सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डको निर्वाचन समीक्षा- परिणामका विषयमा विभिन्न स्थानबाट प्राप्त रिपोर्टहरू सहज र स्वाभाविक देखिँदैनन्

कतिपय ठाउँमा उम्मेदवार स्वयंले हालेको मत समेत गणनामा देखिँदैन
बिहीबार, १७ वैशाख २०८३, ०९ : १७
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • पुष्पकमल दाहाल 'प्रचण्ड'ले फागुन २१ मा सम्पन्न निर्वाचनको नतिजामाथि प्रश्न उठाएका छन् ।
  • उनले कतिपय ठाउँमा उम्मेदवार स्वयंले हालेको मत समेत गणनामा नदेखिएको जस्ता उजुरी प्राप्त भएको बताए ।
  • निर्वाचनको गम्भीर समीक्षापछि यसको थप अध्ययन र अनुसन्धान गर्नुपर्ने निष्कर्षमा नेकपा पुगेको छ ।

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा सम्पन्न निर्वाचनमाथि आशङ्का व्यक्त गरेका छन् । निर्वाचन सम्पन्न भएको दुई महिना पुग्नै लाग्दा उनले कतिपय ठाउँमा उम्मेदवार स्वयंले हालेको मत समेत गणनामा नदेखिएको भन्दै प्रश्न उठाएका छन् ।

बिहीबार रुकुम पश्चिम पुगेका प्रचण्डले त्यहाँका पत्रकारहरूसँग भने—हामीले सम्पन्न निर्वाचनको निकै गम्भीर ढंगले समीक्षा गरेका छौँ । हाम्रो निष्कर्षमा यो निर्वाचन सामान्य र स्वाभाविक रहेन, बरु केही हदसम्म असामान्य र अस्वाभाविक देखियो ।’

निर्वाचन परिणामका सन्दर्भमा विभिन्न स्थानबाट प्राप्त रिपोर्टहरू सहज र स्वाभाविक नदेखिएको उनले बताए । कतिपय ठाउँमा उम्मेदवार स्वयंले हालेको मत समेत गणनामा नदेखिएको, कतै जित्ने अपेक्षा नै नगरिएका ठाउँमा अप्रत्याशित मत प्राप्त भएको र कतै सुरक्षित मानिएको मत परिणामको अन्तिम समयमा आएर एकाएक हराएको जस्ता उजुरी र रिपोर्टहरू प्राप्त भएको प्रचण्डले बताए ।

‘यी सबै पक्षलाई दृष्टिगत गर्दा, यो निर्वाचन सामान्य थिएन भन्ने हाम्रो ठहर छ,’ उनले अगाडि थपे, ‘त्यसैले, यसको थप अध्ययन र गम्भीर अनुसन्धान गर्नुपर्ने निष्कर्षमा हामी पुगेका छौँ ।’

तथापि निर्वाचन मार्फत प्रकट भएको जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको सफलतालाई सहज रूपमा स्वीकार गरेको पनि उनले बताए ।

‘आगामी दिनमा सरकारले गर्ने राम्रा कामहरूमा हाम्रो सहयोग र समर्थन रहनेछ,’ उनले थपे, ‘तर, सरकारका कमजोरीहरूमा भने हाम्रो सशक्त आलोचना रहनेछ । हामीले सदनमा एक रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप