बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनको सजाय बढ्यो

बुधबार, १६ वैशाख २०८३, १७ : ४८
बुधबार, १६ वैशाख २०८३

साेल ।  दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानूनी कारबाही थप कठोर बन्दै गएको छ । न्याय प्रक्रियामा अवरोध पुर्‍याएको अभियोगमा पहिले दिइएको पाँच वर्षको जेल सजायलाई उच्च अदालतले बढाएर सात वर्ष पुर्‍याएको छ । यसले उनी माथिको कानूनी सङ्कट अझ गहिरिएको सङ्केत दिएको छ ।

सियोल उच्च अदालतले बुधबार गरेको फैसलामा युनको कार्यलाई ‘अत्यधिक निन्दनीय’ ठहर गर्दै सजाय बढाएको हो । अदालतका न्यायाधीशका अनुसार युनले पक्राउ वारेन्ट कार्यान्वयनमा अवरोध पुर्‍याउने प्रयास मात्र नगरेर राज्यका सुरक्षाकर्मीहरूलाई निजी प्रयोजनका लागि प्रयोग गर्न खोजेका थिए ।

यसअघि जनवरीमा तल्लो अदालतले राष्ट्रपति सुरक्षा एजेन्सीका सदस्यहरूलाई प्रयोग गरेर आफ्नै गिरफ्तारी रोक्न खोजेको प्रमाणित भएपछि पाँच वर्षको सजाय सुनाएको थियो । त्यस निर्णयविरुद्ध युन र अभियोजन पक्ष दुवैले अपिल गरेका थिए । युनले आफ्नो गिरफ्तारी वारेन्ट नै ‘गैरकानूनी अनुसन्धान’ मा आधारित रहेको दाबी गरेका थिए भने विशेष अभियोजकहरूले उहाँको अपराधको गम्भीरता हेर्दा कम्तीमा १० वर्षको सजाय हुनुपर्ने माग गरेका थिए ।

उच्च अदालतले भने दुवै पक्षका तर्क सुनेपछि सजाय बढाएर सात वर्ष कायम गरेको हो । फैसलामा अदालतले सार्वजनिक पदको दुरुपयोग गर्दै राज्य संयन्त्रलाई व्यक्तिगत सुरक्षाका लागि प्रयोग गर्न खोज्नु कानूनी शासनविरुद्धको गम्भीर कार्य भएको उल्लेख गरेको छ ।

फैसला सुनुवाइका क्रममा कालो सूट र सेतो सर्टमा अदालतमा उपस्थित युनले कुनै विशेष प्रतिक्रिया नदेखाएको जनाइएको छ । युन सुक योलले पहिले नै अर्को गम्भीर मुद्दामा सजाय भोगिरहेका छन् ।

सन् २०२४ को अन्त्यतिर मार्सल ल लागू गर्ने असफल प्रयाससँग जोडिएको विद्रोहको नेतृत्व गरेको अभियोगमा उनलाई आजीवन कारावासको सजाय सुनाइएको छ । यस नयाँ फैसलाले उहाँमाथिको राजनीतिक र कानूनी भविष्य थप जटिल बनेको देखिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप