मेलम्चीको हेडवर्क्समा सरकारी अलमल : वर्षायाममा फेरि रिबर्माकै भर
सारांश
- मेलम्ची खानेपानी आयोजनाको स्थायी हेडवर्क्स निर्माणमा ढिलाइ हुँदा यस वर्षको वर्षायाममा पनि काठमाडौँ उपत्यकावासीले वैकल्पिक स्रोतमा भर पर्नुपर्ने भएको छ ।
- गत २०८१ जेठमा मन्त्रिपरिषद्ले नयाँ हेडवर्क्स बनाउन सैद्धान्तिक स्वीकृति दिए पनि काम सुरु हुन नसक्दा वर्षामा मेलम्चीको सुरुङ जोगाउन मुहान बन्द गरी रिबर्मा र बागमती स्रोतको पानी वितरण गरिनेछ ।
- मेलम्चीको पानी हिउँदमा आउने र वर्षामा हराउने नियति स्थायी हेडवर्क्स नबन्दासम्म केही वर्ष कायम रहने देखिएको छ ।
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको स्थायी मुहान (हेडवर्क्स) निर्माणमा भएको ढिलाइका कारण यस वर्षको वर्षायाममा पनि काठमाडौँ उपत्यकावासीले वैकल्पिक स्रोतको भर पर्नुपर्ने भएको छ ।
सरकारले नयाँ हेडवर्क्स बनाउने सैद्धान्तिक निर्णय गरे पनि काम सुरु हुन नसक्दा वर्षामा मेलम्चीको सुरुङ जोगाउन मुहान बन्द गरी रिबर्मा र बागमती स्रोतको पानी वितरण गर्ने तयारी गरिएको छ ।
गत २०८१ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको हाल अम्बाथानमा रहेको हेडवर्क्सको विकल्पमा उपयुक्त स्थानमा नयाँ संरचना बनाउन खानेपानी मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको थियो ।
२०७८ असार १ गतेको भीषण बाढीले मेलम्चीको तयार भइसकेको हेडवर्क्स पुरेको थियो । त्यसयता आयोजनाले वर्षायाममा बाढी र लेदोबाट सुरुङ जोगाउन मुख्य गेट बन्द गर्ने र हिउँदमा सोझै खोलाबाट पानी हालेर काठमाडौँ ल्याउने गर्दै आएको छ ।
हेडवर्क्स स्थानान्तरणमा चार अर्ब खर्च हुने अनुमान
बाढीले क्षति पुर्याएको हेडवर्क्सको प्राविधिक अध्ययनका लागि एसियाली विकास बैंक (एडीबी) ले क्यानेडियन परामर्शदाता नियुक्त गरेको थियो ।
उक्त अध्ययन प्रतिवेदनले हालको मुहानस्थल असुरक्षित रहेको भन्दै ७ देखि ८ सय मिटर माथिल्लो तटीय क्षेत्रमा मुहान सार्नुपर्ने निष्कर्ष निकालेको थियो । नयाँ स्थानमा स्थायी हेडवर्क्स निर्माण गर्न करिब चार अर्ब रुपैयाँ खर्च हुने अनुमान थियो, तर पनि सरकारले अहिलसम्म नयाँ हेडवर्क्सको काम सुरु गर्न नसकेको हो ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र वन्तका अनुसार स्थायी संरचनाका लागि विस्तृत अध्ययन र सर्भेको काम सम्पन्न भइसकेको छ । ‘उपयुक्त ठाउँ खोज्न ड्रिलिङ गर्ने र प्राविधिक अध्ययन गर्न समय लागेको हो,’ वन्तले भने, ‘अब डिजाइन र लागत अनुमान (इस्टिमेट) को काम सकिएपछि टेन्डर प्रक्रियामा जानेछौँ ।’
वर्षामा विकल्पः रिबर्मा र बागमती
मेलम्ची नजिकै रहेको सिन्धुपाल्चोककै रिबर्मा खोलाबाट दैनिक ५ देखि ७ करोड लिटर पानी सङ्कलन गरेर सुन्दरीजल पठाउने तयारी छ । केही समयअघि स्थानीय विवादका कारण रिबर्माको संरचनामा सामान्य क्षति पुगे पनि हाल त्यसको मर्मत भई सञ्चालनका लागि तयार अवस्थामा रहेको आयोजनाले जनाएको छ ।
हाल मेलम्चीबाट दैनिक करिब १७ करोड लिटरभन्दा बढी पानी काठमाडौँ पठाइँदै आइएको छ । तर वर्षा सुरु भएसँगै नदीमा पानी धमिलो हुने र बाढी आउने सम्भावना रहने भएकाले मुख्य मुहान बन्द गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा उपत्यकामा खानेपानीको हाहाकार हुन नदिन आयोजनाले रिबर्मा र बागमतीको स्रोतको पानी उपयोग गर्ने योजना बनाएको छ ।
आयोजना अनुसार मेलम्ची नजिकै रहेको सिन्धुपाल्चोककै रिबर्मा खोलाबाट दैनिक ५ देखि ७ करोड लिटर पानी सङ्कलन गरेर सुन्दरीजल पठाउने तयारी छ । केही समयअघि स्थानीय विवादका कारण रिबर्माको संरचनामा सामान्य क्षति पुगे पनि हाल त्यसको मर्मत भई सञ्चालनका लागि तयार अवस्थामा रहेको आयोजनाले जनाएको छ ।
साथै, सुन्दरीजलस्थित बागमती नदीको पानीलाई प्रशोधन गरी दैनिक थप ७ देखि ८ करोड लिटर वितरण गरिनेछ । ‘हिउँदमा सुक्खा भएका उपत्यकाका अन्य स्रोतहरुमा पनि वर्षामा पानी आउनेभएकोले उपत्यकामा मेलम्ची रोकिँदा राहत हुन्छ । यो अस्थायी रूपमा दिइएको विकल्प मात्रै हो । हेडवर्क्स नबन्दा पनि पानीको हाहाकार नहोस् भन्नका लागि हो,’ वन्तले भने ।
४३ करोड लिटर माग
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेयल)का अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । अहिले मेलम्चीको पानी औसतमा १७ करोड आउँदैछ । सुन्दरी जलमा बागद्वारसहित अन्य स्रोतको पानी करिब ३/४ करोड थपिँदा केयूकेयलले उपत्यकामा करिब २०/२२ करोड लिटर दैनिक पानी पठाउँछौँ । यसले आधा माग धान्ने स्थिति छ,’ रातोपाटीसँग केयूकेयलका एक अधिकारीले भने । उनका अनुसार उपत्यकामा दैनिक ४३/४४ करोड लिटर माग छ ।
धमिलो पानी आउने बित्तिकै मेलम्ची बन्द
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र नदीमा पानीको सतहलाई आधार मानेर मेलम्चीको सुरुङ बन्द गर्ने समय तय गरिनेछ । प्रवक्ता वन्तका अनुसार असार १ गतेदेखि १५ गतेको बिचमा मौसमको अवस्था हेरेर सुरुङ बन्द गर्ने निर्णय लिइनेछ ।
स्थायी हेडवर्क्स नबन्दासम्म काठमाडौँवासीका लागि मेलम्चीको पानी ‘हिउँदमा आउने, वर्षामा हराउने’ नियति अझै केही वर्ष कायम रहने देखिएको छ ।
‘विगतका वर्षहरूमा हामीले असार १० गते आसपासमा सुरुङ बन्द गरेका थियौँ,’ उनले थपे, ‘यसपालि पनि यदि पानी धेरै धमिलो भयो भने उपकरण र सुरुङ जोगाउनका लागि केही समय मेलम्चीको मुहान बन्द गर्नुपर्ने हुन्छ ।’
यद्यपि, वैकल्पिक स्रोतहरू र वर्षामा उपत्यकाभित्रका स्थानीय स्रोतहरू पनि बढ्ने हुनाले गत वर्षजस्तै यस वर्ष पनि खानेपानी आपूर्तिमा ठुलो संकट नआउने आयोजनाको विश्वास छ ।
स्थायी हेडवर्क्स नबन्दासम्म काठमाडौँवासीका लागि मेलम्चीको पानी ‘हिउँदमा आउने, वर्षामा हराउने’ नियति अझै केही वर्ष कायम रहने देखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण