गायिका मिरा राणाद्वारा ‘मिरा क्यान्सर समाज’ स्थापना
काठमाडौँ । लोकप्रिय एवं वरिष्ठ गायिका मिरा राणाले आफ्नो व्यक्तिगत क्यान्सर सङ्घर्षलाई सामाजिक अभियानमा रूपान्तरण गर्दै ‘मिरा क्यान्सर समाज’ स्थापना गरेकी छन् । ‘सेवा, सहयोग र सद्भाव’ को उद्देश्यका साथ ‘क्यान्सरविरुद्धको लडाइँमा हामी सबै एकसाथ’ भन्ने नारा लिएर उनले यस संस्थाको औपचारिक सुरुवात गरेकी हुन् ।
६ दशकको गायन यात्रा पूरा गरेकी राणाले आफू गम्भीर बिरामी पर्दा बेलायतमा पाएको उपचार र चिकित्सकको सकारात्मक व्यवहारबाट प्रभावित भएर यो अभियान थालेकी हुन् । संस्थाको उद्घाटन कार्यक्रममा बोल्दै उनले भनिन्, ‘बेलायतमा डाक्टरहरूले ‘म छु नि’ भन्दै दिएको हौसलाले नै मेरो आधा रोग निको भएको महसुस भयो । नेपालका अस्पतालहरूमा बिरामीले भोग्नुपर्ने सास्ती देखेर मलाई पीडा हुन्छ । डाक्टरहरूले बिरामीलाई मुस्कुराएर मात्र हेरे पनि उनीहरूमा ठुलो आत्मबल मिल्छ ।’
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. रोशन प्रजापति, पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाही, तिलगंगा आँखा प्रतिष्ठानकी डा. पूर्णिमा राजकर्णीकार र डा. सृष्टि श्रेष्ठ प्रजापति लगायतले मन्तव्य राख्दै मिराको यस कदमको प्रशंसा गरे । उनीहरूले क्यान्सर निको हुने रोग भएको र यसका लागि बिरामीलाई औषधि सँगसँगै ठुलो मानसिक हौसलाको आवश्यकता पर्ने कुरामा जोड दिए ।
समाजका सल्लाहकारहरू मदनदास श्रेष्ठ, आनन्द अधिकारी, धन लामा, पत्रकार विद्र गिरी र अधिवक्ता लक्ष्मण महर्जनले संस्थाको दिगोपन र कानुनी पाटोबारे सुझाव दिँदै अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मिरा राणाको अध्यक्षतामा गठित समाजको उपाध्यक्षमा सिद्धार्थ राणा, सचिवमा हेमा मानन्धर, कोषाध्यक्षमा सुरक्षा सिजापती र सह–सचिवमा नविना शाक्य रहेका छन् ।
कार्यक्रममा संगीतकार दीपक जंगम र गीतकार कपिल लोहनी लगायतका व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । संस्थाले क्यान्सर प्रभावितहरूका लागि उपचारमा सहयोग पुर्याउन उन र उनीहरूको मनोबल बढाउन एउटा ‘पुल’ को रूपमा काम गर्ने लक्ष्य राखेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण