सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
नेपाली चलचित्र

वैशाखमा ५ फिल्म : कथामा ५ भेराइटी, स्टारको अवस्था कस्तो ?

सोमबार, ३० चैत २०८२, ०६ : ५३
सोमबार, ३० चैत २०८२

सारांश

  • नेपाली फिल्म उद्योगले वर्ष २०८२ मा व्यावसायिक र रचनात्मक रूपमा उत्साहजनक प्रगति गरेको छ।
  • वैशाख महिनामा 'पहाड', 'परालको आगो', 'लालीबजार', 'मालती मंगले' र 'गुरु आमा' गरी ५ प्रतीक्षित फिल्म प्रदर्शन हुने तयारीमा छन्।
  • वैशाखमा आउने यी फिल्महरूमा दिग्गज कलाकारदेखि नयाँ पुस्ताका स्टारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

काठमाडौँ । नेपाली फिल्म उद्योगका लागि वर्ष २०८२ सुखद मान्न सकिन्छ । यो वर्ष नेपाली फिल्मले व्यावसायिक र रचनात्मक दुवै हिसाबले उत्साहजनक फड्को मारेको छ ।

चलचित्र विकास बोर्डको तथ्याङ्कलाई आधार मान्ने हो भने गत शुक्रबार प्रदर्शनमा आएको ‘राम नाम सत्य’ सम्म आइपुग्दा यो वर्ष ५७ वटा फिल्म रिलिज भएका छन् ।

यी फिल्महरूले कुल १ अर्ब ८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको व्यापार गरे भने करिब ३७ लाख ८१ हजार दर्शकलाई हलसम्म तान्न सफल भए ।

वर्षको अन्त्यतिर अर्थात् २७ चैत्रमा रिलिज भएको एक्सन स्टार विराज भट्टको फिल्म ‘राम नाम सत्य’ले पनि बक्स अफिसमा सुखद सुरुवात गरेको छ । नयाँ वर्ष २०८३ लाई लक्षित गरी आएको यो फिल्मले शुक्रबार, शनिबार राम्रो व्यवसाय गरेको वितरक गोविन्द शाही बताउँछन् । माइकल चन्दको निर्देशनमा बनेको यो एक्सन–सस्पेन्स थ्रिलरमा विराजको एक्सनले मात्र नभई सुपुष्पा भट्ट, सुशील श्रेष्ठ र दिव्या रायमाझीले पनि दर्शकलाई आकर्षित गरिरहेका छन् ।

‘राम नाम सत्य’ले हलमा उत्साह जगाइरहँदा दर्शकको मनमा प्रश्न उब्जिन सक्छ, के आगामी वैशाखमा नयाँ फिल्मको खडेरी लाग्ने त होइन ? तर, रिलिज क्यालेन्डर हेर्दा वैशाख महिनामा प्रतीक्षित सूचीमा रहेका र राम्रा मानिएका ५ फिल्म रिलिज हुने देखिन्छ । वैशाख महिनामा मात्रै ‘पहाड’, ‘परालको आगो’, ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरु आमा’ गरी ५ ठुला फिल्म प्रदर्शन तयारीमा छन् ।

  • कथा कस्ता–कस्ता ?

वैशाखमा प्रदर्शन हुन लागेका ५ फिल्मको सूची हेर्दा नेपाली फिल्म उद्योग बिस्तारै ‘मसला’बाट ‘मर्म’ तर्फ मोडिएको देखिन्छ । यी फिल्महरूले नेपाली माटो, साहित्य, ग्रामीण जीवन र सामाजिक सम्बन्धका विभिन्न पाटाहरूलाई समेटेका छन् ।

निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्म मनोरञ्जनका अलावा पछिल्लो समयको नेपाली पहाडी जीवनको ऐना भएको बताइन्छ । फिल्मले उजाडिँदै गएको गाउँको कथा, पीडा, मानवीय सम्बन्धको उतारचढाव र हाम्रो ग्रामीण समाजले भोगिरहेको यथार्थलाई भन्नेछ । राम्रो फिल्म बनाउन माहिर घिमिरेले फिल्म मनोरञ्जनको ‘फुल डोज’ भएको बताउँछन् । फिल्मको प्रचारका लागि बाहिर ल्याइएको ट्रेलरमा राखिएको भावुक संवाद र मनै छुने दृश्यहरूले यो फिल्मले पारिवारिक दर्शकलाई हलसम्म तान्ने बलियो सम्भावना छ ।

त्यस्तै वैशाख ११ गते आउने अर्को प्रतीक्षित फिल्म हो ‘परालको आगो’ । गुरुप्रसाद मैनालीको कालजयी कथामा आधारित यो फिल्मले पति–पत्नीबिचको सामान्य झगडा कसरी परालको आगो जस्तै हुन्छ र छिट्टै निभ्छ भन्ने ग्रामीण मनोविज्ञानलाई यसले दुरुस्तै उतारेको छ । थुप्रै राम्रा फिल्म निर्माण गरेका सुशील पोखरेल यो फिल्मबाट करिब ८ वर्षपछि निर्माणमा फर्किएका हुन् । मौलिक कथा र राम्रा कलाकार प्रयोग गरिएको यो फिल्म उत्कृष्ट बनेको निर्माता सुशीलको दाबी छ ।

त्यसैगरी, वैशाख १८ गते प्रदर्शन हुने ‘लालीबजार’को चर्चा बजारमा व्यापक छ । बर्दियाको राजापुरको पृष्ठभूमिमा फिल्मले दर्शकका लागि एउटा नौलो कथा भन्नेछ । फिल्मको प्रचार सामग्रीमा समेटिएको अभिनेत्री स्वस्तिमा खड्काको बदलिएको लुक्स र भूमिकाले फिल्मप्रति कौतूहल बढाएको छ । यम थापाको निर्देशनमा तयार यो फिल्मले तराई–मधेसको सामाजिक जनजीवन र त्यहाँका पात्रहरूको सङ्घर्षलाई समेटेको निर्देशक थापा बताउँछन् । फिल्मको कथा सत्यघटनामा आधारित रहेको समेत प्रचार गरिएको छ ।

वैशाख २५ मा भने दुई फिल्म ‘मालती मंगले’ र ‘गुरु आमा’ एकअर्कासँग भिड्नेछन् । रामकृष्ण ढकालको निर्माणमा बनेको ‘मालती मंगले’ ले ग्रामीण समाजको शङ्का, विश्वास र प्रेमको कथा भन्छ । ‘मालती मंगले’ राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीतिनाटक नभए पनि मौलिक साङ्गीतिक प्रेमकथाका रूपमा प्रस्तुत गरिएको छ ।

‘गुरु आमा’ भने शैक्षिक क्षेत्र, शिक्षक–विद्यार्थीको सम्बन्ध र विद्यालयभित्रको राजनीति तथा प्रेमलाई केन्द्रमा राखेको छ । यी फिल्महरूको विषयवस्तु हेर्दा नेपाली फिल्म आफ्नै पुरानो धारतिर फर्कन लागेको अनुमान गर्न सकिन्छ । फिल्म प्रेम सोनी सुनारले निर्देशन गरेका हुन् । फिल्मले विद्यार्थी र शिक्षकको सम्बन्धमा सुधार ल्याउने निर्देशक सुनारले बताए ।

  • स्टारको अवस्था कस्तो ?

वैशाखमा रिलिज हुने फिल्महरूमा लेजेन्डरी अनुहार वर्तमानका सफल स्टारहरूदेखि नव कलाकारहरूको समेत अभिनयले भरिएको छ । फिल्म ‘पहाड’ मा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, प्रियंका कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, रेणुनाथ योगी, उमा गिरी, आशा पौडेल, अंकित खड्का, हिउँवाला गौतम, अरुण रेग्मी, रेहना केसीको अभिनय छ ।

मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ र सुनिल थापा एक समय कलाक्षेत्र लिड गरेका दिग्गज हस्ती हुन् । विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, प्रियंका कार्की, अरुण क्षेत्री अहिलेका स्टार मानिन्छन्, भने पञ्चमी घिमिरेले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको ‘परालको आगो’मा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल लगायतको अभिनय छ । यी सबै पछिल्लो समयका स्टार कलाकारमा गनिन्छन् । फिल्ममा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय छ । प्रकाश सपुतको भने गायन र अभिनय दुवैमा पछिल्लो समय राम्रो क्रेज छ ।

षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ मार्फत स्वस्तिमा खड्काले आफ्नो करिअरको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । फिल्ममा स्वस्तिमाका अलावा रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनारलगायत चलेका कलाकार पनि छन् । ‘जात्रा’, ‘जात्रैजात्रा’, ‘महाजात्रा’लगायत एकसे एक राम्रा फिल्म दिएका निर्देशक प्रदीप भट्टराई कार्यकारी निर्माताको रूपमा फिल्ममा छन् ।

‘मालती मंगले’ पछिल्लो समयका स्टार विजय बराल र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म हो । विजय बराल नेपाली फिल्मको इतिहासमै सर्वाधिक व्यवसाय गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’बाट चम्किएका हुन् । वर्षाले पनि थुप्रै सफल फिल्म दिएकी छन् । फिल्ममा पछिल्लो समयका चर्चित कमेडियन मेक्सम गौडेलका अलावा सदाबहार कलाकारहरू प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला लगायतको समेत अभिनय छ ।

‘मालती मंगले’सँगै भिड्न लागेको ‘गुरु आमा’मा मिथिला शर्मा र गौरी मल्ल जस्ता सशक्त अभिनेत्रीहरूको मुख्य भूमिका छ । केहीअघि एक कार्यक्रममा मिथिला शर्माले यो फिल्मको ‘विषयवस्तु’ नै यसको स्टार बताएकी थिइन् । फिल्ममा मिथिला र गौरीका अलावा पछिल्लो समयका व्यस्त कलाकार पूजा शर्मा, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम के.सी लगायतको अभिनय देख्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप