भरतको जलनमा नबिलको मल्हम, किरा परेको शरीरबाट यसरी पाए पुनर्जीवन
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ४२ वर्षीय भरत लोहारका लागि पछिल्लो तीन महिना जीवनकै कष्टकर बन्यो । छारे रोगबाट ग्रसित उनी पुसको ठण्डी छल्न आफ्नै घरमा आगो तापिरहेका थिए । त्यही बेला उनलाई रोगले च्याप्यो, उनी अचेत भएर बलिरहेको आगोमा परे । होसमा आउँदा आगोले उनको हात र खुट्टाका अधिकांश भाग जलाइसकेको थियो ।
तर गरिबीको चरम चपेटामा रहेको उनको परिवारसँग आधुनिक अस्पताल लगेर उपचार गराउने आर्थिक हैसियत थिएन । पैसा नभएपछि गाउँमै पाइने जडिबुटीको लेप लगाएर निको हुने झिनो आशामा उनीहरू बसे । घरेलु उपचारले घाउ निको हुनुको साटो झनै बल्झिँदै गयो । अवस्था यतिसम्म बिग्रियो कि जलेर पाकेको घाउमा किरा समेत पर्न थाले ।
यो अवस्थामा पीडाले छटपटाउँदै मृत्यु कुर्नुबाहेक भरतसँग अर्को विकल्प थिएन । ती कहालीलाग्दा दिनहरुमा उनलाई कहिले पोल्थ्यो, कहिले दुख्थ्यो । यो अवस्थाले मानसिक रुपमा समेत उनी विक्षिप्त भइसकेका थिए ।
‘जलेको ठाउँमा परेको किरा मैले आफ्नै हातले कतिपटक टिपेर फालेँ । ठीक हुन्छु भन्ने त आशा नै थिएन, बाँच्छु भन्ने पनि लाग्न छोडेको थियो,’ पीडादायी दिन सम्झिँदै उनी भन्छन्, ‘दैवले मर्न पनि दिएन भने मागेर खान्छु भन्ने सोचेको थिएँ ।’
अहिले भने उनमा फेरि जिउने र काम गर्ने आशा पलाएको छ । नबिल बैंकले सुष्मा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालसँगको सहकार्यमा गत फागुन १२ देखि १४ गतेसम्म कैलालीको धनगढीमा आयोजना गरेको ‘निःशुल्क जलन उपचार शिविर’मा पुगेका उनले अहिले राम्रो उपचार पाएका छन् । उक्त शिविरमा प्रारम्भिक उपचारपछि काठमाडौं रिफर भएका उनी अहिले काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा नि:शुल्क उपचार गराइरहेका छन् । तीन पटक सर्जरी गराइसकेका उनको अवस्था अहिले सुधारोन्मुख छ ।

अहिले आएर उनलाई बाँच्छु भन्ने आशा पलाएको छ । भरत भन्छन्, ‘पहिले म पेन्टिङको काम गर्थेँ । अब फेरि त्यही काम गर्न त सक्दिँन होला तर केही गर्नुपर्छ भन्ने आश लागेको छ ।’
यो शिविरमा विभिन्न समयमा जलनबाट पीडित ६५ जनाले प्रारम्भिक उपचार पाएका थिए । यसमध्ये ३५ जना पुरुष र ३० जना महिला थिए । शिविरमा आएका बिरामीमध्ये २० जनालाई सेती प्रादेशिक अस्पतालमा वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको थियो । १८ जनालाई भने थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
जलन र उपचारको विरोधाभास
जलनको एउटा तितो यथार्थ छ- जलन प्रायः गरिबलाई हुन्छ, तर यसको उपचार सधैँ महँगो हुन्छ । यही विरोधाभासपूर्ण अवस्थाका कारण आवश्यकता हुँदा पनि सबैले उपचार पाउँदैनन् । जलनको उपचार सामान्य परिवारको पहुँचभन्दा धेरै टाढाको कुरा हो ।
प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार नेपालमा आगोको ज्वाला, तातो पानी तथा तेल, तातो फलाम, वाफ आदिबाट जलनका घटना सबैभन्दा धेरै हुने गरेका छन् । पछिल्लो समय खुला तथा नाङ्गा तार, अव्यवस्थित ट्रान्सफर्मर र कमजोर केबल नेटवर्किङका कारण विद्युतीय जलनका घटना पनि बढिरहेका छन् ।
सरकारी तथ्यांक हेर्ने हो भने पनि जलनको अवस्था भयावह देखिन्छ । नेपालमा हरेक वर्ष करिब ५६ हजार मानिस जलनको सिकार हुने गरेका छन् । तर तीमध्ये करिब १ हजार ४ सय जना मात्रै उपचारका लागि अस्पतालसम्म पुग्छन् । जुन २.५ प्रतिशत मात्रै हो । यसको अर्थ झण्डै ९७.५ प्रतिशत पीडित उपचारको पहुँचबाट टाढा छन् । आर्थिक अभाव, अस्पतालको पहुँच नहुनु र जनचेतनाको कमीले समेत यो अवस्था रहेको देखिन्छ ।

यही अवस्थालाई मध्यनजर गर्दै नबिल बैंकले विगतदेखि नै बर्न प्रोजेक्टमा काम सुरु गरेको हो । सन् २०२१ मा बसन्ती नाम गरेकी एकजना एसिड पीडित महिलाको उपचारमा सहयोग गरेपछि बैंकले जलनको क्षेत्रमा गरेको सहयोगले थप तीव्रता दिइएको हो ।
सामाजिक सञ्जालदेखि आम मिडियामा समेत धेरै चर्चा नहुने तर भित्रभित्रै हजारौं नागरिकले चरम शारीरिक र मानसिक पीडा भोगिरहेको देखेपछि बैंकले यसलाई दीर्घकालीन परियोजनाकै रूपमा अघि बढाएको बैंकले जनाएको छ ।
सुदूरपश्चिमबाट सुरु भएको आशाको सञ्चार
नबिल बैंकले सुष्मा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालसँगको सहकार्यमा गत फागुन १२ देखि १४ गतेसम्म कैलालीको धनगढीमा तीनदिने निःशुल्क शिविर सम्पन्न गर्यो । उक्त शिविरले भरत लोहारजस्ता वर्षौंदेखि पीडा सहेर बसेका धेरैको मुहारमा आशा जगाएको छ ।
तिनैमध्ये एक भाग्यमानी आमा हुन् दुर्गा पाण्डे । दुई वर्षअघि तातो तेलले पोलेर उनकी पाँच वर्षीया छोरीको घाँटीमा गम्भीर समस्या देखिएको थियो । आर्थिक अभावले उपचार गराउन नसकेकी दुर्गाले शिविरमा विशेषज्ञ चिकित्सकद्वारा छोरीको निःशुल्क शल्यक्रिया गराउन पाइन् ।
उनी भन्छिन्, ‘यति महँगो उपचार कसरी गर्ने भन्ने थियो । अहिले नि:शुल्क उपचार गराउन पाएँ, आयोजकप्रति निकै आभारी छु ।’
जलनकै कारण ३० वर्षदेखि बाँङ्गो घाँटी लिएर बाँचिरहेका ५२ वर्षीय एकजना व्यक्तिले समेत शिविरमा आएर शल्यक्रियामार्फत घाँटी सिधा गराउन सफल भएका थिए ।
कर्णाली, लुम्बिनी र मधेसमा पनि शिविर चलाइँदै
पहिलो चरणमा सुदूरपश्चिमका दुर्गम क्षेत्रलाई समेटेको बैंकले अब आफ्नो यो अभियानलाई अन्य प्रदेशमा पनि विस्तार गर्दैछ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा निःशुल्क बर्न सर्जिकल क्याम्प सञ्चालन गर्ने तयारी पूरा भएको बताउँछन् ।

‘सुदूरपश्चिमको शिविरबाट हामीले जुन प्रभाव देख्यौं, त्यसले हामीलाई थप उर्जा दिएको छ,’ सीईओ ज्ञवाली भन्छन्, ‘जलनको उपचार नपाएर कोही पनि नागरिकले कष्टपूर्ण जीवन बिताउनु नपरोस् भन्ने हाम्रो चाहना हो । थप तीन प्रदेशमा शिविर सञ्चालन गर्ने तयारी भइसकेको छ । आवश्यकता हेरेर आगामी दिनमा यो सेवा अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजानेछौं ।‘
बैंकले सार्वजनिक गरेको कार्यतालिका अनुसार यही चैत २७ देखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा सर्जिकल क्याम्प सञ्चालन हुनेछ । यसअघि बिरामी पहिचान गर्न चैत २३ गतेदेखि नै त्यहाँ स्क्रिनिङ क्याम्प सुरू गरिएको थियो । कर्णालीको शिविरले सुर्खेत, दैलेख, जाजरकोट, मुगु, हुम्ला, डोल्पा, जुम्ला, रुकुम पश्चिम र सल्यान लगायतका बिरामीलाई लक्षित गरेको छ ।
त्यसैगरी, वैशाख २५ देखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा शिविर सञ्चालन हुनेछ, जहाँ १२ वटै जिल्लाका बिरामीलाई समेटिनेछ । वैशाख महिनाभित्रै मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा पनि एउटै चिकित्सक टोलीमार्फत दुई स्थानमा क्याम्प सञ्चालन गरिनेछ । यसबाट सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका नागरिक लाभान्वित हुनेछन् ।
गाउँ-गाउँमा सन्देश पुर्याउने प्रयास
जलनका बिरामीहरू प्रायः दूरदराजका गाउँमा हुने र उनीहरूसम्म सूचनाको पहुँच नहुने भएकाले नबिल बैंकले जनचेतना अभियानलाई पनि उत्तिकै प्रभावकारी रुपमा अगाडि बढाएको थियो ।

शिविर सुरू हुनुभन्दा एक महिना अघिदेखि नै स्थानीय रेडियोहरूबाट जनचेतनामूलक सन्देश प्रसारण गर्न थालिएको थियो । त्यस्तै, स्थानीय सञ्चारमाध्यममा समाचार सम्प्रेषण गर्ने र गाउँ-गाउँमा रिक्सामा राखेर माइकिङ गर्दै सूचना प्रवाह गर्ने काम पनि गरिएको थियो । पीडितहरु सबैले शिविरबारे थाहा पाउन् भन्ने हिसाबले प्रचारप्रसार गरिएको बैंकले जनाएको छ ।
यो कार्यक्रमले एउटा व्यवसायिक संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कसरी समाजको ग्रासरुट तहका नागरिकको आवश्यकतालाई सम्बोधन गर्न सक्छ भन्ने उदाहरण समेत देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण