सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

निर्वाचन समीक्षा र आगामी रणनीति तय गर्दै सकियो देउवा–कोइराला पक्षको बैठक

बुधबार, १८ चैत २०८२, २१ : १७
बुधबार, १८ चैत २०८२

सारांश

  • शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको बैठक प्रतिनिधिसभा निर्वाचन र आगामी रणनीतिबारे छलफल गर्दै सम्पन्न भयो।
  • बैठकले पार्टीलाई कमजोर बनाउन विधान विपरीत विशेष महाधिवेशन गराएको निष्कर्ष निकाल्यो, तर कुनै औपचारिक निर्णय गरेन।
  • नेताहरूले रास्वपालाई दुई तिहाइ नजिक पुर्‍याउन कांग्रेसलाई कमजोर बनाइएको र केही नेता प्रयोग भएको आरोप लगाए।

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहको बैठक प्रतिनिधिसभा निर्वाचन र समूहको आगामी रणनीति तय गर्दै सकिएको छ ।

मङ्गलबार र बुधबार काठमाडौँको महाराजगन्जस्थित स्मार्ट होटलमा बसेको बैठकले पार्टीलाई कमजोर गराउने उद्देश्यले केही तत्त्वले विधान विपरीत विशेष महाधिवेशन गराएको निष्कर्ष निकालेको छ। तर बैठक अनौपचारिक भएकाले कुनै औपचारिक निर्णय भने गरेन । 

बैठकको अन्तिममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई नजिक सिट ल्याउन सहज बनाउने उद्देश्यले रणनीतिक रुपमा कांग्रेसलाई कमजोर बनाइएको बताए । उनले कांग्रेसलाई अझै कमजोर बनाउने तत्वहरु क्रियाशील रहेको पनि बताए । 

अर्का नेता डाक्टर शेखर कोइरालाले नेपाललाई सक्न केही शक्तिहरू लागेको र त्यसमा कांग्रेसका केही नेताहरू प्रयोग भएको बताए। उनले प्रयोग हुने नेताहरु केही विशेष महाधिवेशन पक्षधर र केही नियमित महाधिवेशन पक्षधर रहेको पनि आरोप लगाए । 

बैठकमा नेताहरूले प्रतिनिधिसभा निर्वाचनबारे समीक्षा गरेका छन् । 

बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधिले आफूहरू निर्वाचनमा लड्न गए पनि गगन थापालाई सभापति नमानेको बताए । 

अनौपचारिक बैठकले समूहको आगामी रणनीति समेत तय गरेको नेताहरुले बताएका छन्। विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको र अहिले विचाराधीन रहेको रिट आफ्नो पक्षमा पार्न पहल गर्ने बैठकमा नेताहरूले बताए ।

देउवा कोइराला समूहले आफूहरूले आधिकारिकता पाउनुपर्ने दाबी गर्दै सर्वोच्चमा दायर गरेको रिटको चैत २२ गतेका लागि पेसी तोकिएको छ। 

त्यसपछि कसरी अगाडि बढ्ने भन्ने थप रणनीति तय गर्ने समूहको तयारी छ । बैठकमा अवैध विशेष महाधिवेशनबाट आएको नेतृत्वले गर्ने अवैधानिक क्रियाकलापको सशक्त रूपमा विरोध गर्ने सदस्यहरूले बताएका थिए । बुधबार खड्कालाई पार्टीको लेटर प्याड र नभएको पदको दुरुपयोग गरेकाले सचेत गराउने भन्ने निर्णयको पनि सशक्त विरोध गर्नुपर्ने नेताहरूले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप