बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

खेलकुदलाई शिक्षाभन्दा पहिलो प्राथमिकता दिनुपर्छ, छुट्टै विश्वविद्यालय चाहिन्छ : सांसद लामिछाने

मङ्गलबार, १७ चैत २०८२, १५ : १५
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले खेलकुद क्षेत्रमा परिवर्तनको आवश्यकता औंल्याए।
  • उनले खेलकुद मन्त्रालयलाई छुट्टै र स्वायत्त बनाउनुपर्ने प्रस्ताव राखे, साथै खेलकुद विश्वविद्यालयको आवश्यकतामा जोड दिए।
  • सांसद लामिछानेले खेलकुदको विकासका लागि सबै खेलकर्मीहरूलाई एकजुट हुन आह्वान गरे।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने परम्परागत दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको औँल्याएका छन्। राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी तथा खेलकर्मीहरूसँगको भेटघाटमा उनले खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयबाट अलग गरी पूर्ण रूपमा स्वायत्त बनाउनुपर्ने प्रस्ताव अघि सारेका हुन्। 

मानिसको जन्मदेखि नै खेलकुदका क्रियाकलाप सुरु हुने भएकाले शिक्षाभन्दा खेलकुदलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको तर्क छ। सांसद लामिछानेले खेलकुद मन्त्रालयलाई छुट्टै र शक्तिशाली अस्तित्वमा ल्याउन आफूले प्रधानमन्त्री र पार्टी सभापतिसँग विशेष पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। 

दक्षिण कोरियाको आफ्नो अध्ययन अनुभव सुनाउँदै उनले नेपालमा सरकारी स्तरको स्वायत्त खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिए। सातदोबाटोमा रहेको नेपाल खेल विज्ञान प्रतिष्ठानलाई अझ बढी वैज्ञानिक र अनुसन्धानमुखी बनाउनुपर्ने धारणा राख्दै उनले खेलकुदलाई केवल मनोरञ्जनको रूपमा मात्र नहेरी वैज्ञानिक पद्धतिबाट अगाडि बढाउनुपर्ने बताए।

सम्बोधनका क्रममा उनले मानिसले जन्मिएपछि पहिला खेलकुदका क्रियाकलाप गर्ने र त्यसपछि मात्र औपचारिक शिक्षा लिने भएकाले ‘खेलकुदपछि शिक्षा’ को मान्यता स्थापित हुनुपर्ने बताए। दक्षिण कोरियाको योङ्गीन विश्वविद्यालयमा पीएचडी गर्दाको स्मरण गर्दै उनले एउटै विश्वविद्यालयले एसियाली खेलकुदमा २८ वटा पदक जित्दा नेपालको नाममा एउटा मात्र पदक हुनु दुःखद रहेको उल्लेख गरे। 

जबसम्म देशमा छुट्टै खेलकुद विश्वविद्यालय बन्दैन, तबसम्म यस क्षेत्रको विकासले गति लिन नसक्ने उनले स्पष्ट पारे। राजनीतिमा होमिएपछि खेलकुद क्षेत्रसँग केही समय दूरी बढे पनि आफ्नो मन सधैँ खेलकुदमै रहेको उनले बताए। 

खेलाडीहरूको प्रदर्शन र क्षमता विकासका लागि राज्यले कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ। राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयसँग मिलेर आगामी दिनमा खेलकुदको स्तर उकास्न आफू निरन्तर लागिपर्ने विश्वास उनले दिलाए। 

लामो समय खेलकुद विज्ञका रूपमा काम गरेका लामिछानेले खेलकुद क्षेत्र ओझेलमा पर्ने डर सधैँ रहने गरेको भन्दै यसको उत्थानका लागि सबै खेलकर्मीहरूलाई एकजुट हुन आह्वान गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप