शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हुम्लालाई उपेक्षा होइन, राष्ट्रिय प्राथमिकता देऊ : प्रधानमन्त्रीलाई ६४ बुँदे ज्ञापनपत्र

बुधबार, ०२ वैशाख २०८३, ०९ : ५९
बुधबार, ०२ वैशाख २०८३

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. दीपेन्द्र रोकायाले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न माग गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

हुम्ला कुनै समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तरको उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उनले उल्लेख गरेका छन् । उनले भने, “अब सामाजिक न्यायको आधारमा सबैभन्दा पछाडि रहेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”

नेता डा. रोकायाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हुम्लालाई ठोस र परिणाममुखी ढङ्गले सम्बोधन गर्नुपर्ने भन्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा पत्र बुझाएका हुन् ।

प्रस्तावमा कर्णाली करिडोरअन्तर्गत पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट र सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्‍याउनुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै, हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माणजस्ता रणनीतिक पहलमार्फत हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने दृष्टिकोण प्रस्तुत गरिएको छ ।

हुम्ला कर्णाली–१ र २ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण, साना आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्ने तथा सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्तावसमेत अघि सारिएको छ ।

कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कनस्थल विकासमार्फत हुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्ने नेता डा. रोकायाको अवधारणापत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप