सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

लिपुलेक र नाथुला नाका हुँदै कैलाश मानसरोवर यात्रा गराउँदै भारत, अनलाइन आवेदन खुला

शुक्रबार, १८ वैशाख २०८३, १३ : ०६
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • भारतले चीनसँगको समन्वयमा सन् २०२६ को जुनदेखि अगस्टसम्म लिपुलेक र नाथुला नाका हुँदै कैलाश मानसरोवर यात्रा गराउने भएको छ ।
  • यस वर्ष दुई मार्गबाट कुल एक हजार तीर्थयात्रीले मानसरोवरको दर्शन गर्नेछन्, जसमा लिपुलेक भञ्ज्याङबाट ५० जनाका १० समूह र नाथुला भञ्ज्याङबाट ५० जनाका १० समूह जानेछन् ।
  • यात्रामा सहभागी हुन चाहनेहरूले 'kmy.gov.in' वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्, जसको अन्तिम मिति मे १९, २०२६ तोकिएको छ ।

काठमाडौँ । भारतको विदेश मन्त्रालयले सन् २०२६ को कैलाश मानसरोवर यात्राको घोषणा गरेको छ । चीन सरकारसँगको समन्वयमा भारतले आगामी जुनदेखि अगस्ट महिनासम्म उक्त धार्मिक यात्रा सञ्चालन गर्न लागेको हो ।

यस वर्षको यात्राका लागि दुईवटा मार्ग तय गरिएका छन् । उत्तराखण्ड राज्यको लिपुलेक भञ्ज्याङ हुँदै ५० जनाको दरले १० वटा समूह र सिक्किम राज्यको नाथुला भञ्ज्याङ हुँदै ५० जनाकै दरले थप १० वटा समूह मानसरोवर जानेछन् । यसरी यो वर्ष दुई फरक नाकाबाट कुल एक हजार तीर्थयात्रीले कैलाश मानसरोवरको दर्शन गर्नेछन् ।

यात्रामा सहभागी हुन चाहनेका लागि ‘kmy.gov.in’ वेबसाइटमार्फत अनलाइन आवेदन खुला गरिएको छ । तीर्थयात्रीको छनोट पूर्ण रूपमा कम्प्युटर प्रणालीबाट, निष्पक्ष, र्यान्डम र लैङ्गिक सन्तुलन मिलाएर गरिने भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

आवेदनदेखि छनोटसम्मको सम्पूर्ण प्रक्रिया अनलाइनबाटै हुने भएकाले जानकारी लिन वा आवेदन दिन कुनै पनि चिठीपत्र वा फ्याक्स पठाइरहनु नपर्ने स्पष्ट पारिएको छ । आवश्यक जानकारी लिन वा सुझाव दिन वेबसाइटमै रहेको फिडब्याक विकल्प प्रयोग गर्न सकिनेछ ।

आवेदकहरूले आफ्नो प्राथमिकताअनुसार दुवै मार्ग वा कुनै एउटा मात्र मार्ग छनोट गरेर फारम भर्न सक्नेछन् । मन्त्रालयका अनुसार अनलाइन आवेदन दर्ता गर्ने अन्तिम मिति आगामी मे १९ (२०२६) सम्म तोकिएको छ ।

685586317_1483976309841590_7062187029188185762_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप