ग्रेटर लुम्बिनी परियोजना अन्तर्गत १२ अर्ब रुपैयाँ कहाँ कहाँ लगानी हुन्छ ?
सारांश
- विश्व बैंकले लुम्बिनीलाई केन्द्रमा राखेर 'ग्रेटर लुम्बिनी' परियोजनाका लागि १२ अर्ब ऋण दिने निर्णय गरेको छ।
- परियोजनाले कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बुद्धसँग सम्बन्धित क्षेत्रको पूर्वाधार विकास गर्नेछ।
- यो परियोजनाले पर्यटन पूर्वाधारमा लगानी गर्ने र स्थानीय आर्थिक गतिविधि बढाउने लक्ष्य राखेको छ।
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीलाई समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनका लागि विश्व बैंकले करिब १२ अर्ब रुपैयाँ बराबरको ऋण दिने निर्णय गरेको छ ।
नेपाल सरकारले लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीको देवदह, कपिलवस्तुको तिलौराकोट र पश्चिम नवलपरासीको रामग्रामलाई समेट्दै बृहत् लुम्बिनी क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यसहित परियोजना अगाडि बढाएको थियो ।
सोही परियोजना कार्यान्वयनका लागि विश्व बैंकको बोर्ड बैठकले ८५ मिलियन अमेरिकी डलर अर्थात् १२ अर्ब ३५ करोड रुपैयाँ ऋण उपलब्ध गराउने निर्णय गरेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले रातोपाटीलाई जानकारी दिए ।
अब अर्थ मन्त्रालयले केही समयपछि मन्त्रिपरिषद्मा स्वीकृतिका लागि प्रस्ताव पठाउने उनको विश्वास छ । नेपाल सरकारको मन्त्रिपरिषद्ले उक्त ऋण लिन स्वीकृत गरेपछि बल्ल परियोजना कार्यान्वयनका लागि सम्झौता हुने उनले प्रस्ट पारे ।
राईका अनुसार नेपाल सरकार र विश्व बैंकका बिचमा सम्झौता भएपछि सहरी विकास मन्त्रालय र पर्यटन मन्त्रालयमार्फत परियोजना कार्यान्वयन हुनेछ । परियोजना कार्यान्वयनका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत गत वर्ष मार्चमा विश्व बैंकलाई प्रस्ताव पठाइएको थियो ।
- रकम कहाँ लगानी हुन्छ ?
यो परियोजनाले लुम्बिनी क्षेत्रको पूर्वाधार विकास, पर्यटन पूर्वाधारमा लगानी र स्थानीय आर्थिक गतिविधिलाई बढवा दिने अपेक्षा गरिएको छ । परियोजना कार्यान्वयनमा गएपछि उक्त ऋणबाट कपिलवस्तु, रुपन्देही र नवलपरासीका बुद्धसँग सम्बन्धित क्षेत्रहरूको विकासमा खर्च गरिनेछ ।

लुम्बिनी विकास कोष सूचना अधिकारी डा हरिध्वज राईले लुम्बिनीलाई केन्द्रमा राखेर बुद्धसँग सम्बन्धित तीन वटा जिल्लाका ऐतिहासिक स्थलहरूलाई समेट्नेगरी बनाइएको बृहत्तर लुम्बिनी परियोजनाअन्तर्गत पर्यटकहरूसँग सम्बन्धित पूर्वाधारका काम हुने रातोपाटीलाई बताए ।
जसअनुसार लुम्बिनी र बुद्धसँग सम्बन्धित चार वटा नगरपालिका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह, रामग्राम र कपिलवस्तु नगरपालिकालाई प्रत्यक्ष लाभ हुने छ । ती चार वटा नगरपालिकाभित्रका सडक, नाली, बसपार्क, तीर्थयात्रीहरूका लागि ध्यान केन्द्र, विश्राम स्थल, क्याफे, सूचना केन्द्र, स्थानीय उत्पादनको बिक्री केन्द्र लगायत पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि उक्त रकम खर्च हुने छ ।
लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत स्थल हो भने यहाँको मायादेवी मन्दिर, बुद्ध जन्मस्थल, पवित्र पोखरी र अशोक स्तम्भ ऐतिहासिक महत्त्वका सम्पदा हुन् । यस्तै कपिलवस्तुको तिलौराकोट प्राचीन शाक्य राज्यको राजधानी हो ।
यस्तै गौतम बुद्धको मावली रुपन्देहीको देवदहमा बुद्धसँग जोडिएका ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरू छन् । पश्चिम नवलपरासीको रामग्राम स्तूप बुद्धको मूल अवशेष सुरक्षित रहेको एकमात्र स्तूप मानिन्छ ।
विकास कोषका सूचना अधिकारी डा राईले यसको गुरुयोजना तयार भइसकेको प्रस्ट्याउँदै परियोजना अन्तर्गत पहिलो चरणमा यी मुख्य बौद्ध सम्पदालाई केन्द्रमा राखी कार्यान्वयन गर्ने योजना रहेको बताए ।
लुम्बिनी पर्यटन विकास परिषद् कार्यकारी निर्देशन रामु जोशीले उक्त परियोजना लागु भएमा ती चार वटा स्थानीय तहमा मात्रै विकास नभएर अन्य क्षेत्रमा पनि थप पर्यटन विकास गर्न महत्त्वपूर्ण उपलब्धि हुने बताए । उनले बहुक्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय साझेदारीमार्फत लुम्बिनीलाई केन्द्रमा राखेर धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण र दिगो आर्थिक समृद्धिको नमुना क्षेत्र बनाउन सकिने बताए ।
यो परियोजना लागु हुँदा विदेशी पर्यटकको आगमन बढ्ने र ती पर्यटकलाई प्रदेशका अन्य गन्तव्य स्थलमा पनि लैजान सहज हुने जोशीको भनाइ छ । लुम्बिनी आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष होमराज भुसालले उक्त परियोजना कार्यान्वयन आउँदा यस क्षेत्रको आर्थिक क्षेत्र थप चलायमान हुने तथा स्थानीयको आयस्रोतमा वृद्धि हुने बताए ।
- लामो समयदेखिको प्रयास
केही वर्षअघि ग्रेटर लुम्बिनी अवधारणा अगाडि बढाइएको थियो । लगानी सुनिश्चिततासँगै कार्यान्वयन गर्दै स्थानीय तह बिच अलमल आदि कारणले यसको प्रक्रियामा ढिलाइ भएको थियो । पछिल्ला वर्ष यो परियोजना अगाडि बढाउन बुद्धसँग जोडिएका चार वटा स्थानीय तह सहमत भएका थिए ।
केही महिना अगाडि रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको नेतृत्वमा देवदहका नगर प्रमुख ध्रुवप्रसाद खरेल तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजन, सोही नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीसहितको टोलीले विश्व बैंकका प्रतिनिधिलाई संयुक्त ज्ञापन पत्र बुझाएका थिए ।
पछिल्लो एक वर्षको मेहनत सफल भएको लुम्बिनी विकास कोषका कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए । लगानीको स्रोत खोज्ने, थप क्षेत्र समावेश गरी पर्यटन गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले विज्ञ स्तरमा निरन्तर अध्ययन र अन्तरक्रिया हुँदै आएको पनि उनले प्रस्ट पारे ।
लुम्बिनीलाई आध्यात्मिक, सांस्कृतिक र पर्यटन केन्द्रका रूपमा स्थापित गर्दै समग्र क्षेत्रको पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जनाको यो परियोजना आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण