एआई धेरै नै डरलाग्दो अवस्थामा आइपुग्यो
सारांश
- एन्थ्रोपिकको नयाँ एआई मोडेल 'क्लाउड मिथोस' ले विश्वभरका सफ्टवेयर प्रणालीमा रहेका कमजोरीहरू पत्ता लगाई ह्याकिङको गम्भीर जोखिम निम्त्याएको छ।
- अतिबुद्धिमान् एआईको दुरुपयोग रोक्न र विश्वव्यापी सुरक्षा सुनिश्चित गर्न अमेरिका र चीनले सहकार्य गर्नुपर्ने आवश्यकता देखिएको छ।
- यो प्रविधि नियन्त्रण गर्न र सुरक्षित पूर्वाधार निर्माण गर्न जिम्मेवार सरकार तथा प्रविधि कम्पनीहरूले तत्काल कदम चाल्नुपर्ने देखिएको छ।
सामान्य अवस्था हुँदो हो त म अहिले इरान युद्धका भूराजनीतिक प्रभावहरूबारे लेखिरहेको हुन्थेँ । तर यो लेख अपर्झट लेख्ने बाध्यता आइलाग्यो । यसपछि भने म आफ्नो पुरानो विषयमै फर्किनेछु ।
प्रस्तुत लेखमा एआई अर्थात् कृत्रिम बौद्धिकताको क्षेत्रमा भएको एउटा आश्चर्यजनक विकासबारे चर्चा गर्न चाहन्छु । यो हप्ता एआईको क्षेत्रमा एउटा त्यस्तो घटना भयो, जुन यति छिट्टै आइपुग्छ भन्ने सायदै कसैले अनुमान गरेका थिए ।
यसले प्रविधि वा अर्थतन्त्रमा मात्रै नभएर भूराजनीतिमा पनि प्रभाव पार्दैछ ।
एआईको क्षेत्रमा काम गरिरहेको कम्पनी ‘एन्थ्रोपिक’ ले गत मङ्गलबार आफ्नो एआई मोडेलको ‘क्लाउड मिथोस प्रिभ्यु’ भनिने नयाँ संस्करण सार्वजनिक गर्ने घोषणा गर्यो । तर उसको नयाँ मोडेल सबैसामु भने उपलब्ध गराइएन ।
गुगल, ब्रोडकम, एनभिडिया, सिस्को, पालो अल्टो नेटवर्क्स, एप्पल, जेपी मोर्गन चेज, अमेजन तथा माइक्रोसफ्टलगायत करिब ४० हाराहारी प्रविधि कम्पनीहरूको सीमित समूहलाई मात्रै यो उपलब्ध गराइयो । एन्थ्रोपिकले आफ्नो नयाँ संस्करण उपलब्ध गराएका कम्पनीहरूमा केही त उसकै प्रतिस्पर्धी पनि छन् ।
नयाँ एआईले हाल उपलब्ध सबै मोडेलको तुलनामा धेरै सजिलो गरी सफ्टवेयर कोड लेख्न सक्ने मात्रै नभएर चलनचल्तीमा रहेका विश्वका लगभग सबै लोकप्रिय सफ्टवेयर प्रणालीका कमजोरीहरू सजिलै पत्ता लगाउन सक्छ ।
उसले आफ्नो उत्पादन आफ्नै प्रतिस्पर्धीहरूलाई सुरुमै उपलब्ध गराउनुको खास कारण छ । एन्थ्रोपिकको नयाँ एआई मोडेलमा केवल सामान्य परिवर्तन मात्रै छैन, यसले एक प्रकारको ‘चरण परिवर्तन’ वा छलाङकै प्रतिनिधित्व गर्छ ।
नयाँ मोडेलले साइबर सुरक्षाका साथै अमेरिकाको राष्ट्रिय सुरक्षाकै लागि समेत केही ज्यादै महत्त्वपूर्ण सकारात्मक तथा नकारात्मक प्रभावहरू पार्न सक्ने देखाएको छ ।

एन्थ्रोपिकले आफ्नो नयाँ मोडेल ‘क्लाउड मिथोस’ विकास गर्ने क्रममा आश्चर्यजनक कुरा पत्ता लगायो । उसको नयाँ एआईले हाल उपलब्ध सबै मोडेलको तुलनामा धेरै सजिलो गरी सफ्टवेयर कोड लेख्न सक्ने मात्रै नभएर चलनचल्तीमा रहेका विश्वका लगभग सबै लोकप्रिय सफ्टवेयर प्रणालीका कमजोरीहरू सजिलै पत्ता लगाउन सक्छ ।
अब खतरा के भयो भने यो उपकरण खराब व्यक्ति वा शक्तिको हातमा परेको खण्डमा तिनीहरूले विश्वका लगभग हरेकजसो ठूला सफ्टवेयर प्रणाली ह्याक गर्न सक्छन् । यसरी ह्याक गर्न सकिनेमा ठूला कम्पनीहरूको समूहका सबै प्रणालीहरू पर्न सक्छन् । तपाईंहरूलाई यो कुरा ठट्टा नलागोस्, म सबै प्रणाली भन्दैछु ।
नयाँ घोषणाको पूर्वसन्ध्यामा अमेरिकामा रहेका अग्रणी प्रविधि कम्पनीका प्रतिनिधिहरू ट्रम्प प्रशासनसँग छलफलमा बसेका थिए । छलफलमा अमेरिका तथा अन्य मुलुकका सफ्टवेयर प्रणालीहरूमा एन्थ्रोपिकको नयाँ एआई संस्करणले पार्न सक्ने प्रभावका विषयमा चर्चा भएको थियो । यसबारे सोही छलफलमा सामेल भएका एकजनाले मलाई बताएका थिए ।
एन्थ्रोपिकले मङ्गलबार आफ्नो लिखित विज्ञप्तिमा जनाएअनुसार गत महिना नै मिथोस प्रिभ्युले उच्च स्तरको गम्भीरता भएका धेरै कमजोरीहरू पहिल्यै पत्ता लगाइसकेको थियो । यस्तो कमजोरी फेला परेका प्रणालीहरूमा प्रत्येक ठूला ‘अपरेटिङ सिस्टम’ एवम् ‘वेब ब्राउजर’ हरू समेत समावेश भएका थिए ।
एन्थ्रोपिकको विज्ञप्तिमा भनिएको छ, ‘अहिले एआईमा देखिएको प्रगतिको गतिलाई ध्यानमा राख्दा त्यस्ता क्षमताहरू थप फैलिन धेरै समय नलाग्ने देखिन्छ । एआईमा हुने त्यस्तो विकास त्यसलाई सुरक्षित रूपमा परिचालन गर्ने व्यक्ति वा समूहको हातमा मात्रै सीमित नरहने सम्भावना धेरै हुन्छ । फलतः अर्थव्यवस्था, सार्वजनिक तथा राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्न सक्छ ।’
एन्थ्रोपिकको यो विज्ञप्तिको भाषा त्यति सरल र सोझो छैन । मेरो बुझाइमा एन्थ्रोपिकले आफ्नो विज्ञप्तिमा अतिबुद्धिमान् (सुपर इन्टेलिजेन्ट) एआई अपेक्षाभन्दा छिटो आइरहेको जनाउ दिएको छ ।
एन्थ्रोपिकले आफ्नो एउटा समूहको नाम ‘प्रोजेक्ट ग्लासविङ’ राखेको छ । त्यो समूहले ठूला र विश्वसनीय प्रविधि कम्पनी तथा बैंकलगायत संवेदनशील पूर्वाधारसम्बन्धी काम गर्ने संस्थाहरूसँग मिलेर काम गर्छ । त्यस्ता संस्थाको सुरक्षा प्रणाली बलियो बनाउन सघाउँछ । साथै अग्रणी प्रविधि कम्पनीहरूलाई उनीहरूका प्रणालीभित्र रहेका विविध कमजोरी र समस्याहरू औँल्याउन सहयोग गर्छ अनि प्राप्त कमजोरीहरू सम्बोधन पनि गर्छ ।
पछिल्लो सन्दर्भबारे एन्थ्रोपिकले भनेको छ, ‘हामी क्लाउड मिथोस प्रिभ्युलाई आमरूपमा उपलब्ध गराउने योजनामा छैनौँ । यद्यपि हाम्रो लक्ष्य भनेको हाम्रा प्रयोगकर्ताहरूलाई मिथोसमै श्रेणीका मोडेलहरू ज्यादै सुरक्षित रूपमा चलाउनका लागि सक्षम बनाउनु हो । साइबर सुरक्षा मात्रै नभएर अन्य असाध्यै सक्षम मोडेलहरूले ल्याउन सक्ने असङ्ख्य लाभहरूका लागि तयार पार्नु पनि हो ।’
एन्थ्रोपिकको यो विज्ञप्तिको भाषा त्यति सरल र सोझो छैन । मेरो बुझाइमा एन्थ्रोपिकले आफ्नो विज्ञप्तिमा अतिबुद्धिमान् (सुपर इन्टेलिजेन्ट) एआई अपेक्षाभन्दा छिटो आइरहेको जनाउ दिएको छ । कम्प्युटरमा सामान्य साक्षर मात्रै भएको मान्छेलाई पनि सफ्टवेयरको कोड लेख्न आश्चर्यजनक रूपमा सजिलो हुँदै गएकोसम्म त हामीलाई राम्रै थाहा थियो ।
तर एन्थ्रोपिकको नयाँ मोडेलले त विद्यमान कोडहरूमा रहेका त्रुटिहरू पत्ता लगाउने तथा त्यसको दुरुपयोग गर्ने तरिकाहरू फेला पार्न पनि यति छिट्टै सक्छ होला भन्ने त अनुमान पनि थिएन ।

एन्थ्रोपिकका अनुसार उसको नयाँ मोडेलले प्रत्येक प्रमुख ‘अपरेटिङ सिस्टम’ तथा ‘वेब ब्राउजर’ हरूमा गम्भीर प्रकारका जोखिमहरू फेला पारेको छ । यस्ता प्रणालीहरूमध्ये धेरैले संसारभरका विद्युतीय प्रसारण प्रणाली (पावर ग्रिड), खानेपानी आपूर्ति केन्द्रहरू, हवाई सेवाका रिजर्भेसन प्रणालीहरू, खुद्रा व्यापारका सञ्जालहरू, विविध सैन्य प्रणालीहरू तथा अस्पतालहरू चलाउने गरेका छन् । (सजिलो भाषामा भन्ने हो भने एन्थ्रोपिक मोडेलको एआई प्रयोग गरेर सामान्यभन्दा सामान्य व्यक्तिले पनि विश्वको जुनसुकै, जतिसुकै संवेदनशील प्रणाली प्रभावित पार्न, ह्याक गर्न र ध्वस्त गर्न सक्ने क्षमता राख्ने भयो ।)
यदि अहिले तयार भएको एन्थ्रोपिकको नयाँ एआई उपकरण साँच्चिकै सबैले पाउन सक्ने गरी व्यापक रूपमा उपलब्ध भयो भने कुनै पनि ठूलो पूर्वाधार प्रणालीलाई ह्याक गर्ने क्षमता एकाएक बढ्नेछ । यसअघि केही सीमित विज्ञहरू एवम् खुफिया सङ्गठनहरूसँग मात्रै रहेको क्षमता सबैको हातमा पुग्नेछ ।
अपराधीहरू, आतङ्कवादीहरू तथा दुष्ट राज्यहरूले सहजै संवेदनशील प्रणाली ‘ह्याक’ गर्ने क्षमता हासिल गर्नेछन् ।
यसै जोखिमका कारण एन्थ्रोपिकले आफ्ना खास सफ्टवेयर प्रदायकहरूलाई सावधानीपूर्वक नियन्त्रित संस्करणहरू मात्र उपलब्ध गराएको हो ।
म यो विषयलाई अनावश्यक उचालेर हौवा बनाउँदै छैन । साँच्चिकै गम्भीरताका साथ लेखिरहेको छु । अबका दिनमा साना केटाकेटीहरूले त्यस्तो एआईको प्रयोग गर्न सक्छन् । अभिभावकहरू पनि अबको दिनमा त्यसका लागि तयार हुनुपर्छ ।
एउटा दृश्य कल्पना गर्नुहोस् त !
तपाईं आफ्नो बच्चालाई सोध्नुहुन्छ, ‘बाबु/नानी, आज स्कुल सकिएपछि तिमीले के–के गर्यौ त ?’
जवाफमा तपाईंको बच्चाको प्रत्युत्तर हुनेछ– ‘बाबा/आमा ! म र मेरा साथीहरू मिलेर आज हामीले बिजुली ग्रिड नै डाउन गरिदियौँ । तर मलाई साह्रै भोक लागेको छ, आज खाजा के बनाउनुभएको छ ?’
यसै जोखिमका कारण एन्थ्रोपिकले आफ्ना खास सफ्टवेयर प्रदायकहरूलाई सावधानीपूर्वक नियन्त्रित संस्करणहरू मात्र उपलब्ध गराएको हो । उनीहरूले खराब नियत भएका मान्छेहरू वा तपाईंहम्रा बच्चाहरूभन्दा अघि नै आफ्ना प्रणालीमा रहेका कमजोरीहरू पत्ता लगाएर ठीक पार्न सकून् भन्ने ध्येयका साथ उसले त्यसो गरेको हो ।
यस्तो गम्भीर परिस्थितिमा म आफ्ना प्रविधि गुरु क्रेग मुन्डिसँग छलफल गर्न, बुझ्न र केही सिक्न मन गर्छु । उनी माइक्रोसफ्टका पूर्व निर्देशक एवम् अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको विज्ञान तथा प्रविधि सल्लाहकार परिषद्का सदस्यसमेत हुन् । उनले हेनरी किसिन्जर र एरिक स्मिटसँग मिलेर एआईबारे ‘जेनेसिस’ नामको किताब पनि लेखेका छन् ।
हामीले पछिल्लो समस्याबारे केही चर्चा गर्यौँ । हाम्रो विचारमा अब विश्वको कुनै पनि देशले यो समस्या एक्लै समाधान गर्न सक्दैन । समाधानको विकल्प सुन्दा तपाईंहरूलाई अचम्म लाग्न सक्छ ।
हो, अब यस्तो समस्याको समाधान दुई एआई महाशक्तिहरू मिलेरै गर्नुपर्ने हुन्छ । ती दुई महाशक्ति हुन्– अमेरिका र चीन ।
अब उनीहरूले सहकार्य गर्नु अत्यावश्यक भइसकेको छ । अन्यथा विश्व राजनीति र समाजका खराब खेलाडीहरूले यो तहको क्षमता हात पार्न सक्छन् । त्यतिबेलासम्म ढिलो भइसकेको हुनेछ ।
अब एआई विकासको क्रममा देखा परेका यस्ता शक्तिशाली उपकरणहरूले दुवै मुलुकका प्रणालीलाई जोखिममा पार्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै आतङ्कवादी समूह तथा अन्य विरोधीहरूको सामना गर्न असुरक्षित बनाउँदै लैजान्छन् ।
अबका दिनमा एआईका नयाँ उपकरणहरू सजिलै ठूलो खतरा बन्न सक्छन् । त्यस्तो खतरा यी दुई मुलुकहरूको आपसी खतराभन्दा धेरै ठूलो हुने निश्चित छ ।
यो सामान्य अवस्था होइन । आणविक हतियारको दौड कायम रहेको समयमा जसरी ‘पारस्परिक विनाशको सुनिश्चितता’ अर्थात् ‘म्युचुअल अस्योर्ड डिस्ट्रक्सन’ र आणविक अप्रसारको आवश्यकता परेको थियो, आजको समय पनि कम्तीमा त्यति नै महत्त्वपूर्ण भएर आएको छ ।
अहिले रुसको चिन्ताभन्दा ठूलो विषय यो हो । अब अमेरिका र चीनले मान्छे वा स्वचालित एआईहरूलाई यस्ता डरलाग्दा प्रविधिको दुरुपयोग गर्नबाट जोगाउन मिलेर काम गर्नैपर्ने अवस्था आएको छ ।
यो ज्यादै महत्त्वपूर्ण र जरुरी सन्दर्भ हो । अर्को महिना बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिचको शिखर वार्ताको एजेन्डामा यसलाई मुख्य विषयका रूपमा सामेल गर्नुपर्छ ।
पहिलो, यस्ता अतिबुद्धिमान् वा ‘सुपर इन्टेलिजेन्ट’ भनिने मोडेलहरू सार्वजनिक गर्ने काम सावधानीपूर्वक नियन्त्रण गर्नुपर्छ ।
मुन्डिको भनाइ थियो, ‘पहिले यस्तो मामिलामा ठूला देशहरू, सेनाहरू, ठूला कम्पनीहरू तथा धेरै खर्च गर्न सक्ने ठूला अपराधी सङ्गठनहरूको कब्जा थियो । अब परिष्कृत साइबर ह्याकिङ अपरेसनहरू विकास गर्न सकिने यस्तो क्षमता साना खेलाडीहरू वा सामान्य व्यक्तिका लागि पनि सहजै उपलब्ध हुन सक्छ । अब साइबर आक्रमण क्षमता पनि लोकतान्त्रिकीकरण हुन लागेको छ ।’
उनका अनुसार अबका दिनमा जिम्मेवार सरकारहरूले यस्ता एआई उपकरण तथा सफ्टवेयर पूर्वाधारहरू निर्माण गर्ने कम्पनीहरूको सहकार्यमा अनिवार्य तीन कुराहरू गर्नुपर्ने आवश्यकता छ:
पहिलो, यस्ता अतिबुद्धिमान् वा ‘सुपर इन्टेलिजेन्ट’ भनिने मोडेलहरू सार्वजनिक गर्ने काम सावधानीपूर्वक नियन्त्रण गर्नुपर्छ । साथै त्यस्ता मोडेलहरू उत्तरदायी सरकार र कम्पनीहरूमा मात्र पुग्छन् भन्ने सुनिश्चित गर्नुपर्छ ।
दोस्रो, नयाँ मोडेलहरू आउनासाथ त्यसको जोखिम पत्ता लगाउँदै त्यसबाट जोगिने रक्षात्मक उपकरणहरू आवश्यक रूपमा वितरण गर्नु जरुरी नै भइसक्यो । त्यसो हुँदा तिनीहरूको खास पूर्वाधार चलाउने सफ्टवेयरहरूका सबै कमजोरीहरू ह्याकरहरूले प्राप्त गर्नुअघि नै फेला पारेर उचित रूपमा व्यवस्थित गर्न सकिन्छ ।
तेस्रो, हामीले चीनलगायत अन्य जिम्मेवार देशहरूसँग मिलेर सबै विशेष सञ्जालहरूभित्र सार्वजनिक र निजी दुवै प्रकारका सुरक्षित तथा संरक्षित काम गर्ने वृत्तहरूको निर्माण गर्नुपर्छ । त्यसो हुँदा कम्पनीहरू र सरकारहरूले आफ्ना सबै महत्त्वपूर्ण सेवाहरू त्यसमा स्थानान्तरण गर्न सक्नेछन् र भविष्यका ह्याकिङ आक्रमणहरूबाट सुरक्षित हुनेछन् ।
हामी इतिहासको गज्जब घडीमा आइपुगेका छौँ । अप्रिल ७ तारिखमा दुई ठूला घटना भएका छन् । अमेरिकाले इरानमाथिको बमबारी स्थगन गर्ने घोषणा गरेको छ । एन्थ्रोपिक कम्पनीको ‘क्लाउड मिथोस प्रिभ्यु’ मोडेल यसका प्राविधिक सहयोगीहरूले सावधानीपूर्वक सीमित कम्पनीहरूका लागि सार्वजनिक गरेका छन् ।
हेरौँ इतिहासले कुन घटनालाई धेरै सम्झनेछ ! भविष्यमा यो हेर्न पक्कै रोचक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
-
नागढुंगा–मुग्लिन सडक विस्तार : दोस्रो म्याद सकिनै लाग्यो, सकिएन काम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण