शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

दलको नेता छान्न कांग्रेसले वैशाख २ गते कार्यतालिका ल्याउने, ४ गते निर्वाचन

आइतबार, २९ चैत २०८२, १५ : ३०
आइतबार, २९ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि वैशाख २ गते प्रक्रिया सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
  • वैशाख ३ गते सहमतिको प्रयास गरिने र सहमति नभए ४ गते निर्वाचनमार्फत दलको नेता चयन गरिने भएको छ।
  • संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले दाबी गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते सुरु गरिने भएको छ । दलको नेता चयनका लागि निर्वाचन समिति संयोजक बनेका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ गते प्रक्रिया सुरु गर्ने र ४ गते निर्वाचन गर्ने तयारीमा आफूहरू लागेको जानकारी दिए । 

‘हामीले दलको नेता निर्वाचनका लागि वैशाख २ गते बैठक बसेर प्रक्रिया सुरु गर्छौँ,’ रसाइलीले रातोपाटीसँग भने, ‘४ गते निर्वाचन गर्छाैँ।’

वैशाख ३ गते सहमतिको प्रयासका लागि समय दिइने रसाइलीले बताए । सकभर प्रक्रिया सुरु गरेर सर्वसम्मतिको प्रयास गर्ने, नभए निर्वाचनमार्फत दलको नेता चुन्ने तयारीमा आफूहरू लागेको स्नेहीले बताए। 

कांग्रेसका प्रतिनिधि सभामा १८ जना प्रत्यक्ष र २० जना समानुपातिक निर्वाचन प्रणालीबाट सांसदहरू निर्वाचित भएका छन् । 

३८ सांसदको नेता हुनका लागि ४ नेताले इच्छा देखाएका छन् ।नेताहरूका अनुसार अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले इच्छा देखाएका छन् । केसी र आङदेम्बेले सार्वजनिक रूपमा नै दलको नेतामा दाबी रहेको बताएका छन् ।

दलको नेता छान्ने निर्वाचन समितिमा कांग्रेस केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप