आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
वैदेशिक व्यापार

९ महिनामा १७ खर्ब नाघ्यो वैदेशिक व्यापार : आयातमा वृद्धिदर बढ्दै, निर्यातमा घट्दै

सोमबार, ०७ वैशाख २०८३, १७ : ४८
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • चालु आर्थिक वर्षको नौ महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।
  • समीक्षा अवधिमा नेपालको आयात १३.८२ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
  • आयातको तुलनामा निर्यातको वृद्धिदर कम हुँदा व्यापार घाटा १३.०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार समीक्षा अवधिमा आयात र निर्यात दुवैमा वृद्धि हुँदै सो अवस्था देखिएको हो । 

यो अवधिमा नेपालले १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन गत वर्षको तुलनामा १३.८२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोडको आयात भएको थियो।

त्यस्तै, निर्याततर्फ भने १८.४६ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ। गत वर्ष १ खर्ब ८८ अर्ब १९ करोडको निर्यात भएकोमा यस वर्ष बढेर २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

निर्यातमा सुधार देखिए पनि आयातको ठुलो हिस्साका कारण व्यापार घाटा भने बढ्दै गएको छ। नौ महिनाको अवधिमा नेपालको व्यापार घाटा १३.०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो।

672170777_2393016801121573_6453293062920698881_n

तथ्यांक अनुसार कुल व्यापारमा निर्यातको हिस्सामा सामान्य सुधार आएको छ। कुल वैदेशिक व्यापारमा निर्यातको अंश गत वर्ष १२.५७ प्रतिशत रहेकोमा यस वर्ष बढेर १.०१ प्रतिशत पुगेको छ। यता आयातको हिस्सा भने ८७.४३ प्रतिशतबाट सामान्य घटेर ८६.९९ प्रतिशतमा झरेको छ।

आयातको दर बढ्ने र निर्यातको वृद्धिदर घट्ने क्रमले व्यापार घाटामा दबाब बढाएको छ। फागुन मसान्तसम्म व्यापार घाटा ११.२२ प्रतिशतले बढेको थियो भने चैत मसान्तसम्म आइपुग्दा व्यापार घाटाको वृद्धिदर १३.०४ प्रतिशत पुगेको छ। यस अवधिमा कुल व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

आयातको चाप बढे पनि कुल व्यापारमा निर्यातको हिस्सा भने सामान्य रूपमा बढ्दै गएको छ। फागुनमा कुल व्यापारमा निर्यातको अंश १२.९१ प्रतिशत रहेकोमा चैतमा यो सामान्य बढेर १३.०१ प्रतिशत पुगेको छ।

त्यस्तै, आयात–निर्यात अनुपातमा पनि क्रमिक सुधार देखिएको छ। फागुनमा १ रुपैयाँको निर्यात गर्दा ६.७५ रुपैयाँको आयात हुने गरेकोमा चैतमा यो घटेर ६.६९ कायम भएको छ। यसले आयातको आयतन ठुलो भए पनि निर्यातले क्रमशः आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको देखाउँछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप