अक्षय तृतीयाको सन्देश: सत्कार्यको निरन्तरता र परोपकार
सारांश
- अक्षय तृतीया वैशाख शुक्ल पक्षको तृतीया तिथिमा मनाइने एक विशेष पर्व हो, जसको अर्थ कहिल्यै नाश नहुने भन्ने हुन्छ।
- पौराणिक मान्यताअनुसार यस दिन गरिएका दान, जप, तप र सत्कार्यको फल अक्षय रहने विश्वास गरिन्छ।
- यो पर्व भगवान विष्णु र परशुराम जयन्तीसँग जोडिएको छ, जसले जीवनमा परोपकार र सत्कार्यको निरन्तरताको सन्देश दिन्छ।
प्रत्येक महिना (सामान्यतया ३० दिन) को दुई भागमध्ये कुनै एक भाग, अर्थात् चन्द्रमासको पन्ध्र–पन्ध्र दिनको दुवै भागलाई पक्ष भनिन्छ। यो पन्ध्र दिनको समयको अघिल्लो भागलाई कृष्ण पक्ष र पछिल्लो भागलाई शुक्ल पक्ष भनिन्छ।
चन्द्रमाको कला घट्ने वा बढ्ने अवस्थाअनुसार गणना गरिने प्रत्येक दिनलाई तिथि भनिन्छ। चन्द्रमासका अलग–अलग तिथिहरू, जसको नाम सङ्ख्याका आधारमा नै तोकिएको छ, प्रत्येक पक्षमा १५ वटा हुन्छन्। जसका नाम क्रमशः प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, पूर्णिमा वा औँसी हुन्।
कृष्ण पक्षको अन्तिम तिथि औँसी र शुक्ल पक्षको अन्तिम तिथि पूर्णिमा कहलाउँछ। औँसी त्यो तिथि हो, जसमा चन्द्रमा पृथ्वीको विपरीत दिशामा पुगेको हुन्छ र रात पूर्णतः अन्धकार हुन्छ। पूर्णिमा त्यो तिथि हो, जुन दिन चन्द्रमा आफ्नो पूर्ण मण्डलका साथ उदाउँछ। कृष्ण पक्षमा चन्द्रमाको कला प्रतिदिन घट्दो हुन्छ, जसकारण रात अँध्यारो हुन्छ। शुक्ल पक्षमा चन्द्रमाको कला प्रतिदिन बढ्दो हुन्छ, जसकारण रात उज्यालो हुन्छ।
प्रत्येक पक्षको तेस्रो तिथिलाई तृतीया भनिन्छ। वर्षभरिमा तिथिहरूका कैयौँ विशेष योगहरू पर्छन्। तीमध्ये एउटा महायोगको नाम हो- अक्षय तृतीया। यो महायोग वर्षमा केवल एकपटक मात्र पर्छ। जुन तिथिको कहिल्यै क्षय हुँदैन, त्यो तिथि अक्षय तृतीया हो। हरेक वर्षमा पर्ने साढे तीन शुभ मुहूर्तमध्य अक्षय तृतीयाको मुहूर्तलाई पनि गनिन्छ। अक्षय तृतीयाको दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ भनिन्छ। अक्षयको अर्थ हुन्छ- कहिल्यै क्षय नहुने।
अक्ष शब्दबाट अक्षय बनेको हो। अक्षय अक्षको निरन्तरता हो। ब्रह्माण्ड, आकाशगङ्गा, तारा, ग्रह, पृथ्वी आदि घूर्णनशील छन्। अक्ष भनेको तारा, ग्रह आदिको आफ्नो केन्द्र, स्वयंमा घुम्ने एउटा काल्पनिक धुरी वा रेखा हो। पृथ्वीको हकमा, यो उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म जाने रेखा हो, जसमा पृथ्वी साढे २३ डिग्रीको झुकावका साथ घुमिरहेको छ।
यो घूर्णन कहिल्यै नरोकिने गरी घुमिरहने हुनाले यसको केन्द्रलाई अक्ष भनेर सम्बोधन गरिएको हो। घूर्णन वा घुमाइको निश्चित काल्पनिक रेखा नै अक्ष हो। अक्ष भनेको आफैँ घुम्ने रेखा हो भने कक्ष भनेको सूर्यको वरिपरि घुम्ने बाटो हो। पृथ्वीको अक्षको झुकावले गर्दा नै ऋतु परिवर्तन हुने गर्छ।
नटुटेको चामललाई अक्षत (अछेता) भनिन्छ, जुन देवीदेवतालाई पूजाको क्रममा अर्पण गरिन्छ। यो अक्षत शब्दलाई पनि अक्षको अटुट, अनवरतता र निरन्तरताको द्योतक मानिएको छ।
अक्षय, जसको क्षय हुँदैन। अनश्वर, जो सदैव शाश्वत र गतिशील रहन्छ। प्रयाग र गयामा विशेष वटवृक्ष छन्, जसलाई अक्षयवट भनिन्छ। यो यसकारणले अक्षयवट कहलाउँछ कि यसको नाश प्रलयकालमा पनि हुँदैन। शक्तिकी प्रतीक पार्वतीको एक नाम अक्षयिणी पनि हो, किनकि शक्तिको रूप मात्र फेरिन्छ, नाश कहिल्यै हुँदैन।
अक्षय तृतीयाको दिन चार धाममध्ये एक बद्रीनाथको पट (ढोका) खोलिन्छ तथा यस दिन बद्रीनाथ भगवान्लाई अक्षय (अक्षय चामल) अर्पण गरिएमा सबै मनोकामना पूर्ण हुन्छन् भन्ने मान्यता छ। वृन्दावनका श्री बाँकेबिहारीको मन्दिरमा पनि यसै दिन श्रीविग्रहको चरणको दर्शन गर्न सकिन्छ। अन्यथा सम्पूर्ण वर्ष श्रीचरणलाई लुगाले ढाकिन्छ।
भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा शिवरात्रि, अक्षय तृतीया र ‘केदारनाथको शिर डोलेश्वर महादेव’ घोषणा भएको दिन भदौ ६ गते गरी वर्षमा तीन दिन मन्दिरको गर्भगृहमा प्रवेश गरी पूजा गर्न पाइन्छ। अन्य दिनमा बाहिरबाट मात्र दर्शन गर्न मिल्छ।
भविष्य पुराणका अनुसार यस तिथिको युगादि तिथिहरूमा गणना हुन्छ, सत्य युगको प्रारम्भ यसै तिथिबाट भएको थियो। भगवान् विष्णुले नर–नारायण, हयग्रीव र परशुरामको अवतार पनि यसै तिथिमा लिनुभएको थियो। भगवान् विष्णु एक प्रधान र विशिष्ट देवता हुन्, जो सृष्टिको भरण, पोषण र पालन गर्ने तथा स्वयं ब्रह्मकै उत्पत्तिको आधार मानिन्छन्।
सनातन सांस्कृतिक समाजमा भगवान् विष्णुको प्राचीन कालदेखि नै व्यापक रूपमा उपासना गरिँदै आएको छ। अक्षय तृतीया पर्वका देवता भगवान् विष्णु हुन्, किनभने सृष्टिलाई निरन्तरता दिने काम उनकै हो। सुदर्शन चक्र त्यही निरन्तरताको प्रतीक हो, जुन भगवान् विष्णुले धारण गरेका छन्।
पौराणिक कथाअनुसार भगवान् विष्णुले परशुराम अवतार लिनुभएकाले यस दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ। परशुरामलाई विष्णुका दश अवतारमध्ये एक मानिन्छ। परशुराम चिरञ्जीवी छन्। उनको आयुको क्षय भएन, त्यसैले यस तिथिलाई चिरञ्जीवी तिथि पनि भनिन्छ। यस दिन भगवान् परशुरामको पूजा गरेर उनलाई अर्घ्य दिँदा ठूलो पुण्य प्राप्त हुने मान्यता छ। भगवान् परशुरामको जन्मदिन भएका कारणले यो दिन अझै विशेष मानिन्छ।
हयग्रीव विष्णुका चौबीस अवतारमध्येको एक अवतार हो। मधु र कैटभ नामका दुई दैत्यले जब वेद उठाएर लगे, तब वेदको उद्धार र ती राक्षसहरूको विनाशका लागि भगवान् विष्णुले हयग्रीव अवतार लिएका थिए। ती असुरहरूले कल्पान्तमा ब्रह्माको निद्राको समयमा वेद उठाएर लगेकाले भगवान् विष्णुले अवतार लिएर राक्षसको वध गरी वेदको उद्धार गरेका थिए।
वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए, जुन मानिस यस दिन गङ्गास्नान गर्छ, उसलाई अनेकौँ पापबाट मुक्ति मिल्छ भन्ने शास्त्रोक्त मत रहेको छ।
अक्षय तृतीया पर्व हरेक वर्ष वैशाख शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ। प्राचीनकालमा अक्षय तृतीयालाई निकै विशेष दिन मानिन्थ्यो। आधुनिक सुविधायुक्त समाजमा यसको महत्त्व घट्दै गएको छ। तर पनि यस दिनको स्नान, पूजापाठ र दानको अनन्त फल प्राप्त हुन्छ।
अक्षय तृतीयाको विशेष महत्त्व छ। यस दिन गरिने कामको परिणाम कहिल्यै क्षय नहुने मान्यता छ। ज्योतिषीहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ। अक्षय तृतीयाको दिनमा गरिएको सत्कर्मको फल यस जन्मका साथसाथै परलोकमा पनि काम आउँछ।
अक्षय तृतीयालाई ‘विघ्नविनाशक दिन’ पनि भनिन्छ। विशिष्ट उद्देश्यले गरिने शुभ एवं पूजनीय कार्य यसै दिन प्रारम्भ गर्ने गरिन्छ। यसबाट मानिसको जीवन धन्य हुन जान्छ।
यस दिन मध्याह्नभन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृ–तर्पण तथा दान आदि सम्पन्न गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुने अवसर प्राप्त गर्छ। आजका दिन दियो, कलश र गणेशलाई पूजी कलशमाथि अष्टदल लेखेको तामाको थाल राखेर अष्टदलमा पूजा गर्ने चलन छ।
बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने तथा इच्छा र क्षमताअनुसार गाई, जमिन, अन्न र सुन पनि सत्पात्रलाई दान दिने गरिन्छ। यस दिनलाई दान र पूजापाठका साथै वस्त्र, शस्त्र र आभूषण खरिद गर्नका लागि उत्तम दिन मानिन्छ। कुनै पनि नयाँ कामको सुरुवात आजैबाट गर्ने गरिन्छ।
यस दिन विवाह गर्नाले कुनै प्रकारको पनि दोष मानिँदैन। यस दिन यस्ता विवाह पनि मान्य हुन्छन्, जसको मुहूर्त वर्षभरिमा पनि निस्कँदैन। ग्रहहरूको दशाका कारण यदि कुनै नारी वा पुरुषको विवाहको दिन अनुकूल भइरहेको छैन भने यस दिन बिना लग्न वा मुहूर्त पनि विवाह गरिदिने परम्परा छ। त्यसैले यस मुहूर्तलाई निकै शुभ मानिएको हो।
यस दिन दान–पुण्यको पनि निकै महत्त्व छ। अक्षय तृतीयामा तिल, जौ र चामल दान गर्नुको विशेष महत्त्व छ। यस्तो मानिन्छ कि भगवान् विष्णुको पसिनाबाट तिलको उत्पत्ति भएको थियो, त्यसैकारण तिल, चामल र जौ दान गर्नुको विशेष फल प्राप्त हुन्छ। यस दिन दान गर्ने व्यक्तिका लागि वैकुण्ठ धाममा स्थान सुरक्षित रहन्छ।
अक्षय तृतीयामा जलदानको परम्परा थियो। माटो वा तामाका दुईवटा घैँटामा जल भरेर एकमा अक्षत तथा अर्कोमा तिल राखेर जलदान गर्ने चलन थियो। घैँटालाई ब्रह्मा, विष्णु र शिवस्वरूपमा पूजा गरेर दान गरे पितृ तृप्त हुन्छन् र उनीहरूको आशीर्वादले आफ्ना सम्पूर्ण मनोरथ पूर्ण हुन्छन् भन्ने विश्वास गरिन्छ।
एष धर्मघटो दत्तो ब्रह्मविष्णुशिवात्मकः ।
अस्य प्रदानात्सकला मम सन्तु मनोरथाः ।।
“ब्रह्मा–विष्णु–शिव—त्रिदेवको वास भएको जलले पूर्ण यो धर्म–घट (कलश) म दान गरिरहेको छु। यस दानको पुण्यबलले मेरा सबै सात्त्विक इच्छा पूर्ण होऊन्।”
अक्षय तृतीयाको दिन कलशमा जल भरेर दान गर्ने सनातन संस्कृतिको चलन अहिले खानेपानीको सुविधा बढ्दै जाँदा हराउँदै गएको छ। अचेल अक्षय तृतीयाको दिन सर्वत वितरण गर्ने गरिन्छ।
अक्षय तृतीयाको व्यावहारिक सन्देश ‘सत्कार्यको निरन्तरता र परोपकार’ हो। यो पर्वले हामीलाई जीवनमा केही यस्ता मूल्यहरू सिकाउँछ जुन सधैँ सान्दर्भिक छन्। अक्षय तृतीयाले हामीलाई स्वार्थ त्यागेर सेवाभाव राख्न र सधैँ असल मार्गमा लाग्न प्रोत्साहित गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण