शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पहिलो पटक स्पेनमा आध्यात्मिक महोत्सव

बिहीबार, २६ चैत २०८२, ०६ : २२
बिहीबार, २६ चैत २०८२

सारांश

  • एनआरएनए स्पेनले स्पेनमा रहेका नेपालीहरूका लागि 'नेपाल घर' निर्माण गर्ने अभियान सुरु गरेको छ।
  • यो अभियानलाई सफल बनाउन युरोपमै पहिलो पटक ५ दिने भव्य आध्यात्मिक महोत्सव आयोजना गरिएको छ।
  • महोत्सवमा भागवत गीता तथा बुद्ध उपदेशमा आधारित प्रवचन र भजन कीर्तन सञ्चालन भइरहेको छ।

बार्सिलोना । ठुला–ठुला सपना बोकेर बिदेसिएका नेपालीहरू विभिन्न कारणले अकालमै ज्यान गुमाउँदा अन्त्येष्टि तथा कर्मकाण्ड गर्नसमेत उचित स्थान अभाव हुने समस्यालाई मध्यनजर गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनले ‘नेपाल घर’ निर्माण अभियान सुरु गरेको छ। सोही अभियानलाई सफल बनाउन युरोपमै पहिलो पटक ५ दिने भव्य आध्यात्मिक महोत्सव आयोजना गरिएको छ।

एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार, स्पेनमा बसोबास गर्दै आएका नेपालीहरूलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा सहयोग पुर्‍याउने उद्देश्यले ‘नेपाल घर’ निर्माणको परिकल्पना गरिएको हो। यसले विशेषगरी दुःखद अवस्थाहरूमा अन्त्येष्टि तथा कर्मकाण्ड गर्न सहज वातावरण प्रदान गर्ने विश्वास लिइएको छ।

आध्यात्मिक महोत्सव अप्रिल ५ देखि सुरु भई अप्रिल १० सम्म सञ्चालन हुने जनाइएको छ। महोत्सवमार्फत हालसम्म १ लाख ७१ हजार ९ सय ७५ रुपैयाँ सङ्कलन भइसकेको आर्थिक संयोजक दीपक बस्नेतले जानकारी दिए।

महोत्सवमा श्रीमद् भागवत गीता तथा बुद्ध उपदेशमा आधारित प्रवचनका लागि नेपालबाट प्रख्यात वाचक प्रवीण दिनबन्धु पोखरेलको विशेष आगमन भएको छ। कार्यक्रममा दैनिक भजन–कीर्तनसहित आध्यात्मिक प्रवचन सञ्चालन भइरहेको छ, जसले यहाँ रहेका नेपाली समुदायलाई धार्मिक तथा आत्मिक रूपमा एकताबद्ध बनाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार, ‘नेपाल घर’ निर्माण सम्पन्न भएपछि स्पेनमा रहेका नेपालीहरूका लागि यो एक साझा धार्मिक तथा सांस्कृतिक केन्द्रको रूपमा विकास हुनेछ। साथै, भविष्यमा यस्ता कार्यक्रमहरूले नेपाली पहिचान र संस्कृतिको संरक्षणमा थप टेवा पुग्ने विश्वास लिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप