आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’

आइतबार, ०७ असार २०८३, २१ : २५
आइतबार, ०७ असार २०८३

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश र जनताप्रति समर्पित हुँदै मुलुकको नेतृत्व गर्ने व्यक्ति सदैव सफल हुने बताएका छन् ।

आशालता रिजाल प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित आठौँ ‘नगेन्द्रप्रसाद-आशालता रिजाल शिक्षा, संस्कृति तथा सामाजिक सेवा पुरस्कार’ वितरण समारोहमा समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्वले पनि सकारात्मक पहल गर्नुपर्नेमा जोड दिए ।

समारोहमा ‘नगेन्द्रप्रसाद-आशालता रिजाल शिक्षा, संस्कृति तथा सामाजिक सेवा पुरस्कार’ बाट पूर्वबैंकर अनिलकेशर शाह र सुनसरीको धरानस्थित पिण्डेण्श्वर संस्कृत माविलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उनले स्व रिजालले मुलुकको शिक्षा, स्वास्थ्य धर्म संस्कृति संरक्षणमा ठूलो योगदान पुर्‍याउनुभएको स्मरण गर्दै कुशल प्रशासक एवं राष्ट्रवादी नेता भएकाले सबैले अहिले पनि सम्झने बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी साउनदेखि निजी तथा सामुदायिक विद्यालयका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने किशोरकिशोरीका लागि असल र सभ्य नागरिक भई राष्ट्र सेवामा केन्द्रित हुने किसिमका कार्यक्रम सञ्चालन गर्ने बताए । प्रतिष्ठानद्वारा स्थापित पुरस्कारले कोशी प्रदेशका साथै मुलुकका अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्व खोजेर सम्मान गर्दै आएकामा प्रशंसा गरे ।

प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले स्व रिजालले मुलुकमा दिनुभएको शिक्षा, स्वास्थ्य एवं सामाजिक कार्यको युुवापुस्ताले सधैँ सम्झने बताउँदै उनको योगदानले सबैलाई प्रेरणा दिने बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले स्व रिजाल समाजलाई एकताबद्ध गराई सद्भाव कायम गर्ने व्यक्तित्वका रूपमा रहनुभएको उल्लेख गरे । सम्मानित व्यक्तित्व शाह र संस्कृत माविका संस्थापक पुरुषोत्तम भट्टराईले आफ्ना सन्तानलाई धर्म, संस्कृति र संस्कारयुक्त बनाई राष्ट्रवादी बनाउन सबै अभिभावक लाग्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजाल, उपाध्यक्ष सुरेश शर्मा, प्रा गोपाल भण्डारी, सल्लाहकार प्रभु पराजुली, प्रा गोपाल अधिकारीलगायतले स्व रिजालले शिक्षा, स्वास्थ्य र धर्मको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप