सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जैविक विविधता रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन आगामी वैशाख ४ देखि

सोमबार, ३० चैत २०८२, १९ : ०४
सोमबार, ३० चैत २०८२

काठमाडौँ। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले आगामी वैशाख ४ देखि ६ गतेसम्म नेपालमा हुने ‘जैविक विविधता रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ । सो सम्मेलनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनीले सहभागिता जनाउने भएका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा खोटाङको दिक्तेल बजारमा हुने उक्त सम्मेलनमा कोशी प्रदेश सरकार, वन्यजन्तु विभाग, वन तथा भूसंरक्षण विभाग, रेडपाण्डा नेटवर्कलगायत सङ्घसंस्थाको समन्वय र सहकार्य रहनेछ ।

विश्वमा जलवायु परिवर्तनमा आएको परिवर्तनका कारण वन्यजन्तु र जैविक विविधता सङ्कटमा परेको अवस्थामा नेपालमा हुने सम्मेलनले आवश्यक राष्ट्रिय नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै स्थानीय तहदेखि नै संरक्षण गर्नुपर्ने सन्देश प्रवाह गर्ने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

सम्मेलनमा अन्तरराष्ट्रिय तहबाट अन्य २३ मुलुकले सहभागिताका लागि प्रतिबद्धता जनाएको भए पनि मध्यपूर्वको युद्धका कारण सहभागी हुन नसक्ने पत्राचार गरेको उनले बताए।

सम्मेलनमा सहभागी मुलुकका प्रतिनिधिले १० वटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची छ । सरकारको सय वटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा पर्दछ ।

करिब १०७ किलोमिटर लामो दूरीको पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइसकेको छ । यसको नजिकको जङ्गलमा रेडपाण्डा पाइने भएकाले रेडपाण्डा–थार पदमार्ग प्रवर्द्धन गर्ने नगरपालिकाको योजना छ।

स्थानीय स्रोतको परिचालन गर्दै देश विकास गर्न सकिने सन्देश प्रवाह गर्न बाँस सम्मेलन सम्पन्न गरेको नगरपालिकाले स्थानीय स्वरोजगार, स्थानीय सीप र रैथाने सामग्रीको प्रवर्द्धनसमेत सम्मेलनमा गर्ने जनाएको छ।

उक्त नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप