सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
विशेष आर्थिक क्षेत्र

सेजमा जग्गाको भाडादर घटेसँगै अनुमति लिन उद्योगीको भिड

बिहीबार, १० वैशाख २०८३, १२ : ००
बिहीबार, १० वैशाख २०८३

सारांश

  • सिमरा विशेष आर्थिक क्षेत्र 'सेज'मा जग्गाको भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरिएपछि उद्योगीहरूको आकर्षण बढेको छ।
  • भाडादरमा ७५ प्रतिशत कटौती भएसँगै उद्योग सञ्चालनका लागि अनुमति लिन आउने उद्योगीको चाप बढेको भए पनि हाल उपलब्ध जग्गा सकिएको छ।
  • सेजभित्र सञ्चालनमा रहेका उद्योगीहरूले विद्युत् कटौतीको समस्या र सरकारी सेवा सुविधाको पूर्ण कार्यान्वयन नभएको गुनासो गरेका छन्।

बारा । सिमरा विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’मा जग्गाको भाडादर घटेपछि उद्योगीको भिड लागेको छ ।

सरकारले चालु आर्थिक वर्षको पुसदेखि लागु हुनेगरी जग्गाको भाडा दर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरेको हो । सरकारको यो निर्णयले पछिल्लो समय सेजमा उद्योग सञ्चालनका लागि अनुमति लिन आउने उद्योगीको भिड लागेको जनाइएको छ ।

सिमरा सेजका साइट इन्चार्ज इन्जिनियर पप्पु गिरीले जग्गाको भाडादर ७५ प्रतिशतले घटेसँगै उद्योगीहरूको चाप ह्वात्तै बढेको बताए । ‘अहिले उद्योगीहरू धेरै उत्साहित छन्, जग्गा भाडा घटेपछि अनुमति लिन आउने धेरै भए, तर हामीसँग दिने जग्गा छैन,’ गिरीले भने, ‘अहिले सबै जग्गा भाडामा गइसकेको छ ।’

सिमरा सेजको ‘ए ब्लक’ मा १०५ वटा ब्लक छन् । प्रतिब्लक १७ कट्ठादेखि १ बिघा क्षेत्रफलको छ । ए ब्लकको ३४३ बिघा क्षेत्रफलमध्ये बाँकी जग्गामा भने उद्योग मन्त्रालयले ५ अर्ब भन्दा बढीको लगानीमा सेजको कार्यालय, बैंक, बीमा, भन्सार, सभाहल लगायतका संरचना निर्माण गरेको छ ।

simara sez (4)

इन्जिनियर गिरीले ए ब्लकमा ६ वटा उद्योग ३ वर्षदेखि सञ्चालनमा रहेको, १२ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको र थप १३ वटा उद्योगले अनुमति लिएर सम्झौताको प्रक्रियामा रहेको जनाए ।

उद्योगीहरूले सेजमा उद्योग सञ्चालन सम्झौता गर्नुअघि ६ महिनाको जग्गा भाडा एकमुष्ट बुझाउनुपर्छ भने १ वर्षको बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । अनुमति लिएको १ वर्षभित्र संरचनाहरू निर्माण नगरे सम्झौता स्वतः खारेज हुने कानुनी व्यवस्था छ ।  

सिमरा सेजमा रहेका उद्योगमा भारत, चीन र कोरियाका उद्योगीहरूको ठुलो लगानी छ । सेजमा पशुपति सेरामिक्स, लक्ष्मी ग्रेनाइट, बालाजी मेयनुफ्याक्चिरिङ, नेपाल एग्रो टुल, ब्रिलिया सु प्रालि र बायो कम्प नेपाल प्रालि.लगायतका उद्योग सञ्चालनमा छन् ।

simara sez (2)

यी उद्योगमध्ये  बालाजी र नेपाल एग्रो टुलले मात्रै आफ्नो उत्पादन विदेश निर्यात गरिरहेका छन् । यी दुई उद्योगले चालु आर्थिक वर्षको चैत मसान्तसम्म करिब ५ करोड रकम बराबरको उत्पादन भारत निर्यात गरेको सेजले जनाएको छ ।

यी उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ५ हजार जनाले रोजगारी पाएका छन् भने सेज पूर्ण रूपमा सञ्चालनमा आए १० देखि १५ हजारले रोजगारी पाउने सेजले जनाएको छ ।

simara sez (1)

सेजभित्र ३ वर्षदेखि सञ्चालनमा रहेको पशुपति सेरामिक्स (टायल उद्योग) का सञ्चालक तुलसी रौनियारले जग्गाको भाडादर घट्दा उद्योगीहरूलाई धेरै राहत भएको बताए ।

पशुपति सेरामिक्सले सिमरा सेजमा आठ वटा प्लट (करिब ९ बिघा) जग्गा भाडामा लिएर टायल्स उद्योग सञ्चालन गरेको छ । यसअघि सो उद्योगले सेजलाई वार्षिक ७२ लाख (३ वर्षको लागि ५० प्रतिशत छुट हुँदा) जग्गा भाडा बुझाउँदै आएको थियो ।

simara sez (3)

‘अहिलेको सबैभन्दा ठुलो समस्या विद्युत् कटौती हो । विद्युत् नियमित नहुँदा महिनामा १५ लाख रुपैयाँ डिजेलमा खर्च भइरहेको छ,’ रौनियारले भने, ‘कच्चा पदार्थमा आयातमा लाग्ने भन्सार महसुलमा पनि सेजभित्र र बाहिरका उद्योगमा फरक हुनुपर्छ ।’

सरकारले सेजभित्र सञ्चालनमा रहेका उद्योगहरूको सुरक्षा ग्यारेन्टी, कच्चा पदार्थ आयातमा भन्सार छुट, निर्यातमा भ्याट छुट, विद्युत् महसुलमा १० प्रतिशत छुट, बैंक, बीमा, भन्सार लगायतमा सुविधा सेजभित्रै दिने प्रतिबद्धता जनाए पनि पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उद्योगीहरूको गुनासो छ ।   

सेजभित्र सञ्चालनमा रहेका, निर्माणाधीन र अनुमति लिनेमा सबैभन्दा धेरै टायल उद्योग छन् ।

पछिल्लो समय सरकारले मुलुकभित्र नयाँ टायल उद्योगलाई अनुमति दिने र भारतबाट पनि मूल्याङ्कन घटाएर टायल आयात हुँदा स्वदेशी उद्योग धराशायी हुने अवस्थामा पुगेको रौनियारको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप