शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसमा दलको नेता चयन : सभापति र उपसभापतिबिचमै मिलेन कुरा

शुक्रबार, ११ वैशाख २०८३, २० : ३०
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्ने विषयमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबिच मतैक्यता हुन सकेन।
  • सहमति जुटाउने प्रयासका लागि उपसभापति शर्माको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ।
  • निर्वाचन समितिले दलको नेता चयन गर्ने कार्यतालिका केही समयका लागि स्थगित गरेको छ।

काठमाडौँ । नेपाली कांग्रेसभित्र पार्टीको प्रतिनिधिसभा संसदीय दलको नेता चयन गर्ने विषयमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबिच मतैक्यता हुन सकेन। यसका कारण आज हुने भनिएको संसदीय दलको नेताको निर्वाचन स्थगित भएको हो।

सभापति थापाले सांसदद्वय अर्जुननरसिंह केसी र मोहन आचार्यमध्ये एक जनालाई दलको नेता बनाउनुपर्ने बताइरहेका छन् भने उपसभापति शर्माले सांसद भीष्मराज आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने अडान राखेका छन्।  दलको नेता चयन गर्ने निर्वाचन समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले सहमतिका लागि भन्दै निर्वाचन कार्यतालिका स्थगित गरिएको जानकारी दिए। 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा रसाइलीले दिएको जानकारीअनुसार दलको नेतामा सहमति जुटाउन उपसभापति शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ। समितिमा अर्की उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे, निर्वाचन समितिका संयोजक रसाइली तथा सदस्यहरू मुना भुसाल र राजु कटुवाल छन्।

दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले दलको नेतामा सहमति जुटाउन शर्माको नेतृत्वमा समिति बनाएको हो। समिति बनिसकेपछि त्यसको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्यो। बैठकमा सहमति जुटाउने प्रयास भइरहेको समितिका सदस्यसमेत रहेका महामन्त्री पौडेलले रातोपाटीलाई जानकारी दिए।

महामन्त्री पौडेलले भने, ‘सहमतिको प्रयासका लागि समिति बनाएका छौँ। उक्त समितिले उम्मेदवारहरूबिच सहमति जुटाउने प्रयास गरिरहेको छ।’

सभापति र उपसभापतिबिच दलको नेता कसलाई बनाउने भन्ने विषयमा मतैक्यता नदेखिएको हो ? भन्ने रातोपाटीको प्रश्नमा महामन्त्री पौडेलले भने, ‘हामीले आज मात्रै कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नयाँ विधान पारित गरेका छौँ। त्यो विधानमा सहमतिका लागि प्रयास गर्ने भन्ने उल्लेख छ। त्यसैले सहमतिको प्रयास गर्नका लागि निर्वाचन केही समय पर सारिएको हो, विवाद भएर होइन।’

तर, बैठकमा सहभागी एक नेताका अनुसार सभापति थापा दलको नेता सहमतिमै चयन गर्नुपर्ने र त्यसमा आचार्य र केसीमध्ये एक जना हुनुपर्ने अडानमा छन्। उता उपसभापति शर्माले भने पार्टीको नेतृत्वमा सबै खस–आर्य भएकाले जनजातिको छोरो भन्दै आङ्देम्बेलाई बनाउने प्रस्ताव राखेका थिए। 

धेरै बेरको छलफलपछि पनि दुई नेताबिच सहमति बन्न सकेको छैन। त्यसपछि अहिले उम्मेदवारहरूसँग छलफल गर्ने भन्दै बैठक स्थगित भएको छ।

आङ्देम्बेलाई निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र डाक्टर शेखर कोइराला पक्षको पनि साथ छ। तसर्थ निर्वाचन भएमा आङ्देम्बेले जित्ने पक्कापक्की भएपछि सभापति थापाको जोडबलमा सहमतिका लागि समिति बनाइएको हो।

निर्वाचन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री रसाइलीले दलको नेता चयनमा कुनै विवाद नरहेको र आकांक्षी धेरै भएकाले सहमतिको प्रयास गर्न समिति बनाइएको बताए। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग रसाइलीले भने, ‘हामीले सहमतिको प्रयास गर्छौँ र सहमतिमै दलको नेता चयन भएको सन्देश दिनका लागि समिति बनाएका हौँ, पार्टीभित्र विवाद भएर होइन।’

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट जितेको थियो।

ती सांसदमध्ये संस्थापन पक्षसँग १६ जना सांसद छन् भने देउवा र कोइराला पक्षसँग मिलाएर २२ जना सांसद छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप