सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्रपामा महाधिवेशनको बहस चर्कियो : धवलशमशेरद्वारा वैधानिक निर्णय कार्यान्वयनको आह्वान

शुक्रबार, ११ वैशाख २०८३, १८ : १२
शुक्रबार, ११ वैशाख २०८३

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले पार्टीभित्र देखिएको पछिल्लो विवादकाबिच जेठभित्र महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन गर्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। 

उनले पार्टीको वैधानिक निर्णय पालना गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै चुनावी परिणामपछि पार्टीलाई सुदृढ बनाउन तोकिएको समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्।

राणाले महाधिवेशनको पक्षमा उभिँदा पार्टी फुटाउन खोजिएको भन्ने आरोप लगाउँदै एकतर्फी रूपमा भ्रम सिर्जना गर्नु पार्टीको हितमा नभएको बताएका छन्। उनले वर्तमान अवस्थामा महाधिवेशन गर्नुबाहेक अन्य कुनै उत्तम विकल्प नरहेको भन्दै देशभरका नेता–कार्यकर्तालाई पुनः एकताबद्ध हुन आग्रह गरेका छन्।

यसैबिच पार्टीको कार्यसम्पादन समितिको जिम्मेवारीअनुसार पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे तथा सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाले अनसनरत नेतृ नानीमैया आचार्य र चम्पा अधिकारीसँग वार्ता गरी सहमति जुटाउँदै अनसन अन्त्य गराएको तथ्यसमेत उनले स्मरण गराएका छन्।

तर, सहमतिपछि पनि ती महिला नेतृहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको तथा केन्द्रीय सदस्य रञ्जन कार्कीलाई स्पष्टीकरणको मौका नदिई कारबाही गरिएकोप्रति राणाले असहमति जनाएका छन्। उनले यस्ता कदमले आन्तरिक प्रजातन्त्र र अनुशासनको मर्ममाथि प्रहार गरेको भन्दै पार्टी हितविपरीत भएको टिप्पणी गरेका छन्।

dhawal

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप