शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

आईपीयू महासभामा भाग लिन राष्ट्रिय सभा अध्यक्ष दाहाल टर्की प्रस्थान

मङ्गलबार, ०१ वैशाख २०८३, ०८ : २०
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल आईपीयूको १५२औँ महासभामा भाग लिन टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्।
  • महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट उच्चस्तरीय सम्बोधन गर्दै विभिन्न देशका संसद् प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्नेछन्।
  • नेपाली प्रतिनिधिमण्डल वैशाख ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १५२औँ महासभामा सहभागी हुन टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् । सङ्घीय संसद् सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालको नेतृत्वमा रहेको संसदीय प्रतिनिधिमण्डल वैशाख १ गते त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएको हो । 

सचिवालयका अनुसार टोली बिहान ७:४० बजे टर्किस एयरलाइन्सको उडानमार्फत इस्तानबुल प्रस्थान गरेका छन् । आगामी वैशाख २ देखि ६ गतेसम्म इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट उच्चस्तरीय सम्बोधन गर्नेछन् । 

उनले भविष्यका पुस्ताका लागि आशा जगाउने, शान्ति सुरक्षित गर्ने र न्याय सुनिश्चित गर्ने विषयमा आफ्नो मन्तव्य राख्ने कार्यक्रम तय भएको छ । यसका साथै महासभाको साइडलाइनमा उनले विभिन्न देशका संसद् प्रमुखहरूसँग द्विपक्षीय भेटघाट तथा छलफलसमेत गर्नेछन् । महासभाकै क्रममा आयोजना हुने असंलग्न आन्दोलन (नाम) संसदीय सञ्जालको पाँचौँ सम्मेलनमा पनि दाहालले नाम क्षेत्रमा जलवायु–उत्थानशील सहरीकरण सुनिश्चित गर्न संसद्को भूमिका विषयमा धारणा राख्नेछन् ।

अध्यक्ष दाहालको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय सभाका सदस्यहरू डा. अन्जान शाक्य र कृष्णबहादुर रोकाया सहभागी छन् । भ्रमणका क्रममा यी सांसदहरूले आईपीयूका विभिन्न स्थायी समितिका कार्यक्रम तथा बैठकहरूमा भाग लिनेछन् । जसअन्तर्गत सांसद डा. शाक्य दिगो विकाससम्बन्धी स्थायी समितिको बैठकमा सहभागी हुनेछिन् भने अर्का सांसद रोकाया संयुक्त राष्ट्रसङ्घीय मामिलासम्बन्धी स्थायी समितिको बैठकमा सहभागी हुनेछन् ।

यसैगरी, उक्त भ्रमण कार्यक्रमको व्यवस्थापन तथा संसद्का महासचिवहरूको सङ्घ (एएसजीपी) को बैठकमा भाग लिन सङ्घीय संसद्का महासचिवको नेतृत्वमा रहेको अर्को टोली पनि सोही उडानमार्फत टर्की जाने सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

इस्तानबुलमा हुने आईपीयू महासभा, नाम संसदीय सञ्जालको सम्मेलन र अन्य निर्धारित भेटघाट तथा कार्यक्रमहरू सम्पन्न गरी अध्यक्ष दाहालसहितको संसदीय टोली वैशाख ८ गते स्वदेश फर्किनेछ । सचिवालयका अनुसार टोली टर्किस एयरलाइन्सकै उडानमार्फत सो दिन बिहान ६:१५ बजे काठमाडौँ अवतरण गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप