बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इतिहास

जुलियस सिजर : विश्वको पहिलो पपुलिस्ट नेता

शनिबार, ०५ वैशाख २०८३, ०८ : ००
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • जुलियस सिजरले रोमन गणतन्त्रमा आमनागरिकको हितका लागि भूमि वितरण, ऋण सुधार र सामाजिक समावेशीकरणजस्ता क्रान्तिकारी नीतिहरू कार्यान्वयन गरेका थिए।
  • सिजरले कुलीन वर्गको आर्थिक एकाधिकार तोड्दै ब्याजदरमा सीमा र मौद्रिक सुधार गरेपछि अभिजात वर्गको षड्यन्त्रमा उनको हत्या भयो।
  • सिजरपछिको रोमन साम्राज्यमा सुनको सिक्काको प्रयोग र धार्मिक परिवर्तनसँगै आर्थिक अस्थिरता तथा सामाजिक असमानता बढ्दै गएको थियो।

१२ जुलाई १०० इसापूर्वमा एक प्रतिष्ठित प्याट्रिसियन परिवारमा जन्मिएका गायुस जुलियस सिजर रोमन गणतन्त्रको सबैभन्दा प्रभावशाली सैन्य नेता, राजनीतिज्ञ र कूटनीतिज्ञमध्ये एक हुन् । उनले कानुनी पेसाबाट करियर सुरु गरेपछि सैन्य सेवामा प्रवेश गरेर आफ्नो असाधारण प्रतिभा प्रमाणित गरे । ५९–५२ इसापूर्वको अवधिमा उनले गउल (हालको फ्रान्स र यसको आसपासका क्षेत्र) मा अभियान चलाएर यस क्षेत्रलाई रोमन साम्राज्यमा विलय गराए । यसले उनलाई रोमको सर्वोच्च सैन्य रणनीतिकारका रूपमा स्थापित गर्‍यो ।

यस अभियानले मात्रै नभई गउलिक युद्धपछि उनले प्राप्त गरेको धन र प्रतिष्ठाले उनको राजनीतिक प्रभुत्वलाई अभूतपूर्व उचाइमा पुर्‍यायो । ४८ इसापूर्वमा फार्सलसको युद्धमा उनले आफ्नो पूर्व सहयोगी पोम्पी द ग्रेटलाई निर्णायक रूपमा पराजित गरेर रोमको एकछत्र अधिनायक बने ।

त्यसपछि उनले क्लियोपेट्रासहित मिस्र (इजिप्ट), पोन्टस र उत्तर अफ्रिकाका शासकहरूलाई आफ्नो अधीनमा लिएर रोमन साम्राज्यको सीमा विस्तार गरे । उनले सुधारहरूको एक क्रान्तिकारी शृङ्खला सुरु नै गरे, जसमा जुलियन पञ्चाङ्ग (सौर्य पञ्चाङ्ग) को सुधार, सिनेटमा गैररोमन प्रतिनिधित्व विस्तार र नागरिकहरूलाई जमिन वितरणजस्ता नीतिहरू समावेश थिए ।

यी सुधारहरूमार्फत उनले रोमन साम्राज्यलाई केन्द्रीकृत गर्दै सामाजिक असमानता घटाउने प्रयास गरे । राजनीतिक दूरदर्शिता र सैन्य सामरिक क्षमताको मिश्रणले सिजरलाई पश्चिमी इतिहासको सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्वहरूमध्ये एक बनायो ।

सन् ४५ इसापूर्वको सेप्टेम्बरमा जब सिजर विजयी भएर इटाली फर्किए, उनले रोमन समाजको गहिरो वर्गीय अन्तर्विरोधलाई प्रत्यक्ष रूपमा अनुभव गरे । सडक र नगरहरूमा साहुकार र भूमिको एकाधिकार गर्ने धनिक वर्गद्वारा आफ्नै घरबाट विस्थापित भएका हजारौँ नागरिकहरूको भीड देख्दा, सिजरले उत्पादनका साधनमाथि सीमित अभिजात वर्गको नियन्त्रण र साधारण जनताको श्रमको शोषणबाट उत्पन्न असमानता स्पष्ट देखे । यो दृश्यले रोमन गणतन्त्रको आर्थिक संरचनामा धनी र गरिबबिचको चरम विभाजन, भूमिको एकतर्फी स्वामित्व र श्रमिक वर्गको जीवनस्तरमा आएको गिरावटलाई उजागर गर्‍यो ।

1520187962610

सामान्य नागरिकहरू भूमिहीन र ऋणग्रस्त अवस्थामा राज्यको राहतमा निर्भर रहन बाध्य थिए भने सानो सङ्ख्यामा रहेका अभिजात वर्गले सम्पत्ति, भूमि र राजनीतिक अधिकारमा आफ्नो प्रभुत्व कायम राखेका थिए । यसले सामाजिक विघटन, निराशा र असन्तोषलाई बढाउँदै गयो । यसको प्रत्यक्ष असर सिजरको दृष्टिभन्दा पर थिएन । सिजरले देखेको यो गहिरो असमानता केवल व्यक्तिगत पीडा मात्र थिएन, यो सम्पूर्ण समाजको संरचनागत रोग थियो, जसले उत्पादन र वितरण प्रणालीमा बृहत् सुधारको आवश्यकता औँल्यायो ।

यस्तो अवस्थाले सिजरलाई उत्पादनका साधनहरूको पहुँचलाई फराकिलो बनाउने, भूमिहीनलाई भूमि वितरण गर्ने र श्रमिक वर्गको जीवनस्तर सुधार्ने समावेशी नीति र संरचनात्मक सुधारको दिशामा सोच्न बाध्य बनायो र यिनै वर्गीय अन्तर्विरोधहरूप्रतिको उनको प्रतिक्रिया नै उनको नेतृत्व र ऐतिहासिक भूमिकामा निर्णायक बन्यो ।

रोमन राज्यले उक्त अवधिमा दैनिक करिब तीन लाख नागरिकलाई सार्वजनिक अन्न वितरण गर्नुपरेको थियो, जुन गम्भीर आर्थिक र सामाजिक समस्याको सङ्केत थियो । जब सन् ४५ इसापूर्वमा जुलियस सिजर इटाली फर्किए, उनले देखेका तीव्र सामाजिक असमानताको मूलमा साहुकार वर्गद्वारा गरिएको जमिनको एकाधिकार र अनियन्त्रित ब्याज प्रथाजस्ता आर्थिक विकृतिहरू थिए । ब्याज प्रथाको अनियन्त्रित विस्तारले नागरिकहरूलाई कर्जाको दासत्वतर्फ धकेल्दै उनीहरूको आर्थिक स्वतन्त्रता खोसिरहेको थियो । यसकारण राज्यले न्यूनतम जीविकोपार्जन सुनिश्चित गर्न अन्न वितरण गर्न बाध्य थियो ।

सिजरका लागि यो अवस्था गम्भीर चिन्ताको विषय थियो । यसले रोमको सामाजिक संरचनामा गहिरो रोगका लक्षणहरू देखाइरहेको उनको ठम्याइ थियो । यसैकारण, उनले जमिन पुनर्वितरण, ऋणसम्बन्धी सुधार र कर प्रणालीमा पारदर्शिता ल्याउनेजस्ता व्यापक सुधारका कार्यक्रम अघि सारे, जसले सामाजिक–आर्थिक असमानता घटाउने र राज्यको दीर्घकालीन स्थिरता सुनिश्चित गर्ने उद्देश्य राख्थ्यो ।

रोमन साम्राज्यको उक्त अवधिमा यहुदी व्यापारीहरूको प्रभुत्व थियो । उनीहरू वार्षिक ४८ प्रतिशतको अत्यधिक ब्याजदरमा ऋण प्रदान गर्थे । दार्शनिक लुसियस एनियस सेनेकाले आफ्नो कृति ‘अन्धविश्वास’ मा यस विषयलाई उल्लेख गर्दै लेखेका छन्, ‘यहाँ आपराधिक प्रवृत्तिहरू यति व्यापक छन् कि तिनीहरूको प्रभाव समाजभर सहज स्वीकृत छ । यस्तो प्रतीत हुन्छ कि पराजित वा अधीन समुदायहरूले विजेता पक्षलाई आफ्नै नियमअनुसार प्रभावित गरेका छन् वा नयाँ प्रचलन स्थापना गरेका छन् ।’ सेनेकाको यो अवलोकनले ऋण प्रणालीमा अत्यधिक ब्याजदर, सामाजिक मान्यतामा आपराधिक प्रवृत्तिको सामान्यीकरण र विजित समुदायद्वारा विजेतामाथि पनि सांस्कृतिक प्रभाव पार्न सक्ने जटिल अन्तरसम्बन्धलाई इङ्गित गर्छ ।

julius-caesar-large-56a61bc43df78cf7728b615f

त्यसताका रोमन राजनीतिमा दुई प्रमुख समूहहरू सक्रिय थिए— 'अप्टिमेट्स', जो कुलीन वर्ग, सिनेट तथा सम्पन्न व्यक्तिहरूको हितमा केन्द्रित थियो र 'पपुलर्स', जसले आमजनताको प्रतिनिधित्व गर्थ्यो । जुलियस सिजरले 'पपुलर्स' समूहको नेतृत्व गर्दै जनताका पक्षमा राजनीतिक भूमिका निर्वाह गरेका थिए ।

जुलियस सिजर उच्च ब्याजदरका कारण उत्पन्न हुने आर्थिक समस्याहरू र तिनको समाधानप्रति गहिरो बुझाइ राख्थे । विशेषतः पैसा जब कुनै निश्चित वर्ग वा समूहको नियन्त्रणमा रहन्छ, त्यसले समग्र राज्यलाई आर्थिक सङ्कटमा धकेल्ने खतरा हुन्छ भन्ने कुरा उनले प्रस्ट रूपमा बुझेका थिए । सिजरको दृष्टिमा, मुद्रा राज्यको कानुनी व्यवस्थाद्वारा सम्पूर्ण राष्ट्रको सेवा र आर्थिक स्थिरता कायम गर्न सिर्जना गरिएको हो ।

तर पुँजी सीमित समूहको हातमा जाँदा, त्यसलाई सङ्कटको समयमा ब्याजदर कृत्रिम रूपमा बढाउन वा सस्तो मूल्यमा सम्पत्ति अधिग्रहण गर्न उपयोग गरिन्छ । यसबाट राज्य गहिरो अस्थिरतामा फस्ने निश्चित हुन्छ । जुलियस सिजरले रोमन समाजमा आर्थिक र सामाजिक स्थिरता प्राप्त गर्न निम्नलिखित सुधारहरू लागू गरेका थिएः

१. सम्पत्ति मूल्याङ्कन सुधारः गृहयुद्ध (इसापूर्व ४९–४५) अघिको अवधिका आधारमा सम्पत्तिको मूल्य निर्धारण गरियो, जसले युद्धपछिको आर्थिक अव्यवस्थालाई नियन्त्रण गर्न मद्दत गर्‍यो ।

२. घरभाडा छुटः आवासीय भाडामा उल्लेख्य छुट दिई नागरिकहरूको आर्थिक बोझ घटाइयो ।

३. जग्गा वितरणः गरिब नागरिक र भूतपूर्व सैनिकहरूलाई कृषियोग्य जग्गा वितरण गरी उनीहरूको आर्थिक पुनर्स्थापना गरियो ।

४. निःशुल्क आवास योजनाः करिब ८० हजार विपन्न परिवारलाई निःशुल्क आवास उपलब्ध गराइएको थियो ।

५. सैनिक तलब वृद्धिः सिपाहीहरूको मासिक तलब १२३ दिनारीबाट २२५ दिनारीसम्म बढाइयो, जसले सेनामा निष्ठा र स्थिरता बढायो ।

६. खाद्यान्न वितरण नियमनः निःशुल्क वा सहुलियतमा खाद्यान्न वितरण प्रणालीमा कडा नियमन लगाई दुरुपयोग रोकियो ।

७. प्रादेशिक मताधिकारः प्रान्तीय समुदायहरूलाई मताधिकार प्रदान गर्ने प्रक्रिया सुरु गरी राजनीतिक समावेशीकरण बढाइयो ।

८. जुलियन क्यालेन्डरः इसापूर्व ४४ जनवरी १ देखि ३६५.२५ दिनको वैज्ञानिक आधारमा क्यालेन्डर लागू गरी पछिल्लो समयसम्म प्रयोग हुने प्रणाली स्थापना गरियो ।

जुलियस सिजरका मौद्रिक सुधारहरू कस्ता थिए भनी हेरौँः

१. राज्य ऋणमा कटौतीः राज्यको ऋणको स्तर तत्कालै २५ प्रतिशतले घटाइएको थियो, जसले राज्यको वित्तीय दायित्वलाई स्थायी बनाउन मद्दत गर्‍यो ।

२. सिक्का उत्पादनको राष्ट्रियकरणः सिक्का निर्माणको अधिकार र व्यवस्थापन कुलीन वर्गबाट सरकारमा स्थानान्तरण गरियो । यसले निष्पक्ष मौद्रिक नीति कार्यान्वयन र साहुकारी शोषण घटाउन मद्दत गर्‍यो ।

३. सस्तो धातुको सिक्का प्रचलनः तामा जस्तै सस्तो धातुको सिक्का जारी गरी व्यापारिक लेनदेन सहज बनाइयो, जसले आमनागरिकको दैनिक आर्थिक कारोबारलाई प्रवर्द्धन गर्‍यो ।

४. ब्याजदर सीमाकरणः मासिक १ प्रतिशतभन्दा बढी ब्याज लिन निषेध गरियो, जसले ऋण लिनेहरूको आर्थिक बोझ न्यूनीकरण गर्‍यो ।

५. कम्पाउन्ड ब्याज प्रतिबन्धः ब्याजको स्याज लिन गैरकानुनी बनाइयो र कुल ब्याज रकम मूल धनभन्दा बढी हुन नदिने कानुनी व्यवस्था लागू गरियो ।

६. दास प्रथा उन्मूलनः ऋण चुक्ताको माध्यमका रूपमा दास प्रथालाई समाप्त गरियो, जसले सामाजिक न्यायको दिशामा ऐतिहासिक कदम चाल्यो ।

७. कुलीनहरूको पुँजी नियन्त्रणः कुलीन वर्गलाई पुँजी जम्मा गर्नुको सट्टा लगानी वा उत्पादनमा संलग्न हुन बाध्य गरियो, जसले अर्थतन्त्रमा पुँजी प्रवाह बढायो ।

यी सुधारले कुलीन र अभिजात वर्गहरूको पारम्परिक आयस्रोतहरूमा बाधा पुर्‍याएका थिए, जसले गर्दा उनीहरू सिजरप्रति तीव्र विद्वेष राख्न थाले । यसको प्रतिक्रियास्वरूप, उनीहरूले जनमानसमा अत्यधिक लोकप्रिय रहेका सिजरको हत्याको षड्यन्त्र रचे ।

१५ मार्च ४४ इसापूर्वको बिहान, सत्तारूढ भएको चार वर्षपछि, सिजर सुरक्षाकर्मीहरूबिना नै संसद् भवन पुगे । उनले सिनेटमाथि पूर्ण विश्वास प्रदर्शन गर्दै आफ्ना सैन्य संरक्षकहरूलाई बाहिरै राख्ने निर्णय गरेका थिए । तर उनको अपेक्षाविपरीत ६० जना षड्यन्त्रकारीहरूले उनलाई घेरेर २३ पटक छुरा प्रहार गरे । परिणामस्वरूप उनको मृत्यु भयो ।

  • स्वर्ण युग (२७ इसापूर्व–४७६ इस्वी)

सिजरको मृत्युपछि, २७ इसापूर्वमा अगस्टस (अक्टाभियन) को शासनकालमा रोमन साम्राज्यले सुनलाई औपचारिक रूपमा मौद्रिक प्रणालीको आधारभूत माध्यमका रूपमा समावेश गर्‍यो । अगस्टसको मौद्रिक सुधारअन्तर्गत सुनका सिक्काहरू नियमित रूपमा जारी हुन थाले । यसले रोमन अर्थतन्त्रमा स्थिरता र कर सङ्कलन तथा सैनिक भुक्तानीमा पारदर्शिता ल्यायो ।

यद्यपि, सुनको सिक्का प्रयोग प्रारम्भिक रूपमा सङ्कटका समयमा मात्र गरिन्थ्यो । जसको उदाहरण द्वितीय प्युनिक युद्ध (२१८–२०१ इसापूर्व) हो, जब युद्धको चरम अवस्थामा आपत्कालीन रूपमा सुनका सिक्काहरू जारी गरिएका थिए ।

augustus-caesar-587488458

त्यस्तै, लुसियस कर्नेलियस सल्लाको शासनकाल (८१ इसापूर्व) मा पनि संवैधानिक सुधार र सेनाको वित्तीय आवश्यकताका लागि सुनका सिक्काहरू जारी गरिएको देखिन्छ ।

सुनलाई मौद्रिक प्रणालीमा नियमित आधारमा समावेश गर्दा तात्कालिक आर्थिक स्थिरता र सैन्य व्यवस्थापनमा सुधार आयो । तर दीर्घकालीन प्रभावमा यसले मुद्रास्फीति, धातुको अभाव र आर्थिक असन्तुलनलाई जन्म दिँदै रोमन साम्राज्यको पतनमा योगदान पुर्‍याएको इतिहासकारहरूको विश्लेषण छ । प्रारम्भिक अवस्थामा सुनका सिक्काहरू दुर्लभ र विशेष परिस्थितिमा मात्र जारी गरिन्थे, तर साम्राज्यको विस्तारसँगै यसको प्रयोग व्यापक बन्न पुग्यो । यसले रोमन मौद्रिक इतिहासको दिशा नै परिवर्तन गरिदियो ।

युरोपेली क्षेत्रमा सुनको उत्पादन वेल्स, ट्रान्सिल्भेनिया र स्पेनजस्ता दुर्गम भौगोलिक क्षेत्रहरूमा केन्द्रित भएकाले रोमनहरूले पूर्वी भूमध्यसागरीय क्षेत्र र एसियाली भूभागबाट ठूलो मात्रामा सुन आयात गर्न बाध्य भए । यसले व्यापार मार्गको सुरक्षा र सिमानामा सैन्य द्वन्द्वहरूको व्यवस्थापन गर्न विस्तृत र खर्चिलो सैन्य व्यवस्थापन आवश्यक बनायो, जसले साम्राज्यको आर्थिक बोझमा नाटकीय वृद्धि गर्‍यो ।

जब बजारमा पर्याप्त मात्रामा सुन वा मुद्राको अभाव उत्पन्न भयो, त्यसले अपस्फीतिको स्थिति सिर्जना गर्‍यो । यस आर्थिक समस्याको समाधानका रूपमा, सन् १३ इसापूर्वमा सुनका सिक्काहरूको मान केही हदसम्म घटाई पुनर्मूल्याङ्कन गरिएको थियो । यसले सन् ३१० इस्वीसम्म अर्थतन्त्रलाई सापेक्ष रूपमा स्थिर राख्न महत्त्वपूर्ण भूमिका खेल्यो । तथापि, सुन तथा अन्य बहुमूल्य धातुहरू निरन्तर रूपमा विलासिताका वस्तुहरूको व्यापार, धार्मिक तीर्थयात्रा र ब्याज भुक्तानीका लागि पूर्वी क्षेत्रहरूतर्फ प्रवाह भइरहने अवस्थाले दीर्घकालीन रूपमा आर्थिक असन्तुलन निम्त्यायो ।

एक शताब्दीभित्रै, प्रचलनमा रहेका करिब एकतिहाइ सिक्काहरू घिसावट तथा अन्य कारणले क्षतिग्रस्त भई मुद्रा प्रवाहमा उल्लेखनीय गिरावट आएको थियो, जसले समग्र आर्थिक स्थायित्वलाई चुनौती दियो । सुन अत्यन्त मूल्यवान् धातु भएकाले यसको मूल्य स्थिरता कठोर नियमनद्वारा सुरक्षित गरिन्थ्यो । सम्राट् कन्स्टेन्टाइन (२७५–३३७ इस्वी) ले मुद्रा जालसाजीविद्ध कडा कानुनी व्यवस्था लागू गरेका थिए ।

उनका आदेशअनुसार, नक्कली सुनका सिक्का निर्माण गर्ने अपराधीलाई मृत्युदण्डको सजाय दिइने व्यवस्था थियो । साथै, यस्ता जालसाजी घटनाको जानकारी भएर पनि प्राधिकारीलाई सूचित नगर्ने मुद्रा परिवर्तकहरूलाई तत्काल कारबाही गरिन्थ्यो, जसअन्तर्गत उनीहरूलाई कोर्रा हानेर दास बनाइन्थ्यो । यी कठोर नीतिहरूले रोमन साम्राज्यमा सुनको सिक्काको मूल्य स्थिर राख्न महत्त्वपूर्ण भूमिका खेले ।

प्रारम्भमा सुनको सिक्काको तौल ७० ग्रेन निर्धारण गरियो । तर, सन् १०२५ इस्वीसम्म आइपुग्दा यो तौल केही घटेर ६८ ग्रेनमा सीमित भयो ।

सन् ३१३ इस्वीमा जारी गरिएको मिलान आदेशमार्फत रोमन साम्राज्यले इसाई धर्मलाई स्वतन्त्र रूपमा अभ्यास गर्ने औपचारिक अनुमति प्रदान गर्‍यो । त्यसपछि, सन् ३८० इस्वीमा सम्राट् थियोडोसियस प्रथमले इसाई धर्मलाई राज्यको एकमात्र आधिकारिक धर्मका रूपमा घोषणा गरे । यस निर्णयसँगै मौद्रिक नीतिको नियन्त्रण धार्मिक सर्वोच्च अधिकारी पोन्टिफेक्स म्याक्सिमसको हातमा पुग्यो ।

यस कालखण्डमा सामाजिक अन्याय व्यापक रूपमा फैलिएको देखिन्छ, जहाँ विशेषगरी मध्यम वर्ग असह्य करभारको मारमा परे । रोमन व्यापारीहरूले व्यापारिक गतिविधिभन्दा लुटपाटको प्रवृत्तिलाई प्राथमिकता दिन थाले, जसले आर्थिक अस्थिरतालाई अझ गहिरो बनायो ।

राज्यभित्र उत्पादनको अपर्याप्तताका कारण रोमन साम्राज्य आयातमा निर्भर हुन बाध्य भयो । मुद्राको केन्द्रीकरणसँगै धनाढ्य वर्गले सर्वसाधारणलाई दाससरह व्यवहार गर्न थाले । कुलीन वर्गको प्रभाव अत्यधिक बढेपछि उनीहरूले न्याय प्रणालीलाई समेत आफ्नो स्वार्थअनुसार अनुकूल बनाउन सफल भए । यसको प्रत्यक्ष प्रभावस्वरूप रोमन समाजमा आमनागरिकको आत्मसम्मान तथा आधारभूत अधिकारहरू क्रमशः क्षीण हुँदै गए ।

(सुनुवार साउथ एसियन स्टडिजका अध्येता हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण सुनुवार
कृष्ण सुनुवार
लेखकबाट थप