखर्के आँपको रुखमा करायो– क्वाक्–क्वाक्–क्वाक्–क्वाक् । नेप्टीले मुन्टो उठाएर चारैतिरका हाँगामा आँखा डुलाई । तर लोखर्केको सट्टा उसका आँखा आँपका कलिला झुप्पामा परे । उसको जिब्रो तिर्सनाले रसायो । र, दिल आशाले रमायो । तर त्यत्रो  रुखमा चढ्नु उसको बुता बाहिरको कुरा थियो । उसको मन निचोरियो । 

“दाइ !” चर्को स्वरमा उसले डाकी ।

“हँ ?” चतुरे छेउमा आइपुग्यो ।

“आँप झार्देन दाइ एक झुप्पो ।”

“नाइँ,” चतुरेले नकार्‍यो– “कलिला आँपले रगतमासी पर्छ ।”

“परोस् !” उसले जिद्दी गरी ।

“हुँदैन भनेपछि हुँदैन । पड्काइदिउँला तँलाई ।” मुखभरि रसाएको पानी पिच्च थुक्दै रिसाहा आँखाले नेप्टीले दाजुलाई पुलुक्क हेरी । अनि आन्द्रा बटारिएको पेट सुम्सुम्याउँदै र रिङ्गटा लागेको मुन्टो थाम्दै चिन्तित आँखाका कोसमा आँसुका लेग्रा लिएर नेप्टी आफ्नो स्याउले छाप्रोतिर लागी । आमाको काखमा मुन्टो राखेर एकछिन सुस्ताई अनि फुस्स निदाई । 

०००

आँपका लर्किएका कलिला र रसिला पातका झुप्पा भएका फुर्कामा झुल्के घामको पहेँलो लाली खनियो । झन् वाक्कलाग्दो दुःखको अर्को दिन आयो । कलिलो उमेरकी नेप्टीमा उमेर अनुसारको चुल्बुलेपन ओइलाउँदै गएजस्तो लाग्थ्यो । उसको अनुहारमा निराशा, बोलीवचनमा थकान, जीउमा सुस्ती थियो मानौं उसको जिउँदोपन नै सेलाउँदै गएको हो ।

पूर्व फर्केको उदाङ्गो ढोकाबाट घामको पहेँलो किरण भित्र पसेपछि नेप्टी ओछ्यानबाट उठी । अनि घामको किरण हेर्दा तिर्मिराएका आँखा मिच्दै र अल्छी मानेर आङ तान्दै बाहिर निस्किई । बाहिरको वातावरण निरस र वाक्कलाग्दो देखेर फेरि भित्र पसी । र, सिरकभित्र गुटुमुटु पर्दै तनक्क जीउ तन्काएर सुतेकी आमालाई पुलुक्क हेरी । खोपिल्टा परेका गाला, कत्लैकत्ला भएको नाक र कचेरै–कचेरा लागेका आँखा, अनुहारभरि पीर र औडाहाको भाव । आमाको अनुहारमा पनि आफ्नै हृदयको छट्पटी र निराशा देख्दा नेप्टीको मन भाँचियो ।

हाड–छाला मात्र बाँकी रहेको घिनलाग्दो कुकुर टाँगमुनि पुच्छर लुकाएर घिस्सिँदै, डराउँदै भित्र पस्यो । र, चारैतिर सुँघ्दा केही नपाएर बाहिर निस्क्यो । माटाको कैलो घैंटो हातमा झुन्ड्याएर घुँडासम्मको लिँडो गुन्यु र कुहुनो फाटेको चोलो लाएकी नेप्टी खोलातिर हिँडी । परको बास छोडेको कटेरोमा चार–पाँच जना भरिया पत्पत् धुवाँ उडाउँदै भात पकाउन लागेका देखेर ऊ एकछिन उभिई अनि लुखुर–लुखुर खोलातिर लागी ।

“दाइ !” खोलावारि डीलमा पुगेर उसले डाकी । खोलाको मसिनो सुसेलीमा मिसिँदै हावामा छरिएको उसको स्वर चतुरेका कानमा पुग्दा मधुरो भएको थियो । घण्टौंदेखि तलाउका किनारमा माछा ढुकेर बसेको घोइरो बकुल्लो झैं चतुरे झन्डै एक घण्टादेखि दहमा बल्छी डुबाएर मुन्टो निहुँराउँदै, सङ्लो पानीभित्र टुलुटुलु हेर्दै अचल भएर उभिएको थियो । उसको हृदयका पर्दामा थुप्रै काला–काला छाया टाँसिएका थिए– एक छेउमा लम्पसार परेर हप्तौंदेखि थला परेकी आमाको छायाँ, अर्को छेउमा बाको बाटो हेर्दै हुरmक्क हुन खोज्ने नाबालक बहिनीको छायाँ, बीचमा मुग्लान भासिएर जहान–बालबच्चाको शोकसुर्ता नगर्ने निर्मोही बाबुको छायाँ र यी सबै छायाँलाई ग्रहणले चन्द्रमालाई झ्वाप्पै छोपे झैं छोप्ने कान्छा साहुको कन्जुस र निठुरी छायाँ ।

इशारा गर्दै चतुरेले सोध्यो– “किन ?”

“मैले एक थोक देख्या छु ।”

“के ?”

नेप्टीका आँखामा आशाको फिलुङ्गो थियो अनि चतुरेको आँखामा उत्सुकताको लहर ।

“मैले अलिकति चामल देख्या छु ।”

“काँ ?”

“चुल्हाको कुनामा स्यानो डालो छ । डालामा रातो टालोमा चामल छ । भुँड्कोमा अलिकता रक्सी छ ।”

“आमालाई भनिनस् ?”

“आइज दाइ ! सँगै गएर भनूँ ।”

“तँ भात पकाइराख्, म माछा लिएर आउँला ।”

चतुरेलाई कर लगाउन बिन्तीभाउको भावमा नेप्टीले उसको पाखुरो समाई, सुम्सुम्याई । चतुरे पहिलेजस्तै अचल भएर तिर्सनामय आँखा पानीमा गाडेर चुपचाप निहुरिइरह्यो । नेप्टीको मन कालो बादलले ढाकियो । कम्मरमा घैंटो बोकेर लुलिएका पिँडुला घिस्स्याउँदै दिक्दारीसाथ ऊ खोलाको डिलितिर उक्लिई । 

“दाइ !” खोलाको डिलमा पुगेर फर्कंदै उसले बोलाई । अनि सुस्केरामा मनको ताप पोख्दै घर पुगी ।

“आमा !” आँखा चिम्लेर घ्यार्–घ्यार् सास फेर्दै सिरानीमा मुन्टो जोतेर घोप्टो परेकी आमाको अनुहारभरि छरिएको कपाल तह लाउँदै लाडे स्वरमा नेप्टीले सोधी– “आमा ! म भात पकाऊँ ?”

फूलमायाले निर्बल हातले छोरीको मुन्टो तानेर आफ्नो छातीमा टाँसी अनि मायालु हातले उसका गाला मुसारी । र, उसको कपालमा म्वाइँ खाई ।

“मैले चामल देख्या छु । आमा ! नाइँ पकाउँछु ।”

छोरीको कुमको सहारा लिँदै पूmलमाया उठी र घामको ज्योतिले टट्टाएका आँखा मिची । छोरीको विरक्तलाग्दो अनुहारमा टिक्न नसकेका उसका मायालु दृष्टि बाहिरको शून्यमा बिलाए ।

“नेप्टी... मेरी नानु !” छोरीलाई काखमा टाँस्दै अधीरतासाथ उसले सम्झाई– “भाग्यले कुनै लाउरे आयो भने दुई–चार छाक टर्ला भनेर त्यो चामल जोगाइराख्या हो । जिलो नै मासियो भने मरे बराबर हुन्छ । अलिबेर पख् । चतुरे आउला, माछा ल्याउला । कर्म खोटो नभए दैवले तेरा बालाई भरेभोलि पठाइदेला ।”

भावशून्य नजरले नेप्टीले आमाको टिठलाग्दो अनुहार हेरी अनिकुद्दै खोलामा पुगी । फुर्तीलो चालले चतुरेले बल्छीको टाँगो हुत्यायो । नेप्टीको नाडी जत्रो माछो किनारको बालुवामा पछारिएर फिरफिर घाँटी चलाउँदै, प्याक–प्याक मुख बाउँदै उफ्रियो । नेप्टीले माछो टपक्क टिपी ।

“याँ ले ।” हुकुमी स्वरमा चतुरेले भन्यो ।

“नाइँ... खान्छु ।” दगुर्न खोज्दै नेप्टीले भनी ।

“हन्तकाली बोक्सी !” आँखा तर्दै चतुरेले गाली गर्‍यो । अलि परको बाटुलो र चिल्लो ढुङ्गोमा बसेर पुलुक–पुलुक चतुरेलाई हेर्दै नेप्टीले सिङ्गै माछो मुखमा हालेर चपाई । अनि मुख बिगार्दै पिच्च थुकी ।

दिउँसो चतुरे निकै बेरदेखि खोला किनारको डिलमा थकाइ मार्ने चौतारोमा आँपको शीतल छहारीमुनि गुत्थ फुलेर बसेको थियो । नेप्टी आज दौंतरी साथीसँगीसित लुकामारी खेल्न र पौडी खेल्न गइन । भावशून्य र विरही आँखाले आमालाई टुलुटुलु हेर्दै धेरैबेर घरै बसी । अनि बेसुरमै खोलाको किनारतिर हिँडी ।

“दाइ !” उसले डाकी ।

चतुरेले उसलाई पुलुक्क पनि हेरेन । घुँडाका बीचमा मुन्टो लुकाएर ऊ एकनाससँग बसिरह्यो । छेउमा पुगेर नेप्टीले उसलाई शिरदेखि पाउसम्म सर्सरी नियाली । उसका निस्तेज आँखामा उराठलाग्दो भाव थियो ।

“के भो दाइ?”

“नकरा । मलाई झर्को नला ।”

“आमा रोएको देखिस् तैंले ?”

“के रे ?” तर्कनाको जन्जालमा जेलिएको उसको ध्यान नेप्टीको स्वरतर्फ एकोहोरियो । 

“हँ ? आमा फेरि रोइन् ?”

“मुख लुकाएर रोइन् अनि सुटुक्क आँसु पुछिन् ।”

“कान्छा साहुका खलक हामीलाई हेप्छन् ।” उसले मनको निसास पोख्योे– “हाम्री आमालाई तिनले बोक्सीको बात लाका छन् । हाम्रो बासउठ्ठा गर्ने सुर झिक्या छन् ।”

“बोक्सी अनि बासउट्ठा ? त्यो भन्या के हो दाइ ?”

“बोक्सी भन्या...,” चतुरेले बेलिबिस्तार लायो– “बोक्सी भन्या अर्काको मुुटु कलेजो खाने र ज्यान लिने । बासउठ्ठा भन्या भएभरको झिटी खोसेर बिल्लिबाठ पार्ने ।”

नेप्टीले आश्चर्यपूर्वक चतुरेलाई हेरी र सोची– “के मान्छेले मान्छेको मुटु कलेजो खान सक्छ ? त्यसमा पनि उसकी जाती आमा फूलमायाले मान्छेको मुटु कलेजो खान सक्छे ? कस्तो कुरो ?”

“कसको कलेजो खाइन् रे दाइ हाम्री आमाले ?”  नेप्टीले सोधी ।

“साहु कान्छाकी बुहारीको । त्यसै भन्या छ त्यस कन्जुसले ।”

“तैंले देख्याथिस् त ?”

“काँको देख्नु ? बा छैनन् भनेर हाम्री आमालाई फत्तुर लाउँछन् । गरिब भनेर हाम्लाई हेलाँ गर्छन् । अब त अचाक्ली भो ।”

अज्ञान आँखाले नेप्टीले चतुरेलाई टुलुटुलु हेरी । चतुरे जति बोल्दै गयो उसको मन रिस र तापले त्यति नै भरियो । दश दिनअघि आफ्नी आमालाई रण्डीको बात लाएको सुनेर साहु कान्छाकी स्वास्नीसँग ऊ चर्चरी बाझेको थियो । त्यस्तो नीच र दुष्ट वचन सुन्दा उसको हृदयमा गहिरो चोट लागेको थियो । चारैतिरको दमनकारी वातावरणले उसको मनमा इज्जतको चेत जगाउन थालेको थियो । साहु कान्छाका खलकले गरेको खिसीटिउरी, गाली–बेइजती र थिचोमिचो देख्दा रिसले उसका कन्सिरीका रौं तातेर आउँथे । र, ऊ तिनलाई वचन लाउँदै दगुथ्र्यो ।

“मुख छ भन्दैमा मनपरी नबोल ।” राँकिएको स्वरमा ऊ साहुनी कान्छीलाई वचन लाउँथ्यो– “सेठिनी भएँ भन्दैमा निहुँ नखोज ।” कम्मरमा हात राखेर जुल्फी हल्लाउँदै क्रोधपूर्ण स्वरमा ऊ कुर्लिन्थ्यो– “मेरी आमा बोक्सी भए तँ डंकिनी ।” एक दुई पाइला पछि हट्दै ऊ थान थाप्थ्यो– “कसैको धनको धक्कुले कोही डराउँदैन ।” ऊ दाह्रा किट्दै जङ्गिन्थ्यो । “मेरी आमालाई फेरि यस्तो फत्तुर लाइस् भने लाइदिन्छु तेरा घराँ डढेलो ।” निधार खुम्च्याउँदै ऊ हाँक दिन्थ्यो अनि साहु कान्छाका जहान एकमुष्ट भएर उसलाई लाठीमुङ्ग्री गर्न आइलागेपछि ऊ ठाडो पुच्छर लाएर कुद्थ्यो अनि एकाध दिन अन्तै बेपत्ता हुन्थ्यो । छोराको कसुरलाई लिएर साहु कान्छाको खलकले चतुरेकी आमालाई हप्की र दप्की, गाली र मुड्की, बेइज्जती र सास्ती दिएर लिुनसम्म हुर्मत लिन्थे । जिन्दगीको कष्टपूर्ण बोझ र मिचाहाको रजाइँ देखेर वाक्क भइसकेकी फूलमाया कैयौं रात ताराको बिस्कुन हेरेर तड्पिँदै रात काट्थी । कैयौं दिन लोग्नेको बज्र सरी कठोर छाती सम्झेर निस्सासिँदै समय गुजार्थी ।

“आमा !” बाहिरफेर बरालिएर घरभित्र पाइला टेक्नासाथ नेप्टीले भनी– “तिमीलाई बोक्सी भने भनेर हाम्रो चतुरे रुँदैछ । पर खोलाका डिलाँ छ ऊ ।”

फूलमायाले आफ्ना झिना पाखुराले छोरीलाई बेरेर छातीमा टाँसी । उसका निस्तेज आँखामा आँसुका शूल बिझाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप