पहिलो रङ्गिन फिल्म ‘कुमारी’ प्रदर्शनसँगै काठमाडौँमा महिला चलचित्र महोत्सव सुरु
सारांश
- काठमाडौँमा चलचित्र विकास बोर्डले चार दिने 'महिला चलचित्र महोत्सव' आयोजना गरेको छ।
- महोत्सवको उद्घाटनमा नेपालकी प्रथम नायिका भुवन चन्द प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
- महोत्सवमा महिला सशक्तीकरण, चलचित्र प्रदर्शन, र अनुभव आदानप्रदानका कार्यक्रमहरू समावेश छन्।
काठमाडौँ । चलचित्र विकास बोर्डको आयोजनामा काठमाडौँमा चार दिने ‘महिला चलचित्र महोत्सव’ सुरु भएको छ । महिला सशक्तीकरणलाई मुख्य उद्देश्य राखेर मंगलबारबाट सुरु गरिएको महोत्सव फागुन २० गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन कार्यक्रममा नेपालकी प्रथम नायिका भुवन चन्द प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
कार्यक्रममा चैत्यदेवी सिंह, प्रेम बस्न्यात, विष्णुगोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायत चलचित्र क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो । महोत्सवको पहिलो दिन महिला चलचित्रकर्मी सशक्तीकरण समितिको परिचयात्मक भिडियो प्रदर्शन गरिनुका साथै नेपाली चलचित्र इतिहासको महत्त्वपूर्ण चलचित्र ‘कुमारी’ प्रदर्शन गरियो। सो अवसरमा ‘कुमारी’ चलचित्रका कलाकारहरूसँग अन्तर्क्रिया, अनुभव आदानप्रदान र निर्माण टिमको लाइभ पोट्र्रेट प्रस्तुति समेत गरिएको थियो ।
चार दिने महोत्सव अवधिभर महिला विषयमा आधारित चलचित्रहरू ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन गरिने बोर्डले जनाएको छ । कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र क्षेत्रमा महिलाहरूको भूमिका केवल अभिनयमा मात्र सीमित नरहेको बताए। उनले भने, ’महिलाहरूको योगदान सिर्जना, नेतृत्व, व्यवस्थापन र सामाजिक रूपान्तरणसम्म फैलिएको छ।
उनीहरूको क्षमता र संघर्षलाई संस्थागत रूपमा सम्मान गर्न यो महोत्सव आयोजना गरिएको हो।झ महोत्सवमा चलचित्र प्रदर्शनका साथै विभिन्न स्रष्टा, निर्देशक र सरोकारवालाहरूबिच अनुभव आदानप्रदान, अन्तर्क्रिया, सम्मान र विशेष सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएका छन्। यस कार्यक्रमले नेपाली चलचित्र उद्योगमा महिलाको योगदानलाई उजागर गर्दै नयाँ पुस्ताका महिला चलचित्रकर्मीहरूलाई प्रेरणा दिने विश्वास बोर्डले लिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण